दयाहाङ र नम्रतालाई राष्ट्रिय चलचित्र पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७३, शुक्रबार

नेपाल चलचित्र बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’द्वारा गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट भएका चलचित्रकर्मीलाई सम्मान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजकुमार राईले पुरस्कारसहित उहाँहरुलाई सम्मान गर्नुभयो । चलचित्र ‘कबड्डी–कबड्डी’बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको पुरस्कार जित्दै उपाधिको रक्षा गरे । राईको यो उत्कृष्ट अभिनेताका लागि लगातार तेस्रो पुरस्कार हो । त्यस्तै उत्कृष्ट अभिनेत्रीको पुरस्कार नम्रता श्रेष्ठले चलचित्र ‘क्लासिक’बाट हात पारिन् । त्यसैगरी उत्कृष्ट चलचित्र पुरस्कार ‘पशुपतिप्रसाद’ ले जित्दा त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक चुनिए ।

13533289_1094859227255355_5576373813048597276_n

 

उत्कृष्ट नवनिर्देशकमा अभिनेता समेत रहेका भुवन केसीले चलचित्र ‘ड्रिम्स’बाट जिते । साथै उत्कृष्ट लेखन (कथा, पटकथा तथा संवाद)तर्फ ‘पशुपतिप्रसाद’बाट अभिनेता समेत रहनुभएका खगेन्द्र लामिछाने, छायाङ्कनमा ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र सञ्जय लामा तथा सम्पादनमा ‘क्लासिक’बाट सुरेन्द्र पौडेल पुरस्कृत भए । त्यस्तै ‘उत्कृष्ट आदिवासी–जनजाति चलचित्र’बाट गुरुङ भाषाको चलचित्र ‘युम्पो देउराली’ पुरस्कृत भयो । उक्त पुरस्कार आदिवासी–जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत सुनुवारलाई प्रदान गरियो । त्यस्तै ‘चलचित्र दीर्घसाधना सम्मान’बाट वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई रु तीन लाख ५१ हजार १११ सहित सम्मान गरियो । पुरस्कृत चलचित्रका विभिन्न विधा गत वर्ष प्रदर्शनमा आएका ५३ चलचित्रमध्येबाट उत्कृष्ट ठहरिएका हुन् ।

Untitled-1 copy

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु