‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट धुर्मुस सुन्तली सम्मानित

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७४, बुधबार

असार १४, काठमाडौं । मदन भण्डारी फाउण्डेसनले सञ्चालन गरेको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ बाट रु एक लाख रुपैयाँ सहित ‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई पुरस्कृत गरिएको छ । हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को फाउण्डेशनलाई दिवंगत जननेता मदन भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा उक्त पुरस्कारवाट सम्मान गरिएको हो ।

Dhurmus Suntali

फाण्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले जननेता भण्डारीका योगदानलाई चिरस्थायी गराउन र समाजको मा विविध विधाका माध्यमबाट सकारात्मक योगदान गर्नेलाई सम्मानित गर्न पुरस्कार सञ्चालन गर्दै आएको बताइन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पबाट क्षति भएको काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको विपन्न मुसहरवस्तीलाई नमुना वस्ती बनाएर हस्तान्तरण गरेको थियो।

धुर्मुस सुन्तली फाउण्डेशनले जेष्ठ २२ गते आफ्नो नयाँ परियोजना अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’को अवधारणा सार्बजनिक गरिसकेको छ।

फाउण्डेशनले निर्माण गर्ने यस परियोजना पुरै नेपालको एक हिस्सा बन्ने बताईएको छ । फाउण्डेशनले अवधारणा सार्बजनिक गरेसंगैं एक एनिमेटेड भिडियो समेत सार्वजनिक गरेको थियो। जुन भिडियो अनुसारनै नमुना नेपालको निर्माण गरिने र नेपालमा रहेका सम्पुर्ण जातजातीहरुको आ आफ्नै सांस्कृतिक प्रतिनिधित्व हुने गरि यस परियोजना निर्माण गरिने फाउण्डेशनले बताएको छ । अहिले उक्त परियोजनाका लागि स्थल छनोट भईरहेको बताईएको छ । फाउण्डेशनले ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुरलगायतका पायक पर्ने एक क्षेत्रमा यस परियोजना निर्माण गर्नेछ ।

 

सम्भावित केही स्थानहरुको बारेमा स्थानिय निकायसंग कुराकानी भईरहेको र यसको पुर्ण जानकारी केही समयमै फाईनल भएपछि सार्बजनिक गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । फाउडेशनले हिमाल–पहाड–तराई नमुना वस्ती बनाउने कार्यक्रम अघि सारेको छ । यस्तै राष्ट्र निर्माणमा पू¥याएको योगदानको कदर गर्दै ‘धुर्मुस सुन्तली फाण्डेशन’लाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

Dhurmus-Suntali
मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा प्रज्ञा भवन कमलादीमा ‘दीगो विकासको आधार स्थानीय सरकार’ विषयक विचार गोष्ठीको समेत आयोजना गरिएको थियो । विचार गोष्ठीमा एमाले अध्यक्ष ओली सहित कांग्रेस नेता डा. रामशरण महत, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव र संघीय समाजवादी फोरमका नेता शिवजी यादव समेतको उपस्थिती थियो ।

सम्मानित भएपछि मदन भण्डारी फाउण्डेशनप्रति आभार प्रकट गर्दै सिताराम कट्टेल ‘धुर्मुस’ले यो सम्मानले राष्ट्र निर्माणका लागि अझ बढी काम गर्ने प्रेरणा, हौसला र उर्जा मिलेको बताउँदै उक्त सम्मानको भागीदार सम्पूर्ण सहयोगी मनहरु रहेको बताएका छन् । जसले ‘धुर्मुस–सुन्तली फाउण्डेसनका परियोजनाहरुमा तन, मन र धनले सहायता गर्नुभयो, सम्पूर्णप्रति कृतज्ञ रहेको पनि बताए ।
सम्मान तथा पुरस्कार ग्रहण पछि खुशी व्यक्त गर्दै सिताराम ‘धुर्मुस’ले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि केपी शर्मा ओली ज्यू को प्रमुख आतिथ्यमा मदन भण्डारी फाउण्डेशनद्धारा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट नगद १ लाख रुपैया सहित धुर्मुस सुन्तली फाउण्डेशनलाई सम्मान तथा पुरस्किृत गरेको मा मदन भण्डारी फाउण्डेशनलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं । बिशेष गरि यो सम्मानको भागिदार हाम्रा सम्पुर्ण सहयोगी महानुभावहरु हुनुहुन्छ । जसले हाम्रा हरेक परियोजनाहरुमा तन, मन र धनले साहायता गर्नुभयो, तपाई सम्पुर्ण सहयोगी मनहरु प्रति हामी निकै कृतज्ञ छौं । साथै यस प्रकारका सम्मान बाट हामीलाई समाजका लागि, दुखी, पिडित र असाहायहरुका लागी तथा समग्र राष्ट्र निर्माणका लागि अझ बढी काम गर्ने प्रेरणा, हौसला र उर्जा मिलेको छ । र हाम्रो आगामी परियोजना अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि पनि यसरी नै साथ र सहयोग गर्नुहुनेछ भन्ने आशा राखेका छौं । ‘राष्ट्र निर्माण, तपाई हाम्रै अभियान’

sitaram kattel

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु