नेपालमा हिन्दी सिनेमा प्रदर्शनमा रोक

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७२, आईतवार

काठमाडौं । नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले गर्दै आएको अघोषित नाकाबन्दी गरेपछि नेपालमा पनि हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाइने भएको छ । भारतको हस्तक्षेपविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सोमबारबाट नेपालमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । साथै चन्दको पार्टीले भारतीय टेलिभिजन च्यानलहरुलाई समेत नेपाली केवलहरुमा वितरण गर्न रोक लगाउने निर्णय गरेको जनाएको छ । नेपालको जटिल परिस्थितिको फाइदा उठाउँदै भारतले निहीत स्वार्थ पूरा गर्नका लागि नाकाबन्दी जस्तो गलत कदमको सहारा लिएको भन्दै माओवादीले त्यसको प्रतिरोधस्वरुप भारतीय गतिविधि हुने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरेको छ ।

welcome-back-movie-poster-newsx

साथै, भारतीय नम्बर प्लेटका गाडीहरु पनि नेपालमा चल्न नदिने भएको छ । माओबादीले आइतवार अपरान्ह लैनचौरस्थित भारतीय दुतावास अगाडि प्रदर्शन समेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भारतीय हस्तक्षेपविरुद्ध सशक्त प्रतिकार गरिने वताएका छन् । माओवादीले नेपालमा उत्पादित सामानहरुको उपयोगका लागि आममानिसलाई सचेत गराउने, कालोबजारी गर्नेलाई कारबाही गर्ने तथा भारतीय हस्तक्षेपविरुद्धका कार्यक्रमहरु गर्ने जनाएको छ । हाल काठमाडौं लगायतका केही हलहरुमा हिन्दी चलचित्रहरु कट्टीबट्टी,किसकिसको प्यार गरुँ,क्यालेन्डर गर्लस् र वेलकम व्याक प्रदर्शन भैरहेका छन् । यी सबै चलचित्र रोक्नका लागि हल संचालक र चलचित्र प्रदर्शकहरुलाई आग्रह गरेको छ । यदि नरोकिएमा कडा कदम चालिने माओवादीले बताएका छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु