कला अन्वेषक/इतिहासकार डिना बाङदेलको निधन

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७४, बुधबार

Dina Bangdelअमेरिका । नेपाली कलाले फेरि सिङ्गो इतिहास गुमाउनु परेको  छ। ख्यातिप्राप्त कला अन्वेषक/इतिहासकार (आर्ट हिस्टोरियन) डिना बाङदेलको अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा मंगलबार निधन भएको छ ।

प्रारम्भिक सूचना अनुसार साइनसको शल्यक्रियाका लागि उनी दुई साता अघि अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रियापछि भएको संक्रमणले उनमा मेनिन्जाइटिस देखिएको थियो ।

५४ वर्षीया बाङदेल पछिल्लो समय कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागको निर्देशक थिइन् ।प्रसिद्ध कलाकार–लेखक लैनसिं बाङदेलकी छोरी डिना हिमाली, नेपाली र बौद्ध कलाका लागि अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त थिइन् ।

सन् १९६० को दशकयता अन्तर्राष्ट्रिय क्षेत्रमा ओझेलमा परेको नेपाली कलालाई पछिल्लो समय विश्व समुदायमाझ परिचित गराउनमा डिना सक्रिय थिइन् ।फ्रान्सको एक कला संग्रहालय ‘म्यूजे गिमे’ सँगको सहकार्यमा नेपाली कलालाई विश्वका विभिन्न शहरमा प्रदर्शन गर्ने योजना पनि उनले अगाडि बढाएकी थिइन् ।

पिता लैनसिं बाङ्देलले नेपालबाट चोरी भएर विदेशिएका मूर्तिबारे पुस्तक प्रकाशन गरेका थिए, यतिबेला डिना ती मूर्तिहरु स्वदेश फर्काउने अभियान चलाइरहेकी थिइन् ।

विश्वस्तरकी आर्ट क्युरेटर समेत रहेकी कला अध्येता डिना नेपाल कला परिषदकी बोर्ड अर्फ डाइरेक्टर्सकी सदस्य, नेपालका ग्रामिण क्षेत्रको शिक्षामा काम गरिरहेको संस्था रिड ग्लोबलकी ट्रष्टी समेत थिइन् ।

अमेरिकाको ओहायो युनिभर्सिटीबाट विद्यावारिधी डिनाले दक्षिणएशियाली समकालिन कला र सिनेमामा लैङ्गिक र पहिचानका मुद्दामा अनुसन्धान पनि गरेकी थिइन् । कला इतिहास र समकालिन कलाबारे थुप्रै पुस्तककी लेखक एवम् सम्पादक डिना कतारमा अध्यापन गर्थिन् ।

लैनसि‌ बाङ्देल र मनकुमारी बाङ्देल दम्पत्तीकी एकमात्र सन्तान डिनाका ८८ वर्षीया आमा मनकुमारी, श्रीमान विभाकार  शाक्य र दुई छोरा देवेन र नील छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु