फुलैफूलको मौसम तिमीलाई

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७१, सोमबार

काठमाडौं । अभिनेता, निर्देशक हुँदै नेपाली चलचित्रको क्षेत्रमा करिब दुई दशकभन्दा बढी सक्रिय रहेका बहुप्रतिभाका धनी दिनेश डिसी अब भने निर्माता बन्ने भएका छन् । फूलैफूलको मौसम तिमीलाई चलचित्रबाट निर्माता बनेर आउन लागेका दिनेश डिसीले आफ्नो करिअरको २१ वर्षपछि आफ्नै लगानीबाट निर्माता बन्न लागेको बताए । आफ्नो सफल अभिनय र सफल निर्देशकीय क्षमता बोकेर चलचित्र उद्योगमा होमिएका निर्देशक दिनेश डिसीले आफ्नै होम प्रोडक्सनमार्फत निर्देशनसँगै निर्माता बन्ने भएका हुन् । राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ बनाउने उद्घोष गरेका हुन् । पशुपतिमा गएर विशेष पूजा गरेर ज्योतिषसँग सल्लाह लिएर चलचित्रको उद्घोष गरेको निर्देशक डिसीले बताए ।
कार्यक्रममा निर्देशक डिसीका पुराना साथी एमाओवादी नेता तथा सभासद टोपबहादुर रायमाझीले कलेजमा डिसीसँग भएका विगतका दिनहरु स्मरण गरे भने सभासद गोकर्ण विष्टले डिसी बहुमुखी प्रतिभाको धनी भएको बताए । त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले डिसीसँगका भेटका दिनहरु स्मरण गर्दै राम्रा कलाकार, राम्रा अभिनेता हुँदै राम्रो निर्देशकका रुपमा पाएको बताए ।
निर्देशक डिसीका अनुसार चलचित्र एक्सन, कमेडीलगायत प्रेमका कुराले भरिपूर्ण हुनेछ । कार्यक्रममा नीता ढुंगाना र नवनायक आवेश भण्डारीले गुलाबको फूल साटासाट गरेका थिए । आगामी असोज १ गतेबाट छायाँकनमा जान लागेको चलचित्रमा सुरेश अधिकारीले संगीत दिने भएका छन् । त्यस्तै चलचित्रमा एनबी महर्जनको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाँकन रहने भएको छ । जगदीश्वर थापाको पटकथा, एलिश कार्कीको पाश्र्व संगीत, रामजी लामिछाने र नरेशवीरको कोरियोग्राफी रहनेछ । राजेशपायल राई, बानिका प्रधान र दिनेश डिसीको स्वर रहने चलचित्र प्रदर्शन मिति २०७२ वैशाख ११ गतेलाई लक्षित गरिएको छ ।

तस्वीर: दिपेशराज थारु

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु