गीतकार थापालाई ‘राष्ट्रिय स्रष्टा सम्मान’, खड्का र राईलाई ‘वर्ष गीत पुरस्कार’

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७४, मंगलवार

१३ भाद्र २०७४, काठमाडौँ । गीतकार संघ नेपालले यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान गीतकार राजेन्द्र थापालाई प्रदान गरेको छ । कार्यक्रममा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले रु एक लाख १००, सम्मानपत्र र दोसल्लाद्वारा थापालाई सम्मान गर्दै अर्काे जुन पेशा अपनाए पनि कोही गीतकार र संगीतकार हुन सक्ने बताए । उनले अब मुलुकलाई संगीतमय बनाएर अगाडि लैजानुपर्ने विचार पनि व्यक्त गरे ।

सम्मानित व्यक्ति थापाले शब्द, संगीत र स्वर मिले मात्र गीतमा मिठास आउने बताए । थापाले आठ वर्षको उमेरदेखि गीत लेख्दै आएको र युवापुस्तासँगको संगतले अझ गीतमा नयाँपन दिने प्रयास गरेको बताएका थिए । संस्थाका अध्यक्ष चूडामणि देवकोटाले नेपालको गीत संगीतको क्षेत्रको विकासका लागि २०६७ सालमा गीतकार संघ स्थापना गरिएको जानकारी दिँदै त्यसको निरन्तरतामा आफ्ना सदस्यहरुका लागि सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार’ गीतकारद्वय नृपध्वज खड्का र सुवास संगम राईलाई प्रदान गरिएको छ । गत वर्षहरुमा ५१ हजार प्रदान गरिँदै आइएको पुरस्कार राशि यस वर्ष भने दुईजनालाई प्रदान गरिएको थियो । उनीहरुलाई जनही रु २५ हजार ५०० र सम्मानपत्र प्रदान गरिएको थियो । एक जनालाई प्रदान गरिने रु ५१ हजार राशिको उक्त पुरस्कार छनोट समितिले दुई जनाको नाम छनोट गरेपछि बाँडिएको हो । निर्णायकहरुले दुई जनाको गीत उत्कृष्ट भएको र दुवै जना यसको भागिदार भएका कारण छुट्याउन नमिलेको बताएका थिए । तर कार्यक्रममा सुवास संगम राईको मात्र प्रमाणपत्र चेक बनेर आएको थियो भने नृपध्वज खड्काको नाममा केही पनि बनेको थिएन । निर्णायकका अनुसार साउन ३० गते नै निर्णय बुझाएको भए पनि संघको विवाद या एकलौटी निर्णय गर्न खोज्दा सम्मानपत्र बन्न नसकेको हो की भन्ने धेरैले निर्णयप्रति शंका गरेका थिए । उत्कृष्ट १० को सूचि तयार पार्दादेखि नै मनोमानी ढंगले प्रस्तुत हुँदै आएको आरोप लागिरहेको बेला यसरी एउटाको सर्टिफिकेट बन्नु र अर्कोको नबन्नु आफैंमा शंकास्पद भएको प्रष्ट हुन्छ ।

यस्तै ‘प्रवास–डायस्पोरा स्रष्टा पुरस्कार’ गीतकार जानुका राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु ११ हजार र प्रमाणपत्र छ । छनोट समितिमा गीतकार रमेश पौडेल र भावेश भुमरी रहेका थिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु