उत्पादक समाज कानुनतः खारेज, षड्यन्त्र भएको अध्यक्षको दावी

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७२, बिहीबार

काठमाडौं । संगीत उत्पादनको क्षेत्रमा क्रियाशील रहेका व्यवसायीहरुको संस्था उत्पादक समाज नेपाल कानुनी रुपमा खारेज भइसकेको छ । संगीत उत्पादकहरुको रोयल्टी व्यवस्थापनका लागि प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय अन्तर्गत दर्ता भएको यस समाजले समयमै नवीकरण गगरेको कारण खारेज हुन पुगेको हो ।
कानुनी रुपमा यो खारेज भइसकेपछि समाजका अध्यक्ष पदम बहादुर बुढाले भने यो सरासर गलत प्रक्रियातर्फ गइरहेको र दुईचार जना झुण्डको पछाडि लागेर षड्यन्त्र भएको दाबी गरेका छन् । बुढा चैत १६ मा साधारणसभा सकेर अडिट लगायतका फाइल समाजका पदाधिकारीहरुलाई नवीकरणका लागि जान अनुरोध गर्दै आफ्नो विशेष कामका कारण कैलाली पुगेका थिए । उनले काम सकेर काठमाडौं फर्कने योजना बैशाख १२÷१३ तिर भएको भए पनि भुकम्प गएका कारण आउन नसकेको बताएका छन् । सोही समयमा समाजका कुनै पनि पदाधिकारीले नवीकरणका लागि रजिष्ट्रारको कार्यालय नपुगेको हुँदा समयसीमा गुज्रेको थियो । यसरी समयसीमा गुज्रिरहेको अवस्थामा उत्पादक समाज खारेज हुँदैछ भनेर मलाई एक कल फोन पनि आएन अध्यक्ष बुढाले भने – ‘बरु मेरो नेतृत्व असफल भयो भने अर्को नेतृत्व माग गर्न रजिष्ट्रार बाबुराम गौतमजीले सक्नुहुन्थ्यो । स्रष्टाहरुको हकअधिकारका लागि रोयल्टी व्यवस्थापनमा लाग्दै आएको यो समाज खारेज भयो भनेर हल्ला पिटाउनु आफैंमा षड्यन्त्र भएको छ ।’ जेठ २५ गतेसम्म नवीकरणको म्याद भए पनि रजिष्ट्रारको कार्यलयबाट कुनै पनि जानकारी नगरेको आरोप अध्यक्ष बुढाले लगाएका छन् । अहिले उत्पादकहरुको अर्कै समाज गठन गर्नुस् यो खारेज भयो भन्ने उहाँको प्रतिक्रिया छ, यो गलत हो । यदि उत्पादक समाज नै आवश्यक पर्छ भने यसैलाई मान्यता दिएर अर्को नेतृत्व ल्याउन सक्नुहुन्छ, हामीले सम्पूर्ण प्रक्रिया पूरा गरेका छौं तर भुकम्पका कारण समयमा उपस्थित हुन नसकेको भने साँचो हो बुढाले म्यूजिकखबरसँग भने ।

baburam-padam
प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतमका अनुसार समाजका कुनै पनि प्रतिनिधिले समयमा नवीकरण गर्नका लागि आउनुभएन त्यसकारण समाज खारेज भएको हो । समाजका प्रतिनिधिहरुले आफ्नो संस्था खारेज भएको खबर संचारमाध्यममा आएपछि पुरानो मितिको निवेदन लिएर रजिष्ट्रारको कार्यालय पुगेका थिए । तर रजिष्ट्रार गौतमले यो नियमसंगत नभएको भन्दै फिर्ता गरिदिएपछि आज विहीबार भुकम्पको कारण नवीकरण गर्न उपस्थित हुन नसकेको भन्ने बेहोराको निवेदन पेश गरिएको छ । ‘अब यस कार्यालयबाट कानुनी रुपमा समाज खारेज भइसकेको छ, यो निवेदन मन्त्रालय पठाइदिन उहाँहरुको अनुरोध छ सोही अनुसार मन्त्रालय पठाइदिनेछु । मन्त्रालयको निर्णय नै अन्तिम निर्णय हुनेछ’ रजिट्रार गौतमले म्यूजिक खबरको कुराकानीमा भने ।
समाजले समयसिमा सकिएको एक महिना भित्र जरिवाना दस्तुर तिरेर नवीकरण गर्न सकिने त्यसपछि पनि ३५ दिन भित्र थप दस्तुर तिरेर नवीकरण गर्न सकिने कानुनी व्यवस्था भए पनि उक्त समयमा नवीकरण नगरेकै कारण खारेज भएको हो । खारेजपछि सरकारबाट संस्थालाई प्राप्त हुने तीन लाख रुपैयाँ अनुदान पनि फ्रिज भएको छ । संगीत रोयल्टी व्यवस्थापनका लागि रजिष्ट्रारको कार्यालय अन्तर्गत रहेर संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपाल दर्ता भएका हुन् । जसमा रोयल्टी संकलन समाज र प्रस्तोता समाज भने नियमित कार्य गर्दै आएका छन् । उत्पादक समाजको वर्तमान कार्यसमितिको कार्यकाल आगामी साउनसम्म मात्र रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु