अशोक दर्जीको ‘मन बिनाको धन ठूलो’ टे«न्डिङमा, किन भए चर्चित

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७५, शनिबार

२९ बैशाख, काठमाडौं । बालगायक अशोक दर्जी केहीसमय यता चर्चाको शिखरमा छन् । प्रतिभा आफंैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा आएका हुन् । उनले गाएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ अपलोड गरेको दिनबाट ट्रेन्डिङ नम्बर एक छोडेको छैन । उनको गीत मात्र होइन उनका बारेमा लिइएका अन्तरवार्ताहरु पनि ट्रेन्डिङ २ देखि ४७ नम्बरसम्म देखिएका छन् । संगीतकार गायक टंक बुढाथोकीको यूट्यूब च्यानलबाट अपलोड गरिएको उक्त गीत गायक अशोक दर्जी र टंक बुढाथोकीको स्वरमा रहेको छ । टंक बुढाथोकीकै संगीत रहेको यो गीतलाई बि.राज नेपालले लेखेका हुन् ।

विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने रोचक रहेको छ । विपन्न परिवारका उनको भविस्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ ।

झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविकोपार्जनका लागी पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् । केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ ।

२ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको बताए । तर पछिल्लो समय धेरैले सहयोग गर्ने वाचा गरेकाले आगामी बर्षदेखि पुनः स्कुल जाने र संगीतसँगै पढाईलाई पनि अघि बढाउँने चाहाना रहेको उनले बताए । उनका बुबा आमा अरुको घरमा काम गर्ने गर्छन् । प्रतिभा भएर पनि गरीब भएकै कारण उनले आफनो प्रतिभाको सहि सदुपयोग गर्न सकेका छैनन् । जस्तोसुकै गीतहरु पनि सहज तरिकाले गाउन सक्नु उनको खुबी नै हो । अन्य समय कुनै न कुनै क्रियाकलाप गरेर केटाकेटी पना देखाउने उनी जब गीत गाउन सुरु गर्छन्, तब सबथोक बिर्सिएर दत्तचित्त भएर गाउँनमा नै मस्त हुन्छन् । एकपछि अर्को गीतहरु सुनाएर उपस्थित दर्शक, स्रोताको मन जित्न सफल हुन्छन्, उनी ।

गायक अशोक दर्जीको अदभूत गायन क्षमताका कारण, छोटो समयमा नै चर्चामा रहेका उनलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको हो । अशोकसँगै उनका दुई बहिनीहरुको पठनपाठनको जिम्मा पनि सोही विद्यालयले लिएको छ । आर्थिक अवस्था नाजुक भएका कारण नै उनले दुई कक्षासम्म मात्रै पढ्न सकेका थिए । उनलाई निःशुल्क शिक्षा दिने र उनका दुई बहिनीलाई पनि पढाउने जिम्मा बेथेल एजुकेशनका फाउन्डर प्रिन्सिपल दिपक न्यौपानेले लिएका छन् । उनलाई स्कुल लगाउने कार्यमा पत्रकार किसोर श्रेष्ठ, विवेक हिङमाङ, ममता राना लगायतले महोत्वपूर्ण भूमीका निर्वाह गरेका थिए । आफ्नो छोरालाई पुःन स्कुल जाने अवसर मिलाइ दिएकोमा अशोकका बुबाले सहयोगी सबैलाई धन्यवाद दिएका छन् । १० कक्षासम्म पढ्ने इच्छा रहेको अशोकले बताए । विद्यालयको पहिलो दिन विद्यार्थी र शिक्षकले अशोकको भव्य स्वागत गरेका थिए भने अशोकले गीत गाएर सुनाए ।

अशोक दर्जीलाई यो अवस्थामा ल्याएर चर्चित बनाउने श्रेय भने डिजे रुपकलाई जान्छ । उनले गायक संगीतकार टंक बुढाथोकीलाई भेटाएर मिडियामा जताततै बनाइदिए । त्यतिमात्र होइन घरजग्गा र नागरिकता विहिन अशोकको परिवारलाई घरबासको व्यवस्थासमेत मिलाउने काममा उनी सक्रिय छन् । डिजे रुपक, टंक बुढाथोकी लगायतका एउटा समूह अशोक दर्जीको घर बनाउने अभियानमा जग्गा खोजिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु