कोहिनूर प्रदर्शनका लागि श्वेता मलेसिया जाँदै

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०७१, आईतवार

काठमाडौं । नेपालमा ब्लक बस्टर चलचित्रका रुपमा प्रदर्शन भएको चलचित्र कोहिनूरलाई मलेसियाको शहरमा प्रदर्शन गर्नका लागि चलचित्रकी नायिका श्वेता खड्का मलेसिया जाने भएकी छिन् । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्रका रुपमा रहेको चलचित्र कोहिनूरले नेपालमा जसरी करोडौंको व्यापार गर्न सफल भएको थियो त्यसैगरी मलेसियाका विभिन्न शहरमा पनि नेपालीहरुको अपार मायाका साथ सफल प्रदर्शन गर्ने आशा गरिएको छ । चलचित्र कोहिनूरलाई मलेसियामा पहिलो चोटी डिसीपी फम्र्याटमा प्रदर्शन गर्न लागिएको छ । मलेसियाको जोहारबारु क्षेत्रमा १५०० भन्दा माथि टिकट बिक्री भइसकेको आयोजक संस्था एनएमसी यूनिभर्सलका अध्यक्ष नितुप ग्याल्जेन लामाले म्यूजिक खबरलाई जानकारी दिए । त्यस्तै क्वलालम्पुरस्थित केएलसीसी टावरमा रहेको टीजीभी हलको विहानी शोको टिकट बिक्री भइसकेको र बेलुकी शोका लागि मात्र केही सिट बाँकी रहेको लामाले बताए । केएलसीसीमा फेब्रुअरी १५ तारिखमा कोहिनूर प्रदर्शन हुँदैछ ।
आगामी चाइनिज नयाँ वर्षको अवसर पारेर चलचित्र कोहिनूरलाई प्रदर्शन गरिन लागिएको हो । यसभन्दा पहिला पनि चलचित्र कहाँ भेटिएलाको सफल प्रदर्शन गरेको यो टोलीले त्यतिबेलै आगामी बन्ने चलचित्र पनि मलेसियामा प्रदर्शन गरिदिने बाचा गरेका कारण कोहिनूरलाई प्रदर्शन गर्न लागेको नेपाल ट्रेडिङका जयराम तिमिल्सिनाले म्यूजिक खबरलाई बताए । तिमिल्सिनाले भने – ‘अब चलचित्र कोहिनूरलाई सफलतापूर्वक प्रदर्शन गर्नका लागि स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी एवं चलचित्रकै अभिनेत्रीसमेत रहेकी श्वेता खड्का मलेसिया आउन लाग्नुभएको छ, चलचित्रले पक्कै पनि सफलता हासिल गर्छ भन्नेमा हामी विश्वस्त छौं ।’

kohinoor
नेपालमा ब्लकबस्टर भएको ‘कोहिनूर’ले बिदेशी मार्केटमा समेत राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । आकाश अधिकारी निर्देशित यो चलचित्रमा श्रीकृष्णको साथमा श्वेता खड्का मुख्य भूमिका छ । शंकर श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, शम्भू श्रेष्ठ र श्वेता खड्काको संयुक्त निर्माणमा तयार भएको कोहिनूर एउटा नेपाली चेलीलाई भारतमा बेचिएपछिका विभिन्न घटना परिघटनाहरुलाई पर्दामा उतारिएको छ ।
कोहिनूर प्रदर्शन अभियानलाई आइपी धनकुटे एसडीएन बीएचडी, दर्शन नमस्ते रेष्टुरेन्ट, द गोर्खा रेष्टुरेन्ट, पर्वत कास्की रेष्टुरेन्ट, आरके स्टोर एसडीएन बीएचडी, मालिङ्गो रेष्टुरेन्ट, ग्रीनल्याण्ड रेष्टुरेन्टलगायतले सहकार्य गरेका छन् ।
त्यसपछि १९ फेब्रुअरीदेखि २२ सम्म क्वालालम्पुरको केएलसीसी ट्विन टावरमा रहेको टीजीभी सिनेमा हल, जोहोरबारुको क्याथे सिनेप्लेक्स सिटी स्क्वायर, बातुपहात जोहोरको ल्याण्डमार्क होटल, कलाङको सेन्टरप्वाइन्टमा रहेको लोटस फाइभ स्टार, सुवाङजयास्थित जीएससी सिनेमा हलमा कोहिनूरको प्रदर्शन गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु