• दीपसागरको नेतृत्वमा गोर्खा सांस्कृतिक समाज गठन

    म्यूजिक खबर
    प्रकाशित: १९ चैत्र २०७२, शुक्रबार

    गोर्खाबाट काठमाडौं आएर नेपाली संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका स्रष्टा सर्जकहरुले गायक दीपसागर थापाको नेतृत्वमा गोर्खा सांस्कृतिक समाज गठन गरेका छन् । गोर्खा जिल्लाबाट काठमाडौं आएर साहित्य, गायन, बाद्यवादन, चलचित्र, नाट्य, अभिनय एवं गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेका स्रष्टा एवं सर्जकहरुको छाता संगठनका रुपमा गोर्खा सांस्कृतिक समाज गठन गरिएको हो । गत कार्तिक २१ गते सुनिल लामिछानेको संयोजकमा गठन भएको तदर्थ कमिटिले गोर्खाली बृहत भेलाको आयोजना गर्दै संस्थागत रुपमा नयाँ कार्यसमिति गठन गरेको हो । शुक्रबार लेखनाथ साहित्य सदन नयाँ बजारमा भएको बृहत भेलाले सम्पूर्ण स्रष्टा सर्जक एवं सिर्जनाको क्षेत्रमा क्रियाशील कलाकारहरुलाई एकै छातामुनी समेट्न सफल भएको छ ।

    gorkha cultural society
    समाजको अध्यक्षमा दीप सागर थापालाई चयन गरिएको थियो भने वरिष्ठ उपाध्यक्षमा सुमन बैरागी र मुना थापालाई चयन गरिएको थियो । त्यस्तै उपाध्यक्षहरुमा रञ्जिता गुरुङ, प्रेम अर्याल र मौसम गुरुङलाई चुनिएको छ । महासचिवमा सुनिल लामिछाने, सचिवमा सागर गुरुङ, कोषाध्यक्षमा वीरबल ढकाल, सहकोषाध्यक्षमा कोपिला गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा आमोश तामाङ, दिनेश थापा, मरिचमान श्रेष्ठ (बल्छी धुव्रे), लोक भट्ट, सुमन परियारलाई चयन गरिएको छ ।

    gorkhali
    गीतकार डा.नवी अधिकारी, विश्व देवकोटा, काजीबाबु अर्याल, गायक विरही कार्की, गायिका हरिमाया गुरुङ, संगीत व्यवसायी रामजी पन्त लगायतको किमिटी गठनका लागि बनाइएको सल्लाहकार टोलीले सहमतीय प्रणालीबाट गोर्खा सांस्कृतिक समाजका पदाधिकारीहरु चयन गरेका थिए । नमिलेका मनलाई मिलाउँदै संस्थागत हित हुने गरी सल्लाहकारहरुले समितिका पदाधिकारी गठन गरेका थिए । संस्थालाई सबै गोर्खालीलाई समेट्ने गरी फराकिलो बनाउँदै लैजाने र नेपाली गीतसंगीत, साहित्य, चलचित्र, नाट्य एवं वाद्यवादन, चित्रकला जस्ता विषयमा लागिपरेका सर्जकहरुको हक अधिकारका लागि लड्ने गरी संस्था गठन भएको बताइएको छ ।

    muna thapa

    कार्यसमिति चयन भएपछि सल्लाहकार विरही कार्कीले कार्यसमितिलाई गोर्खाली कलाकारको मन वचन र कर्मले गोर्खाको कला, संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्ने गरी सपथ खुवाएका थिए । तदर्थ समिति संयोजक सुनिल लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सुमन बैरागीले संचालन गरेका थिए । भेलामा गीतसंगीत एवं सिर्जनाको क्षेत्रमा क्रियाशील कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । नयाँ कार्यसमितिलाई म्यूजिक खबर डटकम सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

    mausam gurung

    balchhi dhurbe birahi

    तस्वीरः नवीन गुरुङ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु