देउसी भैलोमा मौलिकता हराउँदै, विकृति थपिँदै

म्यूजिक खबर
प्रकाशित: ७ कार्तिक २०७१, शुक्रबार

राधिका अधिकारी/म्याग्दी, ७ कार्तिक
तिहार पर्वको अवसरमा खेलिने देउसीभैलोको मौलीकता हराउँदै गएको छ । देउसीभैलो खेलेर तिहारमा रमाईलो गर्ने चलन पछिल्लो समय मनोरञ्जनमा मात्र सिमीत भएको छैन् सामाजिक कामका लागि आर्थिक स्रोत संकलनको माध्यम बनेको छ भने सांस्कृतिक अतिक्रमणका कारण मौलिकता हराउँदै गएको हो । धार्मिक ग्रन्थहरुका अनुसार भगवान विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको थियो । साथीभाई जम्मा भएर दुख, दुखका भावना व्यक्त गर्ने, एकता र सद्भावको वातावरण सृजना एवं मनोरञ्जन प्रदान गर्नु देउसीभैलोको सांस्कृतिक एवं सामाजिक बिशेषता रहेको छ ।

समाज परिवर्तन र प्रविधिको विकास संगै तिहारमा खेलिने देउसीभैलोमा गाईने गित, देखाइने नृत्यमा पनि त्यसको प्रभाव बढ्दै गएको छ । रेकर्ड गरिएका गीत र पाश्चात्य संस्कृति पनि देउसीभैलोमा समावेश हुन थालेपछि मौलिकता, सृजनशीलता र सांस्कृतिक पक्ष ओझेलमा परेको बेनीबजारका बिष्णुप्रसाद गौतमले बताए । समूह बनाई घरघर पुगेर भट्याएर गित र नृत्यको माध्यमबाट तिहारको महत्व दर्शाई खुसी बनाएर घरपेटीबाट स्वच्छिक रुपमा धान, चामल, फुलमाला, पैसा र सेलरोटी दान लिने परम्परा रहेपनि पछिल्लो समय देउसीभैलो खेल्ने उद्देश्य र लक्ष्य पनि फेरीएको छ ।

संस्कृति र परम्पराको संरक्षण संगसंगै विद्यालय, उच्च मावि सञ्चालन गर्न, सडक, खानेपानी, भवन बनाउने जस्ता विकास योजना र सामाजिक कार्यका लागि आयस्रोत जुटाउन पनि देउसीभैलोलाई माध्यम बनाउन थालिएको म्याग्दी घतानका गंगाबहादुर बानियाँले बताए । देउसीभैलो मार्फत संस्कृति संरक्षण, प्रतिभाको प्रस्फुटन र मनोरञ्जनसंगै विकास एवं सामाजिक काम हुनुलाई सकारात्मक पक्ष मानिए पनि जवरजस्ती पैसा उठाउँदा सहरी क्षेत्रका ब्यापारीहरु मर्कामा पर्नुका साथै उत्तेजक गीत नृत्य प्रस्तुत गर्ने, मदिरा सेवन गर्ने जस्ता विकृतिजन्य गतिविधि पनि देखिन थालेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको म्याग्दी उद्योग वाणिज्य संघका सदस्य रामकृष्ण बराईलीको भनाई छ ।

बिशेष गरेर युवायुवतीहरु विकृतिमा फस्ने र मौलिक संस्कृति माथि अतिक्रमण बढेको जनगुनासो बढेपनि युवा कल्व अथवा विभिन्न समूहका नाममा देउसीभैलो खेलेकाहरु भने सामाजिक हित र मनोरञ्जनका लागि परम्परागत चलन अनुशरण गरेको भन्दै आरोपको खण्डन गर्छन् ।
मनोरञ्जनका साथै कल्वको आयस्रोत जुटाएर सामाजिक काम गर्ने उद्देश्यले तिहारको अवसरमा देउसीभैलो खेलको बताउँदै कालीपुल युवा कल्वका अध्यक्ष सन्तोष पुनले विकृति र दानको दरुपयोग नियन्त्रणका लागि सबै सचेत बन्नुपर्ने प्रतिक्रिया दिए । प्रविधिको प्रयोग र समयको माग अनुसार आधुनिकताको उपयोगसंगै मौलिकतामा स्खलन आउन नदिने हो नेपाली चाडवाडको सांस्कृतिक, ऐतिहासिक महत्व जीवन्त भइराख्ने तथा त्यसबाट समाजिक हित हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु