काठमाडौं, ७ बैशाख । पछिल्लो समय रोयल्टी र प्रतिलिपी अधिकारको विषयलाई स्रष्टाहरुले अग्रपंक्तिमा उठाउने गरिएको भए पनि गायक गायिकाहरु रोयल्टी कुरा गर्ने वित्तिकै भाग्ने गरेको आरोप चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाकयले लगाएका छन् । प्रतिलिपी अधिकार संरक्षणमा चलचित्र पत्रकार संघको भूमिका बारेमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै शाक्यले गायक गायिकाहरु रोयल्टी कुरा उठाउने वित्तिकै आफ्नै गोजीबाट दिनुपर्ने झैं नजिक नपरी भाग्ने गरेको बताएका छन् ।
कलाकारहरु धेरै कार्यक्रममा जाने गर्छन् । कार्यक्रममा गीत गाए वापत पनि रोयल्टी दिनुपर्ने माग गरिरहेका बेला प्रस्तोताहरु रोयल्टीको विषयमा बोल्न पनि अघि बढ्दैनन्, शाक्यले भने – गीतकार, संगीतकारको नाम लिन पनि कार्यक्रमहरुमा गायक गायिकाले कन्जुस्याईँ गरिरहेका हुन्छन् । यदि रोयल्टीको बारेमा प्रस्तोताहरु अघि बढ्ने हो भने त्यस कार्यक्रममा गीत गाइए वापत रोयल्टीबाट स्रष्टाहरुलाई राम्रै फाइदा हुने देखिएको छ । उक्त रोयल्टी हामीले आयोजकबाट लिनुपर्ने हुन्छ एउटा कार्यक्रममा गीतगाएवपात गायक गायिकाहरुले लिएको रकबाट रोयल्टी दिनु पर्ने नभईकन आयोजकबाट उक्त रोयल्टी लिनुपर्ने हो । त्यो बारेमा हाम्रा प्रस्तोताहरु पछि हट्ने गरेको आरोप उनले लगाए ।
प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयको सहकार्यमा चलचित्र पत्रकार संघले गरेको उक्त कार्यक्रममा चलचित्र पत्रकारको भूमिका सम्बन्धी कार्यक्रममा शाक्यले नैतिक अधिकार स्थापित भएपछि मात्रै आर्थिक अधिकार स्थापित हुन सक्ने बताएका थिए । उक्त अवसरमा प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार विसु कुमार केसीले कपी राइटस्, पाइरेसीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । केसीले कुनै पनि सिर्जनाको स्रष्टाबाटै पहिलो पाइरेसी हुने गरेको पनि उल्लेख गरेका थिए भने चलचित्र पत्रकार संघका तर्फबाट उपाध्यक्ष विष्णु सुवेदीले प्रतिलिपी अधिकारको बारेमा अवधारणा प्रस्तुत गरेका थिए । संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिलिपी अधिकारका बारेमा स्रष्टाहरुबीच जनचेतना जगाउनुपर्ने र चलचित्र पत्रकारले पनि यस बारेमा अहम् भूमिका खेल्नुपर्ने कुरालाई औंल्याइएको थियो । कार्यक्रम संघका महासचिव सन्दिप सापकोटाले संचालन गरेका थिए ।