
‘गाजलु’बाट नेपाली चलचित्र क्षेत्रम डेब्यु गरेका पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अब रंगमञ्चमा पनि प्रस्तुत भएकी छिन् । मोडलीङ, चलचित्र हुदैँ रंगमञ्चमा प्रवेश गरिकी सृष्टि एकसाथ फरक फरक दुनियाँमा रमाउने प्रयत्न गरिरहेकी छन् । पूर्व मिस नेपाल, मोडल, नायिका रहेकी सृष्टि यतिबेला भने रंगमञ्चमा व्यस्त छिन् । लाजिम्पाटस्थित थिएटर भिलेजमा उनी अभिनीत नाटक ‘ह्याम्लेट’ मञ्चन भइरहेको छ । विलियम सेक्सपियर लिखित उक्त नाटकलाई नेपाली भाषामा ग्रेगरी थम्सन र विमल सुवेदीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । उक्त नाटकमा सृष्टि ह्याम्लेटकी प्रेमीका ओजस्वीकोे भूमिकामा प्रस्तुत भएकी छिन् । ‘प्रत्येक दिन एउटै इमोसन र इनर्जीमा पर्फम गर्नुको मज्जा नै बेग्लै रहेछ,’ आइतबार शोपछि उत्साहित यी सुन्दरीले भनिन् । ‘पात्र निर्वाह गर्नेमात्र होइन, पात्रकै जीवन बाँच्न पाइन्छ,’ उनले थपिन् । निरन्तर सँगै काम गर्दा बन्ने पारिवारिक र आत्मीय सम्बन्धले उनको मन नाटकतिर अझ तानिएको रहेछ । गाजुलमार्फत फिल्मी संसारमा इन्ट्री मार्न लागेकी सृष्टि भन्छिन्, ‘नाटकमा व्यावसायिक सम्बन्ध भन्ने नै नहुँदो रहेछ । मलाई थिएटर भिलेज र ह्याम्लेट टिम आफ्नै परिवारजस्तो लागिरहेछ ।’ कतिसम्म भने नाटकमा उनका बुबा बनेका भोलाराज सापकोटालाई उनी मञ्च बाहिर पनि बुबा नै भन्छिन् । हुन पनि हो, फेसन र मोडलिङ वल्र्डमा जस्तो ‘हाई–हेलो’ र ‘शो–अप’ मा मात्र सीमित हुँदैन, थिएटरभित्रको सम्बन्ध । सहनिर्देशक विमलले नाटकका लागि अफर गर्दा सृष्टिलाई लागेको थियो, ‘गतिलो प्लाटफर्म पाएँ,’ तर स्टेजमा दरिलो पर्फम गर्न नसकिएला कि भन्ने चिन्ता पनि थियो । वर्कसप गर्दै जाँदा आत्मविश्वास बढ्यो । केही महिना पहिले भक्तपुर दरबार स्क्वायरमा मञ्चन हुँदा सृष्टिले चाहेजस्तो पर्फम गर्न सकिनन् । अभिनय कमजोर भएको भन्दै उनको आलोचना गरियो । सृष्टिले सुनाइन्, ‘त्यतिबेला म आफैंलाई पनि चित्त बुझेको थिएन ।
यसपटक लामो समय रिहर्सल गर्न पाइयो । धेरै इम्प्रुभ गर्ने अवसर मिल्यो । अडियन्सबाट पनि चरित्रमा डुबेर पफर्म गरेको फिडब्याक पाइरहेकी छु ।’ फेरि उनी आफूलाई ‘लक्की’ किन ठानिरहेकी छन् भने पहिलो नाटकमै भोलाराज, कमलमणि नेपाल, राजकुमार सापकोटाजस्ता रंगमञ्चमा खारिएका कलाकारसँग काम गर्ने मौका पाइन् । अझ उनका प्रेमी बनेका दिब्वदेवको त ‘बिग फ्यान’ नै थिइन् । फुरुंग पर्दै भन्छिन्, ‘उहाँहरूको सपोर्टले पनि मेरो थिएटर मोह बढाएको हो ।’ सृष्टिलाई थाहा छ, फिल्ममा जस्तो नाटकमा चमकधमक हुँदैन । न फेसनमा जस्तो चर्चा नै । नाटक सीमित दर्शकको पहुँचमा मात्र हुन्छ । एउटा म्युजिक भिडियोबाट जति पारिश्रमिक पाइन्छ, महिना दिन नाटक खेल्दा पनि त्यति नपाइन सक्छ । तर पनि उनी नाटकलाई प्राथमिकता दिने योजनामा छिन् । किन त ? भन्छिन्, ‘नाटकमा जति आत्मिक सन्तुष्टि पाइन्छ, फिल्म र फेसनमा त्यसको एकछेउ पनि पाइन्न । त्यसैले वर्षमा कम्तीमा एउटा नाटक त खेल्छु नै ।’