के तपाई लोक गायक बन्न चाहनुहुन्छ ? यदि आफूसँग त्यो क्षमता र इच्छा भए ईमेज च्यानलले ‘इमेज लोक कलाकार’ खोजिरहेको छ, जसका लागि पूर्वाञ्चलमा धरान र पश्चिमाञ्चलका लागि पोखरामा अडिसन समेत गरिसकेको छ ।
काठमाडौमा भने यही मंसिर १० र ११ गते अडिसन हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । यस प्रतियोगितामा सहभागी हुन चाहने जोसुकैले आवेदन फारम भरी अडिसनमा सहभागी हुन सक्नेछन् ।
ईमेज च्यानलले पत्रकार सम्मेलनमा धरानबाट २० र पोखराबाट २६ जना अडिसनमा छानिएको पनि जनाएको छ । कार्यक्रममा बोल्दै कार्यक्रम निर्माता अनुपमा श्रेष्ठले राजधानीको अडिसनपछि उत्कृष्ट २५ जना छनोट गरिने बताइन् । उनले भनिन्, ‘यो प्रतियोगिता उत्कृष्ट लोक कलाकार जन्माउने उद्देश्यले सुरुवात गरेका हौं ।’ उनले यस पहिलो प्रतियोगिता भएपनि धरान र पोखराका अडिसनका लागि उत्साहजनक सहभागी रहेको बताइन् । उत्कृष्ट २५ मा छनोट भएका सहभागीहरुलाई भने गायनबारे प्रशिक्षण समेत दिइनेछ ।
‘ईमेज लोक कलाकार’ का विजेतालाई एक लाख रुपैयाँ नगदसहित एउटा गीतको अडियो–भिडियोसमेत निर्माण गर्ने अवसर दिइने अनुपमाले बताइन् । उनका अनुसार उत्कृष्ट पाँचजना छानोट गरी ‘पब्लिक च्वाइस’मार्फत् विजेता घोषणा गरिने छ । यो गायन रियालिटी शो यही १३ मंसिर प्रत्येक आइतबार र सोमबार साँझ ८ बजे इमेज च्यानलमा प्रसारण हुने जनाइएको छ ।