खेलाडीबाट मोडलिङसम्म जीवनका संघर्ष

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०७२, सोमबार

जीवन सेन्चुरी एउटा कुशल खेलाडी, कुशल सम्पादक, कुशल निर्देशक एवं मोडल पनि । नाग्लीवाङ–६ पर्वतको सामान्य परिवारमा जन्मिएर सानैदेखि तेक्वान्दोल खेलमा सक्रिय हुँदै आएका जीवनले आफ्नो जीवन खेलमै समर्पित गर्ने सोच लिएका थिए । पढाइमा सामान्य तर निरन्तर पास हुँदै स्कुलमा राम्रो छाप छोड्दै आएका उनी दलित परिवारबाट गाउँमा पढ्ने विद्यार्थीमध्येको उत्कृष्ट विद्यार्थी पनि हुन् । समाजमा आफूले सिकेको कुरा लागू गरेर समाज परिवर्तन गर्ने सोच बोकेका जीवनले पढाइसँगै तेक्वान्दो खेललाई पनि सँगै लिएर हिंडे ।

तेक्वान्दो थ्री डानसम्मको अनुभव बटुलिसकेका जीवनले खेलमा १३ वर्ष बिताए । निरन्तर ०५६ सम्म खेल खेल्दै गाउँको इज्जत, स्कुलको इज्जत राख्दै आएका जीवनले १३ वर्षे खेल जीवनमा धेरै पुरस्कार प्राप्त गरे । राष्ट्रियस्तरमा दोस्रो स्थान सम्मका पदक जित्न सफल भइसकेका उनले इन्टरनेशनल खेलमा भने आर्थिक समस्या परेर जान नपाएको दुखेसो पोखे । बुबाआमाको सोच नाम चलोस् भन्ने थियो उहाँहरुकै सहयोगले खेल खेल्दै आएँ तर मैले अन्तर्राष्ट्रियस्तरको खेल खेल्ने सपना अधुरै रह्यो, जीवनले भने । गेममा नै हिरो बन्ने सोच हो तर आर्थिकको कारणले त्यो सोच पनि पूरा भएन भने बाबु आमाले गरको लगानी उठाउन पनि सकेको छैन ।

jeevan century music
गेम खेल्दा खेल्दै उनले सोचजतिको उचाइमा पुग्न नसक्ने देखे, उनलाई खेल खेल्नु ठूलो थिएन तर खेल खेल्नका लागि हुने लगानी ठूलो थियो । गाउँका मिलनसार, स्कुलको इमान्दारी विद्यार्थी जो अहिले पनि शिक्षकका आँखामा सम्झिरहने पात्रका रुपमा चिनिन्छन् । तर खेलमा उनले गरेको प्रगतिमा देशविदेशमा गएर नेपालको खेललाई उच्च राख्न आर्थिक अवस्था तगारो बन्यो र त्यसपछि उनी फिल्मको हिरो बन्ने सोचमा काठमाडौं छिरे ।
काठमाडौं छिरेपछि जीवनका संघर्षको दिन सुरु भए । पहिला भन्दा झन् धेरै चुनौति र संघर्ष सुरु भए । जीवन काठमाडौं छिरेपछि जोरपाटी बस्न थाले तर पुतलीसडकको क्लबमा सिक्न आउनुपर्ने बाध्यता बढ्दै गयो । उनी बल्लतल्ल काम गर्न थालेँ तर पैसा मिल्ने काम भने पाउन गाह्रो प¥यो । १४ सय भाडा तिर्नको लागि सधैं समस्या रहिरह्यो । उनी चलचित्र, म्यूजिक भिडियो, भिडियो फिल्म निर्माण टोलीसँग काम गर्न थाले । मोडलिङ गर्ने सोचमा काठमाडौं छिरेका उनले सिधैं मोडलिङ गर्न नपाए पनि अरुले गरेको हेर्दै मन भित्रभित्रै सपनालाई सजाउँदै स्पटमा काम गर्न थाले । उनले स्पटमा काम गर्दा मेकअप म्यान, लाइटम्यान, सम्पादन, चिफ असिस्टेन्टलगायतका प्राविधिकका रुपमा काम गरे । तर जति काम गरे पनि पैसा हात पर्ने छाँटकाँट कहिल्यै देखा परेन । समस्या बल्झिँदै गयो, काम ग¥यो, तलब आउने आशमै भोकभोकै दौडनुपर्ने अवस्था रहिरह्यो । हिरो बन्ने रहरमा उनका दिनचर्या पीडादायी बन्दै गयो ।
गीतसंगीतमा २०६१ बाट उनको यात्रा सुरु भयो । उनी जति काम गरे पनि एकचोटी मोडलिङ गरेर बजारमा चर्चा कमाउन चाहन्थे । खेल खेल्दाको अवस्थामा बनेको शरीरलाई म्यूजिक भिडियोमा नै भए पनि एकचोटी हिरो बनेर देखाउन चाहन्थे । मनभरि इच्छा र आकांक्षा बोकेर दिनभर सुटिङ युनिटसँग उनी दौडिरहन्थे । काठमाडौं प्रवेशपछि टेक्निसियनका नाममा सुरु भएको संघर्षमा धेरैबाट उनले धोका पाए । धेरै उनको पारिश्रमिकमाथि धाव बोले, ठगी गरे तर उनले हारेनन् । कसैको सहारा नपाएर एक्लो संघर्षमा दिन बिताउँदै आएका जीवनले ९ वर्ष गीतसंगीतकै क्षेत्रमा टेक्निसियनको रुपमा बिताए । त्यो बीचमा उनले कहिल्यै नबिर्सने क्षण छ, चलचित्र यू एण्ड मीमा काम गर्दा करेन्ट लाग्यो । घरबाट अब यो काम छोड्दिनु कति दुःख गर्ने, खानका लागि पनि पैसा नपाउने काम नगर्नु भन्दा पनि काम छाडिन तर करेन्ट लाग्यो, त्यहाँ मलाई बचाउनुको सट्टा सबै भागे, विरामी परें तर उपचार खर्च पनि पाइएन, उनले अतित सम्झिँदै भने । विगतका ती दुःखले अहिले मलाई सफलताको बाटोमा लगेको छ, हिजोको दुःखभित्र मैले सफलताको सपना बोकिरहेको थिएँ आज त्यो हात पारेको छु, जीवनले भने ।

jeevan century

टेक्निसियन बन्दाबन्दै सबै अनुभव बटुलेका जीवनले अन्ततः हिरो बन्ने सपना छोडेर सहायक निर्देशक हुँदै निर्देशनमा हात हाले । उनले स्वरुपराज आचार्यको स्वरमा रहेको आधुनिक गीतको म्यूजिक भिडियोमा उनको निर्देशकीय क्षमता देखियो । अब उनको परिचय निर्देशकको त बन्यो तर पनि चाप्लुसी गरेर काम गर्ने उनको शैली नभएको हुँदा भनेजस्तो काम हात पर्न सकेन । त्यसपछि उनले फेसबुकमा झुठो बोल्ने चलन रहेछ भन्ने लोकदोहोरी निर्देशन गरे । बरु त्यसले उनको निर्देशकीय क्षमतालाई उचाइ दियो । नयाँ भएपछि गाह्रो हुँदो रहेछ भन्ने महसुस गर्दै ११ वर्ष गीतसंगीतकै क्षेत्रमा कहिले निर्देशक, कहिले सम्पादक त कहिले टेक्निसियनका रुपमा बिताएका जीवनले अन्ततः तिजको रमझमबाट सम्पादकको रुपमा चिनायो । उनले सम्पादन गरेको यस गीतबाट तीज म्यूजिक अवार्ड २०७२ मा सम्पादकको अवार्ड चुम्न सफल भए । त्यसपछि उनको चर्चाको बाटो पनि खुल्न थाल्यो ।
जीवनको जीवनमा धेरै मोडहरु आए । सुखदुःखको आरोह अवरोहले उनको जीवनमा धेरै पाठ सिकायो । उनले एकपछि अर्को काम प्राप्त गर्दै गए । अहिले शिवदर्शन फिल्मस्को निर्माणमा बनेको गायत्री थापाको गीत मायाले पागल बनायो गीतको म्यूजिक भिडियो निर्देशन र सम्पादन गरेका छन् । जुन बजारमा आउने क्रममा छ । आफ्नै निर्देशन र सम्पादनमा रहेको दसैंको गीतमा उनले अभिनय गरेका छन् । उनको जीवनमा मोडलिङ गर्ने सपना दसैंको गीत शुभ शुभ होस्ले पूरा गरिदिएको छ । जुन गीतमा जीवनले झरना थापासँग अभिय गरेका छन् । उनी भन्छन्ः जीवनको अनन्त यात्रासम्म मेरो मेहनत, कलाकारिता, क्षमतासँगै संघर्ष जारी रहनेछ । मैले बल्ल आफूलाई सफलताको पहिलो खुड्किलोमा पु¥याएको छु अझै धेरै पाठ सिक्न बाँकी छ, जिन्दगीलाई अझै बुझ्न बाँकी छ । मेहनतको फल मिठो हुन्छ भन्ने कुरा सिकेको छु, जीवनले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु