कुन कलाकार कसका ?

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७४, बुधबार

म्यूजिकखबर डेक्स

मुलुकका हरेक क्षेत्र, तहतप्कामा रहेका व्यक्तिहरु राजनीतिकै झण्डामुनी बसेका छन् । स्वतन्त्र भएर बस्नेको लागि यहाँ कुनै ठाउँ रहेको भेटिँदैन । खेलाडी होस् या कलाकार, सरकारी कर्मचारी हुन् या विभिन्न संघसंस्था सबैभित्र राजनीति हावी भएकै हुन्छ ।
पछिल्लो समय कलाकारको प्रयोग वा सदुपयोग, राजनीतिमा धेरै नै भएको पाइन्छ । कुनै पनि राजनीतिक दलले कलाकारलाई स्टेजमा नचढाए अगाडी दलका नेताहरुको भाषण सुनिदिने जनता जनार्दन बटुल्न गाह्रो हुन्छ । उनीहरुले आफ्ना कार्यकर्ताको नाममा कलाकारबाट पनि केही दर्शकलाई आकर्षित गराएका हुन्छन् । कलाकार राजनीतिमा होलटाइमर हुनु र बेला बेलामा हुने कार्यक्रममा बोलाएर बिना पारिश्रमिक तिमीलाई मेरो सत्ता आएपछि यो ठाउँमा खाली छ त्यहाँ कन्फर्म भन्दै फकाउने प्रवृत्ति पनि हावी भएकै हुन्छ । यसरी धेरै कलाकारले राजनीतिक दलको युद्ध नै जिताइदिएका छन् । नजिकिँदै गरेको स्थानीय निकायको चुनावमा पनि कुन पार्टीले कस्ता कस्ता कलाकारलाई प्रयोग गर्ने हुन् ? उनीहरुले जित हासिल गरेपछि ती कलाकारलाई सम्मान गर्छन् कि अपमान ? भोली फेरी त्यो कलाकारको अस्तित्व स्वीकार्छन् की स्वीकार्दैनन् ?

artist copy
कलाकारलाई राजनीतिले किन आकर्षित गरिरहेको छ भन्नेमा धेरैको आ–आफ्नै धारणा हुन सक्छ । राजनीतिले मुलुक संचालनको लागि होस् वा मुलुकको नीति निर्माण गर्नका लागि होस् महत्वपूर्ण भूमिका खेलेको हुन्छ । राजनीति बिना देशका कुनै निकाय पनि नचल्ने भइसकेको छ । यो एकातिर सही देखिन्छ भने अर्कोतिर रोग नै भइसकेको छ । राजनीतिको रोगले मुलुकका हरेक निकायलाई छोएको छ । हामीले इतिहास पल्टाएर हेर्दा हुन्छ कलाकारितामा पनि राजनीतिले प्रयोग गरिरहेको मात्र पाएका छौं । कलाकार प्रयोग गरेर सत्ता कब्जा गर्न खोज्नेहरुले कलाकारितालाई सम्मान गर्न सकेका छैनन् । आफ्नो जित हासिल गर्ने भ¥याङका रुपमा कलाकारलाई प्रयोग गरेको हिजोका दिनहरुले अब केही हदसम्म कलाकारलाई पनि सम्मान गर्नुपर्छ भन्नेतर्फ केन्द्रीत भएका छन् भने केही कलाकार राजनीतिमा खुलेर नै होमिएका छन् । कलाकारले पनि अब राजनीतिलाई प्रयोग गरेर सत्ता सञ्चालनमा आफ्नो सहभागिता जनाउन सक्ने केही देखिएका छन् ।

माओवादीको दश वर्षे जनयुद्धलाई नै हेर्ने हो भने कलाकारिताबाट धेरै जनतालाई आकर्षित गराएका थिए । सामना परिवार जस्तो सांस्कृतिक टोली बनाएर सर्वहारा वर्गको गीत भन्दै गाउँगाउँमा गाएर जनतालाई आफ्नो बशमा पार्न सफल भएका थिए । जीवन शर्मा, माइला लामा, खुशीराम पाख्रिन, मणि थापा, प्रदीप देवानजस्ता दर्जनौं कलाकारहरु माओवादी भूमिगतकालमा सांस्कृतिक युद्धमा होमिएका थिए ।

कांग्रेस होस् या एमाले आफ्ना हरेक राजनीतिक सभा, आन्दोलनमा कलाकार प्रयोग गरेर दर्शक तान्ने काम गरेकै हुन् । २०६२÷६३ कै आन्दोलनलाई हेर्ने हो भने पनि कलाकारले आधा हिस्सा ओगोटेका थिए । तत्कालिन समयमा सडकमा दर्शकहरु जम्मा गरेर आन्दोलनको गतिलाई अगाडि लैजान बद्री पंगेनी, भगवान भण्डारी, राधिका हमाल, मनोज गजुरेल, रामेश रायन, रामजी नेपाली, नन्दकृष्ण जोशी, श्रवण मुकारुङ, रुविन गन्धर्व, अर्जुन पराजुली लगायतका दर्जनौं कलाकार, कविहरुले सडकलाई कब्जामा लिएर दर्शकको मनलाई उर्जावान बनाउँदै आन्दोलनको गति तीब्र बनाएका थिए । राजासँग राजनीतिक दलले गरेको युद्ध नै कलाकारले जितेका थिए भन्दा फरक पर्दैन । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र राजा फ्याँक्ने अभियानमा सात दलले गरेको यो आन्दोलन सफल हुनुका कारणमा कलाकार अग्रस्थानमा थिए ।

 माओवादी शान्ति प्रक्रियामा आइसकेपछि आफ्नो स्वार्थलाई मध्यनजर गर्दै एकचोटी सयभन्दा बढी कलाकारहरु माओवादी प्रवेश गरे । फलतः पछि ती कलाकारहरु जुन पार्टीबाट माओवादीमा प्रवेश गरेका थिए पछि त्यही पार्टीमा फर्किएका इतिहास साक्षी छन् ।

पछिल्लो समयलाई हेर्ने हो भने राजनीतिमा होमिएका गायिका कोमल वली र नायिका रेखा थापा पनि चर्चाको शिखरमा नै रहे । उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा चुनाव जिते । अझ भनौं गायिका कोमल वलीले त बहुमत ल्याएर केन्द्रीय सदस्यमा जित हासिल गरिन् । सोही पार्टीमा गायिका ज्ञानु राना, गायक सञ्जय श्रेष्ठ, संगीतकार मिलन मोक्तान, निर्माता उद्धव पौडेल लगायत कलाकारहरु रहेका छन् ।

आफूलाई राजनीतिमा खुलेरै लागेको देखाउनेहरु पछिल्लो समय धेरै छन् । गायिका राधिका हमाल ०६२÷६३ बाट खुलेरै नेपाली कांग्रेसको राजनीति गरेकी छन् । ०५५ सालबाट नै कांग्रेसको सदस्यता लिएर हिंडेकी गायिका हमाल पछिल्लो समय भने होलटाइमर जस्तै बनेर कांग्रेसको राजनीति गरेकी छन् । नेपाल सांस्कृतिक संघभित्र कोषाध्यक्ष जस्तो पदमा रहेर उनले राजनीतिमा आफूलाई सक्रिय देखाउँदै आएकी छन् भने अहिलेको स्थानीय निकायको चुनावमा पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चुनाव प्रचास प्रसारमा हिंड्ने भएकी छन् । कांग्रेसकै राजनीतिमा नीर शाह, विमलराज क्षेत्री, गणेश सुवेदी, दुर्गा रायमाझी, वीरबल ढकाल, रविन लामिछाने, शिव शंकर रिजाल, लोकराज अधिकारी लगायतका दर्जनौं कलाकारहरु चुनावमा सक्रिय रहेका छन् ।

त्यसैगरी गायक बद्री पंगेनी अहिले एमालेको राजनीतिमा सक्रिय देखिन्छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका पंगेनीले स्थानीय निकायको चुनावमा खुलेरै एमालेको राजनीतिमा साथ दिएका छन् । योभन्दा अघि पनि उनी एमालेभित्रै भए पनि खुलेर कमै देखिने गर्थे । मायाप्रेमसँगै प्रगतिशील गीत गाएर चर्चामा रहेका उनका ‘लाउ चेली सिन्दुर लाउ’ले कुनैबेला युद्धका घाउ लागेकाहरुको मन जित्न सफल भएको थियो । यतिबेला भने बद्रीले मै पनि एमाले गीतबाट चुनावको प्रचार प्रसारमा सक्रिय भएका छन् । त्यस्तै दिनेश डीसी, अशोक राई, दुर्गा परियार, सूर्य थुलुङ, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, मनोज गजुरेल, भुवन केसी लगायत दर्जनौं कलाकार एमालेनिकट रहेर कलाकारितामा सक्रिय रहेका छन् ।

त्यसैगरी नेकपा माओवादी फुटसँगै कलाकार पनि भिन्न भिन्न भएका छन् । अहिले माओवादीभित्र खुशीराम पाख्रिन, जेबी टुहुरे, मौसमी मल्ल, सिर्जना बस्नेत, राजेन्द्र खड्गी, युवराज लामा, सुभाष गजुरेल, चेतन सापकोटा, रामचन्द्र काफ्ले, जुनु रिजाललगायतका दर्जनौं कलाकार माओवादीभित्र सक्रिय छन् ।
त्यसैगरी करिश्मा मानन्धर, सरोज खनाल, प्रकाश भट्ट, अशोक शर्मा केही कलाकार नयाँ शक्तितिर केन्द्रीत रहेका छन् भने राप्रपामा कोमल वली, रेखा थापा, प्रदीप कुमार उदय, ज्ञान् राणा, सञ्जय श्रेष्ठ लगायतका कलाकारहरु सक्रिय रहेका छन् ।

केही कलाकारहरु भने अहिले आफूलाई कताको हो भन्ने देखाउन चाहेका छैनन् । संगीतकार लक्ष्मण शेष माओवादी निकट हुन् । उनी बाबुरामका निकट भनेर धेरैले भनिरहँदा नयाँ शक्तिको सांस्कृतिक विभागमा सहसंयोजक पनि भनेर राखिएको देखिए पनि अहिले विचार र सिद्धान्त अनुरुप पार्टी भन्दा पनि संगीतकारको हकहितका लागि केही गर्नुपर्छ भनेर तटस्थ रहेको बताउँछन् । कम्युनिष्ट विचारधारामा केन्द्रीत रहेका शेष संगीतकार संघभन्दा माथि अहिले कुनै पार्टी छैन भनेर खटिरहेका छन् । त्यस्तै गायक विष्णु खत्री राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष पदमा उम्मेदवार दिँदा माओवादी निकट भनेर चर्चामा थिए तर नेपाल सांस्कृतिक संघको चुनाव हुन लाग्दा आफू जन्मजातै कांग्रेस भनेर उम्मेदवारी दिने सोचमा पुगेका थिए । यसो त धेरै कलाकारहरु कुन राजनीतिक दलको भनेर चिनिन चाहँदैनन् । जुन राजनीतिक दलले पारिश्रमिक दिएर गीत गाउन वा कला प्रस्तुत गर्न बोलाउँछन् आफ्नो प्रस्तुति दिएर फर्कन्छन् ।

स्थानीय निकायको चुनावमा अब कति कलाकारले कुन राजनीतिक दलको आश्वसन पाउने हुन्, पारिश्रमिकको त कुरै छैन ठूलो पदको लोभ देखाएर चुनावी माहौल तताउन कलाकारको प्रयोग र सदुपयोग पक्कै हुन्छ । चुनाव जितेपछि उनीहरुलाई राजनीतिक दलले कुन स्थान दिएर सम्मान गर्छ या अपमान ? कलाकार राष्ट्रका गहना हुन् भन्ने की विभूति हुन् ? गहना श्रृंगारका लागि लगाइन्छ तर कलाकार श्रृंगारिक भए पनि आवश्यक पर्दा लगाउने र आवश्यक नपर्दा फुकालेर राख्ने काम राजनीतिक दलबाट नहोस् । त्यस्तै कलाकारिताभित्र देखिएको समस्याको समाधान, गीतसंगीतभित्र सेन्सर बोर्ड, सम्मान भत्ता, रोयल्टी र कर असुलीसमेतको काम राजनीतिक दलबाट चुनिएका नेतृत्वले गर्न सकुन् । अधिकार सम्पन्न स्थानीय निकायबाटै कलाकारको अस्तित्व बचाउन लागि परुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु