माईला बाले भने– ‘बाबु हो ! सल्लाह गरेर दाजुभाई सँगै गयौ मिलेर बस्नु है’

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७२, मंगलवार

‘सल्लाह गरेर दुई भाइ एकैपटक गयौं बाबु सँगै बस्नु है’, ‘माईला बा’ यतिबेला हरेक पल बुटवलको मगरघाट यही वाक्य दोहोर्याउँदै बर्बराइरहेका छन् । सधैंभरी आफ्नो प्रस्तुतिबाट अरुलाई हँसाउने ‘माइला बा’का आँखामा आँशु थामिएको छैन । रोग, शोक र भोकमा परेकालाई समेत बिर्साउने कलाकार यतिबेला निसन्तान भई गहिरो शोकमा डुबेका छन् । २ दिनको अन्तरमा २ छोरा गुमाउदाको पीडा सहन नसक्दा बेहोस सरह बनेका छन् । निसन्तान बनेका उनलाई सम्झाउन आफन्त र इष्टमित्रले कुनै शब्द भेटाएका छैनन् । दैवले नै रुवाएपछि आधुनिक उपचार पद्धतिको नै के काम हुँदो रहेछ र ?

maila-baलामो समयदेखि ‘माइला बा’ नामले परिचित विष्णु जी पाण्डे र उनकी श्रीमती शोभा पछिल्लो चार दिन यता दुई छोराको वियोगमा विक्षिप्त छन् । शनिबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा जेठो छोरा स्वबिसनको अन्तिम संस्कार गरेका विष्णुले कान्छो छोरा किरणको आइतबार बुटवलमा अन्तिम संस्कार गर्नुपर्यो ।

यहि चैत्र १६ गते तातो दूधमा परेर गम्भीर घाइते भएका स्वबिसनको शनिबार बिहान साढे २ बजे उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । उनको शरीरको ४५ प्रतिशत भाग तातो दूधले पोलेको थियो । २ दिन यता ज्वरो र पखालाबाट बिरामी परेका किरणको पनि आइतबार दिउँसो बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको हो ।

स्वबिसन २ वर्ष ९ महिनाका थिए भने किरण भर्खर ७ महिना पुगेका थिए । रुपन्देहीको भलबारी निवासी पाण्डे परिवार एकदिनको फरकमा घटेका अकल्पनिय दुई घटनाले शोकाकुल बनेको छ । दिनभरको जस्तोसुकै थकाई पनि साँझ दुई छोराको आँखामा देखिने भोलिका सपनाले क्षणभरमै मेटिन्थ्यो। तर, दुई दिनमै सबै सपना चकनाचुर भए ।

लुम्बिनी सामुदायिक टेलिभिजनमा ‘माइला बासँग एकछिन’ नामक कार्यक्रम चलाउने बिष्णुलाई यस क्षेत्रका मेला महोत्सवहरूमा पनि दर्शकहरुले उत्तिकै खोज्ने गर्छन् । केहि नेपाली चलचित्र र रक्तिम सांस्कृतिक अभियानका जनवादी गीतहरूमा अभिनय गरेका विष्णु पछिल्ला वर्षहरुमा भने टेलिभिजन र स्टेजमा धेरै देखिने गरेका छन् । ‘अरूलाई हँसाउन हिड्ने मलाई नै यसरी किन रुवायौ रु’ आध्यात्मिक स्वभावका विष्णु भगवानसँग आफ्नो गुनासो गरिरहेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु