बेश्यालय शुद्ध कि न्यायालय…..?

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७३, आईतवार

नवराज लम्साल


बेश्यालय शुद्ध कि न्यायालय…..? (कविता)

हात्ती बलियो कि हात्तीछाप चप्पल
उस्तै – उस्तै हाे नानू
बेश्यालय शुद्ध कि न्यायालय ……?
उस्तै – उस्तै हाे नानू
फरक यति मात्र छ
बेश्यालय घृणाकाे रूपमा पुकारिन्छ
विवशताकाे फाइदा उठाईन्छ
त्यहाँ जे हुन्छ, त्याे देखिन्छ
त्यहाँ देहकाे किमत मागिन्छ
पीडाको उदासीनता भुल्न
शराव, शवाव र सिगरेटकाे
समिश्रण गरिन्छ ।
ग्राहककाे ईच्छा अनुरूप
खुला रूपमा अाफूलाइ नङ्ग्याईन्छ
तर
न्यायालय मन्दिरको रूपमा पुकारिन्छ
विधताले अन्धाे बनाएको महिलाको
निष्पक्ष तराजुकाे लाेगाे भित्र
भ्रष्टाचारको दवदवा चलाईन्छ
त्यहाँ जे हुन्छ कानुनको धाराले छाेपिन्छ ।
त्यहाँ न्याय किस्ता- किस्तामा बेचिन्छ
ठूला लाई नुन र सानालाई सुन
मान्छे काे स्तर हेरेर
धेरै वा थाेरैकाे मुल्य ताेकिन्छ ।
गरिबकाे अास्था र विस्वास
बैधानिक अावरणमा लुटिन्छ ।

हात्ती बलियो कि हात्ती छाप चप्पल
उस्तै- उस्तै हाे नानू
बेश्यालय शुद्ध कि न्यायालय ….?
उस्तै -उस्तै हाे नानू
फरक यति मात्रै छ
बेश्यालयमा अस्मिताकाे
खुलम्खुल्ला मूल्य राखिन्छ ।
कृतिम साैंन्दर्यतामा
विशेष चनाखो पारिन्छ
त्यहाँ दाैलतकाे बाँहाेमा
जवानीकाे जाम पिलाइन्छ ।
ग्राहकलाइ लत पार्न
ग्ल्यामरस जादुमा फसाइन्छ
त्यहाँ जे हुन्छ खुल्ला विज्ञापन गराईन्छ
त्यसकारण बेश्यालय नरककाे रूपमा कहलाईन्छ
तर
न्यायालयमा कानुनकाे साङ्लो भित्र
घाेची- घाेची बेहाेस पारिन्छ
काईते शव्द जाल थुपारेर
विस्वासकाे हवन गरिन्छ
भेटीकाे लेखाजाेखामा
फाईलकाे रूप रंग फेरिन्छ
त्यहाँ जे हुन्छ अध्याराेमा गरिन्छ ।
स्वतन्त्रता र समानताको
मूण्डमाला भित्र
जीन्दगी किनिन्छ, बेचिन्छ ।
त्यहाँ जे हुन्छ त्याे धारा, उपधारा ले छाेपिन्छ
निष्पक्षताकाे नारा भित्र
निर्लज्य धर्म छाडा कसाहीहरू द्वारा
श्वेत बस्त्रकाे अावरणमा
न्यायामुर्ति बनेर अन्तिम फैसला सुनाईन्छ ।
त्यहाँको जघन्यतालाई
कानून काे लाहछाप लगाईन्छ
त्यसकारण न्यायालयलाई
मन्दिरको रूपमा पुकारिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु