गायक पशुपति शर्माको बाल्यकाल, संघर्ष र सफलता

म्यूजिक खबर
प्रकाशित: २१ असार २०७४, बुधबार

प्रस्तुति: राधिका अधिकारी


असार २१, काठमाडौं । अहिलेका चर्चित तथा लोकप्रिय गायक पशुपति शर्माका पिताको उनलाई डाक्टर बनाउँने सपना थियो । तर, उनको आफ्नै सपना भने गायक बन्ने थियो । परिवारको इच्छाा विपरित उनी गायनमा लागे । पछिल्लो समय धेरैको मन मुटुमा बसेका गायक हुन पशुपति शर्मा । उनका बाबुको छोरालाई डाक्टर साब भनेर सम्बोधन गर्ने सपना कुल्चेर आफ्नो सपनाको बाटोमा डोरीएका शर्मा आफैले बनाएको सम्बोधनमा आज धेरैको सपना बनेका छन् । उनको गायन, व्यस्तता र लोकप्रियता देखेर उनकै बाटोमा हिड्न चाहने अनुज पुस्ता ठुलो संख्यामा छन् ।

pashupati sharma
पशुपति शर्माको उत्ताउलो बाल्यकाल
२०४० साल कार्तिक १४ गते स्याङजाको पुतली बजारमा जन्मिएका पशुपति शर्माको बाल्यकाल पुतली जस्तै गाउँछु रमाएर बित्यो । स्कुल तहको पढाई स्याङ्जाको पुतली बजारमै बिताएका उनी सानामा साह्रै चञ्चले थिए । ३ दिदी तथा १ दाजुका कान्छा भाइउनी सबैको माया पाएर होला अलि बढि उड्फट्याङ गर्थे । आज पुराना दिन सम्झिदा उनलाई कलाकार हुन सानैबाट चञ्चले हुनुपर्दो रहेछ जस्तो लाग्छ।
गाउँको जीवनशैली घरमा कहिलेकहि आटोढिडो पनि पाक्थ्यो । त्यो दिन आमाले अन्तिममा भात खाएर बाहिर चुठ्न निस्कनु पर्छ है भन्नु हुन्थ्यो । तर, उनी ढिडोको ढल्लै हातमा लिएर खाँदै बाहिर निस्कन्थे । खाको पनि लुकाएर हुन्छ, देखाएर खानुपर्छ भन्ने उड्फट्याङ् स्वभावका कारण उनी त्यसरी बाहिर आएको आज पनि सम्झिन्छन् । खेतमा काम गर्न आउँने खेतालाई पनि उनी हसाए काम गर्नै नसक्ने बनाउँथे । उनकी आमाले हरेक सिजनका खेताला लगाउँने बेलामा ‘बरु तँ काम नगर कान्छा खेताला नबोला है’ भन्नु हुन्थ्यो । तर, आमाले भनेर उनलाई कहाँ लाग्थ्यो र उनी खेतमा उड्फट्याङ् गरेरै छाडेथे ।
सानामा उनले आफ्ना बाबु आमालाई खुब सताएका छन् । गाली त कसैले गर्नै हुदैनथ्यो, उनी झन धेरै निहुँ खोज्थे उनलाई जति गल्ती गरेपनि फकाउँनु पर्थ्यो । अहिले उनको यो सम्पूर्ण गुण उनकी छोरीमा सकेको छ । स्कुलका सधै प्रथम हुन्थे तर उनी स्कुल जान खुब अल्छि थिए । उनले स्कुल नजानका लागि घाँसको डोको फाल्नेलगायतका विभिन्न उड्फट्याङ् गरेका छन् । आमाले अनुशाशित हुनुपर्छ छोरा भनेर सिकाएको कुरा उनी स्कुलमा चाहिँ सर्धै सम्झन्थे । स्कुलमा राम्रा विद्यार्थी थिए ।
गायनका सुरुवाती संघर्ष
गायनमा लाग्दाका सुरुवाती दिनमा उनलाई गायनमा संघर्ष गर्न निक्कै गाह्रो भयो । उनलाई परिवारको गायनमा सपोर्ट थिएन । हुन त गायनका सुरुवाती दिनमा उनी परिवारलाई नभनि लुकीछिपि गायनमा हिड्थे । कुनै समय यस्तो थियो उनी कजेलमा काम छ भनेर घरबाट निस्कन्थे र विभिन्न कार्यक्रममा गीत गाउँन पुग्थे । त्यहि समय हो उनका पिताले उनलाई गाउँदा गाउँदै स्टेजमा भेटेका थिए । त्यो दिन उनी प्रथम प्रथम भए, तर, प्रथम भएको खुशीभन्दा उनी घरमा झन कडाईमा परेका थिए । त्यो समय उनलाई आमा र दाइले विशेष गाली गर्नु भएको थियो ।
पशुपति जुन समय गायनमा आएका थिए । उनलाई गायनमा सहयोग गर्ने उनले चिनेका कोहि थिएनन् । त्यसोत उनी आफैमा पनि कुनैपनि किसिमको सांगीतिक ज्ञान थिएन । राजधानी बसाइका २ वर्षपछि दोहोरी साँझमा गाउँन थालेका पशुपतिलाई पहिलो एल्वम निकाल्ने बेलामा उनका अग्रजहरुले उनलाई एल्वम ननिकाल्न सुझाव दिएका थिए । तिमीले गाउँने होइन, तिमीले गाएर हुँदैन भन्दाभन्दै पनि जर्वजस्त गायनमा लागे । थुप्रै पटक राष्ट्रिय लोकगायनमा प्रथम बनेका उनलाई गायनका सुरुवाती दिन सम्झदा आज कसरी त्यति धेरै सघर्ष गरें हुँला भन्ने लाग्छ । आफू पटक पटक मरेर कलाकार बनेको बताउँने उनले गायनमा सबैको माया पाएकाले पनि ति सबै संघर्षलाई बिर्सिएका छन् ।
राजधानीमा नवदुलही जस्तै भएँ
एसएलसीको पढाई सकेर शर्मा राजधानी पस्दा १६ वर्षका थिए । एसएलसी पछि दाजुको सटको फेरो समातेर राजधानी पसेका शर्माका सुरुका २ वर्ष दाजुको सेवामै बित्यो ।त्यसबेला उनका दाजु डाक्टरी पढ्दै थिए । उनलाई त्यो समय उनका पिताको‘दाइ डाक्टर पढ्ने मान्छे, उस्ले धेरै पढ्नु पर्छ दाजुको लुगा धुने, भात पकाउँने काम तैले गरेस है’ भनेर फोन आउँथ्यो । उनी १६ वर्षका हुँदा उनका दाजु १८ वर्षका थिए । उनले उनका दाजुलाई तँ विहान भात पका म बेलुका पकाउँछु भन्न सक्थे तर, उनले त्योसो गरेनन् । दाजुको २ वर्ष पूर्ण रुपमा सेवा गरे । उनी राजधानी बसाईका २ वर्ष घरमा भित्रिएकी नव दुलही जस्तै भएर बसे । उनले उनका पिताको आग्रहलाई कहिल्यै काटेनन् । र पनि उनीहरु दाजु भाइको सम्बन्ध कहिल्यै आत्मय भएन । दाजुसँग सधै औपचारिक कुरा हुन्थे । आज पनि दाजुभाइको भेट हुँदा धेरै खुलेर कुराकानी हुँदैन । उनका दाजु अहिले डाक्टर बनिसकेका छन् । र पनि राजधानी बसाइका ति दिनको सम्झनाले उनीपनि कुरा गर्दैनन्, उनका दाजुले पनि कुरा निकाल्दैनन् । दाजुले मनमा चाँहि सम्झिका होलान भन्ने लाग्छ उनलाई ।
उनलाई सधैं दाजुका लुगा धुन, खाना खाजा बनाउँन गाह्रो नलाग्ने चाँहि होइन । त्यसैले त उनी हरेक पल्ट घरबाट निस्कनेबेलामा अन्मिएकी छोरी जस्तै रुदै निस्कन्थे । उनी जीवनमा थुप्रै पटक रोएका छन् । उनलाई अहिले पनि उनीजस्तो रुन्चे मान्छे अरु छ जस्तो लाग्दैन् । आफ्ना दुःखमा भन्दा अरुमा दुःख देखेर धेरै रुने पशुपति पछिल्ला केहि वर्ष यता पहिलेको तुलनामा रुन छाडेका छन् ।
गायक बन्नकै लागि अन्धो
पशुपति शर्मा जीवनका रंगीन सपना फुलाउँने बेलामा पनि गायनमा अन्धो भएर लागे । किशोर वयको सुरुवात दोहोरी साँझमा पुगेका उनको संगत अग्रज गायिकाहरुसँग भयो । उनले केटीप्रति आकर्षित हुने र माया गर्ने मुटु बोकेर पनि विवाहअघि प्रेममा अल्झिन पाएनन् । त्यसोत उनी आज गायनमा जुन स्थान बनाएका त्यो स्थान बनाउँला भनेर गायनमा लागेका थिएनन् । एउटा गीत रेकर्ड गर्ने र गायकको सूचीमा आफ्नो नाम लेखाउँने मात्रै उनको सपना थियो । तर, उनले सुरुमा निकालेको गीतनै सबैको रोजाइमा परेपछि उनले कहिल्यै पछाडि फर्किनु परेन् ।
उनका दाजु दिदी सबैले बाबुले भने जस्तै गरे । उनी बाबुआमाको सपनाको बाटो लत्याएर गायनमा आएका । उनी घर जाँदा हरेक पल्ट तँ बिग्रिस भन्ने कुरा हुन्थे । उनी आमालाई छोराले गीत गाएकोमा भन्दा छोराले कस्ती केट िबोकेर आउँने हो भन्ने चिन्ता थियो । गाउँमा पनि उनको कुरा काट्ने ठूलै जमात थियो । त्यस हिसावले पनि कलाकारहरु पनि अनुशाशित हुन्छन् है भनेर प्रमाणित गर्नु थियो । सँगै उनलाई पढ्नु पनि थियो । उनले मास्टर पनि गरे र आमा बाबुकै राजाइमा पर्वतकी रेखा शर्मासँग मागी विवाह गरे ।
गीत संगीतसंग रेखाको खासै लगाव होइन । तर, उनले जीवन संगीनिबाट चाहिँ गायनमा राम्रो साथ पाए । उनका क्याम्पस पढ्न आउनी पछि सबै गीत उनका विवाह पछि चलेका हुन । त्यसैले पनि उनलाई जीवन संगीनि फापेकी हुन जस्तो लाग्छ । उनी कहिले काहि त महिनामा २ दिनपनि रेखाका लागी छुट्याउन भ्याउँदैनन् । र पनि उनकी जीवनसंगीनिले उनको पेशालाई आत्मसाथ गरिन कहिले गुनासो । गरिनन् । उनले । उनकी श्रमितीसँग सधै साथीको व्यबहार रह्यो । कहिलेकहि साथीसँगी संग जस्तै कहिलेकहि झगडा पनि पर्छ ।
पर्दाको यात्रा
एक समयको कुरा हो उनी गाउँ जाँदा टेलिभिजनमा उनको गीत भजिरहेको थियो । गीतको म्यूजिक भिडियोमा किरण केसी ‘राता मकै’ले अभिनय गरेका थिए । उनले उनका बुवालाई खाना खान बोलाउँदा बुवाले भनेका थिए ‘पख न यहाँ राता मकैले गीत गाउँदै छ, सकेपछि आउँछु’ । त्यसपछि उनलाई आफूले गाएको गीतमा आफैले अभिनय गर्नु पर्ने रहेछ भन्ने लागेको थियो । पछि अभिनयमा पनि उनलाई धेरैले रुचाए । त्यसयता आफ्ना प्राय गीतमा उनी आफैले अभिनय गरेका छन् ।

-म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु