अहिले मुलुकमा जताततै जात्रा छ । राजनीतिदेखि हरेक क्षेत्रमा जात्रा नै जात्रा छ । यो जात्रा नै जात्राको बीचमा आएको छ गाईजात्रा । धार्मिक, सामाजिक र सांस्कृतिकका साथै गाईजात्राको हास्यव्यंग्यात्मक महत्व पनि छ । त्यसैले त गाईजात्रा हास्यकलाकारका लागि महोत्सव नै बन्ने गरेको छ । किसानका लागि असार जस्तै हो, हास्यकलाकारका लागि गाईजात्रा । वर्षभरिका विकृतिमाथि व्यंग्य प्रहार गर्दै आफ्नो कलालाई दर्शकमाझ पस्किने महŒवपूर्ण अवसर हो यो ।
यो वर्ष राजधानीका दुई ठूला प्रेक्षालय राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठानमा चर्चित हास्यव्यंग्य कलाकार गाईजात्रा गरिरहेका छन् । आ–आफ्ना ब्रान्ड हुने कार्यक्रमलाई गाईजात्रामा पनि ब्रान्ड बनाएर प्रस्तुत गरिँदै छ । प्रज्ञा भवनमा टेलिफिल्म ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ र ‘मेरी बास्सै’का कलाकारसँगै मनोज गजुरेल, शैलेन्द्र सिम्खडा आदिले आफ्नो प्रस्तुति पस्किरहेका छन् भने राष्ट्रिय सभागृहमा ‘झ्याइँकुटी झ्याइँ’, ‘जय होस्’ र ‘हर्के हल्दार’लगायत टेलिफिल्मका कलाकारले कार्यक्रम गरिरहेका छन् । ‘अरू बेला स्वदेशका महोत्सव, विदेशका कार्यक्रम र आफ्नै टेलिशृंखलामा व्यस्त भइन्छ,’ केदार घिमिरे ‘माग्नेबुढा’ भन्छन्, ‘गाईजात्राको अवसरमा भने सबै कलाकार एकजुट भएर काम गर्ने अवसर मिल्छ ।’
यही गाईजात्रा पञ्चायतकालमा वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लागेको बेला प्रजातन्त्रको लागि आवाज उठाउने महŒवपूर्ण माध्यम थियो । गाईजात्रा कार्यक्रम तथा हास्यव्यंग्यको क्षेत्रमा दुई दशकभन्दा पनि बढी बिताइसकेका सक्रिय मह जोडीका ‘ह’ अर्थात् हरिवंश आचार्य समयसँगै गाईजात्राको स्वरूपमा धेरै फरकपन आएको बताउँछन् । पञ्चायतकालमा आफूहरूले देखाउने गाईजात्रा कार्यक्रम र अहिलेको गाईजात्रामा विषयवस्तु र प्रस्तुतिको शैली समेत फरक भएको उनको भनाइ छ ।
समाजमा सामाजिक विकृति र विसंगति धेरै भए पनि राजनीति र नेतामाथि व्यंग्य गर्नु नै गाईजात्राको मुख्य विषय बनेको छ । राजनीतिक मुद्दाका कारण सामाजिक विषयवस्तुमाथि गाईजात्रे कार्यक्रमहरूले चोटिलो प्रहार गर्न सकिरहेका छैनन् । हास्यकलाकार पनि यो कुरा स्विकार्छन् । ‘सबै विषयवस्तुको मूल समस्या नै राजनीति भएकाले यताउति ग¥यो राजनीतिमै कुरा पुगिहाल्छ,’ कलाकार जितु नेपाल भन्छन्, ‘देशको राजनीति सफा नभएसम्म गाईजात्रे कार्यक्रमबाट राजनीति हट्न सक्दैन । दर्शक पनि नेताप्रति गरेको व्यंग्य नै बढी रुचाउँछन् ।’
कलाकार दीपकराज गिरी पनि व्यंग्यात्मक कार्यक्रममा राजनीतिको आधिपत्य हुनुलाई अस्वाभाविक मान्दैनन् ।
गाईजात्रे कार्यक्रमका पछिल्ला संस्करणमा परिवारसहित हेर्न जान नमिल्ने किसिमका कार्यक्रम प्रस्तुत गर्न थालेको भनेर पनि आलोचना भइरहेको छ । गाईजात्रे कार्यक्रममा संलग्न कलाकार पनि अश्लीलता बढेको तथ्य नकार्दैनन् । ‘फिल्मदेखि साहित्यसम्मका विषयमा यौनसम्बन्धी विषयवस्तुले प्रमुख स्थान पाएको अवस्थामा गाईजात्रा यसबाट अछुतो रहन सक्दैन,’ कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ भन्छन्, ‘अन्तर्राष्ट्रिय हास्यव्यंग्यमा पनि यौनका पक्ष हाबी भइरहेका छन् ।’ भारतीय टेलिभिजन च्यानलमा प्रसारण हुने हास्यप्रदान कार्यक्रममा पनि यौनको प्रसंग धेरै पाइने भएकाले नेपाली हास्यव्यंग्यमा यसको प्रयोग अनौठो नभएको उनको ठम्याइ छ । ‘यौनलाई राख्नै हुँदैन भन्नु सही होइन,’ उनी भन्छन्, ‘शिष्ट र सभ्य ढंगले राख्दा नराम्रो मान्नु हँुदैन ।’ यौन पनि हास्यव्यंग्य र शृंगार रसकै एक भाग भएकाले प्रस्तुति र प्रदर्शनका आधारमा श्लील र अश्लील हुने उनी बताउँछन् ।
कलाकार किरण केसी पनि अश्लीलता आजकल जे कुरामा पनि धेरै हुन थालेको बताउँछन् । ‘पहिला–पहिलाको गाईजात्रामा अनुशासन हुन्थ्यो तर अहिले गाईजात्रा धेरै ‘भल्गर’ हुन खोजिरहेको छ,’ उनी भन्छन् ।