प्रधानमन्त्री निवासबाट फूलैफूलको मौसम तिमीलाई

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७२, सोमबार

राजनीतिक दलको वार्ता हुने गरेको प्रधानमन्त्री निवासमा अब भने चलचित्रको अडियो, भिडियो, पोस्टर जस्ता प्रचार सामग्री पनि सार्वजनिक हुन थाल्यो । सोमबार तीन दलीय वार्ता सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेश डिसीले निर्देशन गरेको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को सांगीतिक सामग्री सार्वजनिक गरे । अडियो लन्च गरिसकेपछि प्रधानमन्त्री ओलीले चलचित्र पनि हेर्ने इच्छा व्यक्त गरे । कार्यक्रममा एक घन्टाजति बसेका प्रधानमन्त्री ओलीले केही समयदेखि दोलखामा फिल्म सिटी बनाउने चर्चा चलिरहेको कुरालाई कोट्याउँदै गोरखा वा लमजुङतिर फिल्मसिटी बनाउनु उपयुक्त हुने बताए ।

फिल्मका निर्देशक दिनेश डिसीले फिल्मका तर्फबाट साढे ७ लाख रुपैयाँ धादिङका तुइनको ठाउँमा झोलुङ्गे पुल बनाउन सहयोग गर्ने घोषणा गरे । ‘फिल्मले जति नाफा कमाउँछ त्यो सबै पुल बनाउन दिइनेछ, नाफा गरेन भने पनि साढे ७ लाख फिल्म युनिटले दिन्छ,’ डिसीले कार्यक्रममा भने । ओली सरकारले देशलाई तुइन मुक्त बनाउने घोषणा गरेको थियो तर निर्देशक डिसी यो अभियानमा सक्रिय भएर लागेको देख्दा प्रधानमन्त्री आफैं अचम्ममा परे ।

28122015023011kp-oli-1000x0
चलचित्र फूलैफूलको मौसम तिमीलाई आगामी फागुन २१ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको छ । नीता ढुंगाना र आमेश भण्डारीको अभिनय रहेको यस चलचित्रलाई दिनेश डिसीले निर्माण एवं निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु