के लोकदोहोरीमा सेन्सर चाहिएकै हो ?

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७१, आईतवार

शिव सुवेदी
कोठामा बसरे दिदीहरुसँग लोकदोहोरीको कार्यक्रम हेरिरहेको थिएँ, त्यसैबेला कुनै एउटा गीत बज्यो टिभीमा । त्यसको भिडियो पनि अलि फरक नै थियो, त्यो भिडियो हेर्दा दिदीले अली अप्ठ्यारो मान्नुभएछ । म्यूजिक भिडियो हेर्दाहेर्दै दिदी कोठाबाट निस्कनु भयो । मेरो दिमागमा कुराहरु खेल्न थालिहाले र एउटा विषय पनि बनाएँ ‘के लोकदोहोरीमा सेन्सर चाहिएकै हो त ?
लोकले गाउने गीत वा भनौं लोकको गीत – लोकगीत यही लोकको गीतलाई सवाल जवाफमा गाउन थालियो भने दोहोरी गीत लोकलयमा आधारित सवाल जवाफ समेत भेटिने गीत लोकदोहोरी सामान्य अर्थमा बुझ्नु पर्दा लोकदोहोरीको परिभााषा यो नै हो । तर परिभाषाले नै मलाई चिन्तित बनायो । लोकको गीत उकाली, ओराली, भन्ज्याङ, चौतारी, छरछिमेक गाउँवस्तीमा मेलापर्वका साथै प्राय सबै कार्यक्रममा घन्किने र बाबाआमा दाजुदिदी छोराछोरी सबै एउटै ठाउँमा बसेर हेर्न मिल्ने गीत वा भनौं सुन्न मिल्ने गीत हुनुपर्ने हो लोकदोहोरी । तर आज मैले दिदीसँग सँगै बसेर लोकदोहोरी गीतको भिडियो हेर्न डर मान्नुपर्ने अवस्था आएको छ । कतै अली नपच्ने गीत पो आइहाल्छ की भनेर । कतिपय गीतका शब्दहरु सुन्दा पनि अप्ठ्यारो लाग्छ । हो, म स्वीकार्छु मायाप्रितिमा संसार अडेको हुनाले मायाप्रितिका गीतहरु आउँदा केही रमाइला शब्दहरु बुनिनु आवश्यक पनि छ र बुन्नु पनि पर्छ तर समाजले वा लोकले नै पचाउन नसक्ने शब्द वा दृश्यहरु राखियो वा देखाइयो भने त्यसलाई लोकदोहोरी भनिरहन मिल्ला की नमिल्ला यो सबै पाठकलाई मेरो प्रश्न नै रह्यो ।
हुन त समाज पनि परिवर्तनशील छ, हिजोभन्दा आज र आजभन्दा भोलि हामीलाई पश्चिमको संस्कृति र चालचलनले थिचिरहेको छ । हुन सक्छ भोलि अझ फराकिलो बन्दै गयो समाज भने मैले यी लेखेका दुई शब्दको पनि कुनै अर्थ नहोला तर आजका दिनसम्म आइपुग्दा केही शब्द लेख्नै पर्ने देखियो र लेखेको छु ।

shanker parwati
आज संगीतको बजार छैन भनेर मैले पटकपटक लेखिरहँदा यो पनि थप्नुपर्ने हुन्छ । बजार विश्वव्यापीकरण हुँदैछ । नेपाली गीतसंगीत विश्वमा रहेका हरेक नेपालीले सुन्न र हेर्न थाल्नुभएको छ । कतिपय नेपाली गीतहरुले खाडी मुलुकहरुबाट राम्रै आम्दानी गरिरहेको अवस्था छ । यो हाम्रो लागि राम्रो समाचार हो । र आज पछिल्लो समयमा नेपाली गीतसंगीतको आशलाग्दो बजार बनेको छ, यूट्यूब । यूट्यूबमा भिडियो अपलोड गरेर व्यवसाय गर्ने परिपाटी बस्न थालेको छ । यो नेपाली गीतसंगीतमा यात्रा गर्ने सबैको लागि नयाँ गोरेटो बन्न सक्छ । यूट्यूबका धेरै राम्रा विशेषता सँगै एकादुई नराम्रा पक्ष पनि छन् । एउटै भिडियोलाई फरक फरक तरिकाले अपलोड गर्दा त्यसलाई हेर्ने दर्शकको संख्यामा आकाश जमिनको फरक आउने, यसले गर्दा कतै हामी गीतकार, संगीतकार अझ कम्पनी र निर्देशकलाई गलतबाटोमा त लैजान्न् । आज यूट्यूबलाई व्यापारको बजार बनाउँदै जाँदा हाम्रा रुची पनि बढ्न सक्दछ । अनि हामी भिडियो बनाउने बेलामा नै यूट्यूबको लागि फरक दृश्य खिच्नुपर्ने दिन आउने त हैन ?
मैले यी सबै कुरा भनिरहनुको एउटै मात्र कारण हामीलाई सेन्सर चाहिएको छ की छैन भन्ने नै हो । हामी छाडा गीतसंगीत भनेर कहिलेसम्म भनिरहने र कहिलेसम्म डराइरहने परिवारसँग बसेर लोकदोहोरी गीत सुन्न र म्यूजिक भिडियो हेर्नलाई ।
त्यसैले हाम्रो लागि एउटा मापदण्ड लोकिनु नै पर्छ । समाजमा नकारात्मक सन्देश दिने वा समाजमा नपच्ने गीत, भिडियो, सार्वजनिक मिडिया वा संचार माध्यममा पठाउन रोक्ने दिन पनि त आउनुप¥यो नि ! एउटा सरकार बसालौं हामी पद्धतिमा आउन गाह्रो हो आइसकेपछि अहिले भन्दा सयौं गुणा राम्रो हुनेछ नेपाली गीतसंगीत । हुन त चलचित्रमा सेन्सर बोर्ड भइरहँदा पनि एटीएम फिल्मलाई सेन्सर पास गरेर प्रदर्शन हुन लागेपछि नागरिकको विरोधले केही दृश्य काटिएर प्रदर्शन भएको तितो इतिहास पनि हामीमाझ छ तर एका दुई यस्ता घटनालाई हेरेर सेन्सर गर्ने नियम नै गलत भन्न त नमिल्ला की !
लेख्दै गर्दा अग्रज गीतकार तथा लोकदोहोरी प्रतिष्ठानका महासचिव रमेब बिजीको कुनै दिनको भावना पनि सम्झिन पुगेँ । नेपाली लोकदोहोरीमा पनि सेन्सर आवश्यक छ, समाजलाई नराम्रो असर गर्ने खालका गीतहरु सार्वजनिक माध्यममा बजाउन वा प्रदर्शन गर्न हुँदैन भन्ने रमेश बिजी दाइको भनाइ वास्तविक रहेछ, मैले आज बुझ्दैछु । भिडियोको कुरा गरिरहँदा भिडियो निर्देशन गर्ने मान्छे वा निर्देशकको पनि विचार बुझ्न मन लाग्यो । नेपाली लोकदोहोरी अनि फिल्म दुवै क्षेत्रमा उत्तिकै सफल नायक, निर्देशक शंकर बिसीलाई सोधें । उहाँको भनाइ पनि जतिसक्दो चाँडो नेपाली लोकदोहोरीमा सेन्सर आउनुपर्छ । कतिपय साथीभाइले नजाने जस्ते गरेर नेपाली समाजमा नपच्ने दृश्यहरुको भिडियो बनाउनु भएको छ, यो गलत छ ।
वास्तवमा नेपाली लोकदोहोरीमा सेन्सर आवश्यक हुन अति आवश्यक देखेँ मैले ! यदि सेन्सरको दुरुपयोग नहुने हो भने भोलिको नेपाली सांगीतिक क्षेत्र सुनौलो हुनेछ । एउटा पद्धति बस्नेछ मनोरञ्जनका साथमा केही सन्देश पनि समाजलाई दिन सक्छौं । अब यसबारेमा सबैले एकपटक सोच्ने की ?
फिल्मीखबर साप्ताहिकबाट

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु