चलचित्र पत्रकार संघका बिभिन्न निर्णय

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७१, मंगलवार

चलचित्र पत्रकार संघ केन्द्रीय कार्यसमितिको गत शुक्रबारका दिन अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले संघका कार्यसमिति सदस्य किरण खनाललाई साधारण सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको छ । संघको कार्यसमितिको औपचारिक बैठकमा तीन पटक भन्दा बढी लगातार रुपमा अनुपस्थित रहि विना कुनै जानकारी संयुक्त राज्य अमेरिका गएको खुल्न आएपछि उनले चलचित्र पत्रकार संघको अनुशासन उल्लंघन गरेको ठहर गरेको छ । साथै खनालले नेपालमा रहेरै आफ्नो राजीनामा पेश गर्न सक्ने अवस्था हुँदाहुँदै उक्त कार्य नगरी संघको इमेल र सामाजिक सञ्जालमार्फत संघले सोधखोज गरेपछि मात्र सार्वजनिक रुपमा पेश गरेको राजीनामाले थप अनुशासन उल्लंघन गरेको ठहर गर्दै उनलाई संघको कार्यसमिति लगायत साधारण सदस्यसमेत नरहने गरी निश्कासन गर्ने निर्णय गरेको छ ।
यस्तै संघले २०७१ सालका लागि नविकरण गर्ने कार्य धमाधम भइरहेको र नयाँ सदस्यता लिनका लागि आवदेन दिएका पत्रकारहरुको आवेदन उपर छानविन गर्दै उनीहरु संघको सदस्य हुनका लागि उपयुक्त देखिएकाले पत्रकारहरु दयाराम घिमिरे, श्यामसुन्दर गिरी, राम थापा, गणेशप्रसाद विमली(दीप), राजाराम फुँयाल, महेश लिम्बु र महेश्वरमान सिंहलाई संघको साधारण सदस्य दिने निर्णय गरेको छ ।
यसैगरी हेटौडामा गर्न लागिएको चलचित्र पत्रकार संघको कार्यशाला गोष्ठीमा सहभागी हुन चाहने इच्छुक सदस्यहरुले भाद्र २१ गतेसम्ममा सहभागिता शुल्क बुझाउनका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै उक्त कार्यशाला गोष्ठीका लागि स्थानीय संयोजन गर्ने जिम्मा चलचित्र पत्रकार संघ मकवानपुरलाई दिनुका साथै स्थानीय संयोजकका रुपमा कार्य गर्न हेटौंडा शाखाका सचिव मणिराज गौतमलाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यस्तै संघका अध्यक्ष शान्तिप्रियले कार्यसमितिको सुझाव र छैटौं अधिवेशनमा प्राप्त मत संख्याका आधारमा २६ मत प्राप्त गरि छैटौं स्थानमा रहेका चलचित्र पत्रकार संघका सदस्य प्रदिप कार्कीलाई चलचित्र पत्रकार संघको कार्यसमितिको सदस्यमा मनोनित गर्ने निर्णय गरिएको कुरा संघका महासचिव सन्दीप सापकोटाद्धारा प्रेसीत बिज्ञप्तीमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु