सरकारी मिडियाले नै डकैती गरेः खरेल, अब हामी क्रान्ति गर्दैछौंः थापा

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७६, शनिबार
Yadav Kharel-Rajendra Thapa-S.P. Koirala

काठमाडौं । वरिष्ठ गीतकार यादव खरेलले सरकारी मिडियाहरुले नै स्रष्टाहरुको हकअधिकार माथि डकैती गरेको आरोप लगाएका छन् । गीतकार संघ नेपालको दशौं वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथिसमेत रहेको वरिष्ठ गीतकार खरेलले स्रष्टा सिर्जनामाथि सरकारी मिडियाहरुले नै डकैती गरेर लुटिरहेको आरोप लगाएका हुन् । कसैको सिर्जना बजाएर मिडियाहरुले व्यापार गरिरहँदा स्रष्टाको सिर्जना प्रयोग गरेवापत सुको पनि नदिने कार्य वर्षौदेखि आइरहेको छ, उनले भने– ‘सिर्जना लुटेर व्यापार गर्नेहरुले आर्थिक अधिकार त दिएनन् तर नैतिक अधिकारसमेत खोस्ने काम गरे ।’ अबको समयमा ठूलै आन्दोलनका लागि स्रष्टाहरु एकजुट भएर अघि बढ्नुपर्ने देखिएको हुँदा सरकारी मिडिया मात्र होइन प्राइभेट मिडियाहरुमाथि समेत आक्रमण गर्न जरुरी रहेको गीतकार खरेलले बताए ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले डकैती गर्नेहरुका विरुद्ध अब क्रान्ति सुरु भएको बताए । स्टेजमा गीत गाउने गायक गायिकाले कति रोयल्टी बुझाए ? उनले आक्रोशित हुँदै भने– ‘हाम्रा सिर्जना प्रयोग गरेर कतिदिनसम्म उनीहरुले कमाउँछन् ? स्रष्टामाराहरुको दिन अब सकिएको छ हामी एकजुट हुन जरुरी देखिन्छ गीतकार थापाले भने । गीतकार र संगीतकारले कुन गीतबाट कति पाए त्यसको लेखाजोखा अब स्रष्टाले गर्छन् गीतकार थापाले भने– ‘सिर्जना लुटेर खाने मिडिया, व्यवसायी हुन् या गायक गायिका सबैले स्रष्टाको नैतिक र आर्थिक अधिकार नदिएसम्म आन्दोलन जारी रहनेछ ।’

त्यसैगरी वरिष्ठ गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइरालाले स्रष्टाको अधिकार खोसिएकोमा दुःख व्यक्त गर्दै सबै स्रष्टाहरु एकजुट भएर आफ्नो अधिकारका लागि लड्न तयार रहनुपर्ने बेला आएको बताए । समयअनुसार गीतसंगीतले जति फड्को मारेको छ त्योभन्दा धेरै पछाडि स्रष्टाहरुले पीडा भोग्नुपरेको छ, गीतकार कोइरालाले भने ।

गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले स्रष्टा अधिकार हनन् भएको कारण गीतकार संघको नेतृत्वमा नै अबका आन्दोलन सुरु हुने बताए । अधिकार मागेर होइन खोसेर लिनुपर्ने रहेछ अध्यक्ष देवकोटाले भने– ‘हामी सरोकारवाला निकायसँग सधैं अधिकार स्थापित गर्नका लागि हात जोड्यौं तर हामीलाई कमजोर सम्झेर धेरैले सिर्जनामाथि धावा बोले ।’ अध्यक्ष देवकोटाले गीतकार संघको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सम्पूर्ण गीतकारहरुका साझा चौतारीका रुपमा संघले काम गर्दै आएको बताए ।

संघका अध्यक्ष चूडामणि देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यता रहेको थियो भने वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ गीतकार तथा गायक जगत मर्दन थापा, वरिष्ठ गीतकार तथा पूर्व अर्थमन्त्री एसपी कोइराला, प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार विष्णु भट्टराई लगायत संघका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघकी सचिव सुशीला पौडेलले संचालन गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष शुभ मुकारुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव वसन्त वित्यासी थापाले वार्षिक प्रतिवेदन पढेर सुनाएका थिए । त्यस्तै कोषाध्यक्ष अमृतलाल सुनार देवकोटाले कोषाध्यक्षको प्रतिवेदन सुनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु