• हरितालिका तिजको सुखद अबसरमा सम्पूर्ण हिन्दु महिलाहरुलाई शुभकामना

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७७, बिहीबार

    काठमाडौँ : हरितालिका तीज, हरित (हरण गरिएकी)आलिका(शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ।हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ।

    हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ।

    परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्।हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरू द्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

    यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमासमेत मनाइन्छ। भनिन्छ आराध्यदेव शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवलाइ पतिको रुपमा प्राप्त गर्न तथा भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकि थिईन् त्यसै दिन यहि हरितालिका तिजको दिन परेको थियो र त्यसै दिन देखि आज सम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

    भाद्र शुक्ल दितियाका दिन दर खाई भोलि पल्ट तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन आराधानासहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ। सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य सबै शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्छ।

    हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीज व्रत बस्ने गर्छन् भने बिबाहित महिलाहरु आफ्नो पतिको दिर्गायुको कामना सहित ब्रत बस्ने प्रचलन परापुर्ब काल देखि चल्दै आएको छ । समस्त हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिज-२०७७ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली चेलिहरुको सुस्वास्थ्य, दिर्घायू एवं उतरोत्तर प्रगतीको कामना गर्दछौं ।

    कोभिड-१९ को असरले लकडाउन र निषेधाज्ञाले गर्दा यसपालीको तीजमा जमघट, भेटघाट र नाचगान गर्न नपाए पनि आफ्नो घरमा आफ्नो परिवार संग बसेर रमाउन खानपिन गर्न सकिन्छ। निषेधाज्ञाको पूर्ण पालना गर्दै कोभिड-१९ बिरुद्द लड्दै परिवार समाज र देशलाइ महामारी बाट बचाउँ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु