मिस नेपाल मोफसलपछि राजधानीमा

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७१, बिहीबार

काठमाडौं । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको महत्वकांक्षी चलचित्र ‘द मिस नेपाल’ शुक्रबारबाट मोफसलका सिनेमा हलहरुमा लागेको छ । ९ जेठमै प्रर्दशन हुने भनिए पनि प्राविधिक कारण देखाउँदै रिलिज डेट सारिएको थियो । राजधानीमा भने शुक्रबारबाट मात्र रिजिल सुरु भएको छ ।
मोफसलका हलमा राम्रो व्यापार गरेपछि निर्मात्रीसमेत रहेकी शुभेच्छाले भनिन्, ‘राजधानीमा पनि चलचित्र मन पराउँछन् भन्ने अपेक्षा गरेकी छु ।’ नारी संघर्षमा आधारित ‘द मिस नेपाल’ले नेपाली समाज र वर्तमान आवश्यकतालाई महसुस गराउने शुभेच्छाको दावी छ । ‘वास्तवमा हामी नेपाली नारी आफ्नो र परिवारका लागि मात्र होइन, समाज र राष्ट्रका लागि पनि धेरै कुरा दिन सक्छौं’ उनले भनिन्, ‘चलचित्रमा यस्तै सन्देश दिन खोजिएको छ ।’
‘द मिस नेपाल’ प्रति शुभेच्छा आशावादी छिन् । यस चलचित्रलाई निर्माणका हिसाबले मात्र नभई उनले अभिनयका हिसाबले पनि आफ्नो ‘टनिङ प्वायन्ट’ का रुपमा लिएकी छन् । शुभेच्छाले शीर्षजस्तो चलचित्र नभएको पनि बताइन् । ‘मिस नेपाल’ भन्नेवित्तिकै सौन्दर्य प्रतियोगिता जनाउँछ । तर, चलचित्रमा क्याटवाक र ¥याम्पमा हिडेर निश्चित प्रश्नावली कण्ठस्त पारी प्राप्त ‘मिस नेपाल’ को ताजमा सिमित नभई एउटा नारीले समाज र राष्ट्रका लागि गर्ने योगदानको भाव प्रकट गर्नेछ ।
नवल नेपालको पटकथा तथा संवाद रहेका चलचित्रमा कथा शुभेच्छाकै रहेको छ । उनले चलचित्र ‘द मिस नेपाल’कोे कथा, संवाद र प्रुस्तुति नेपाली परिवेश र राष्ट्रिय आवश्यकता सुहाउँदो रहेको दावी गरेकी छन् । शुभेच्छाले भनिन्, ‘मिस नेपाल एउटा कार्यक्रममा एक जनालाई ताज पहिराइन्छ तर, देशमा रातदिन मिहिनेत गर्ने तथा भाषा, संस्कृति, समाज र राष्ट्रका लागि अहोरात्र रगत–पसिना बगाउनेको कुनै मूल्यांकन हुँदैन । तर, चलचित्रमा समाज र देशका लागि केही गर्ने नारी सदाका ‘मिस नेपाल’ हुन्छ भन्ने देखाइएको छ ।’
शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित चलचित्रमा शुभेच्छाका अलावा क्षितिजा शाक्य, कल्याण घिमिरे, सुरज सिजापति, सविन श्रेष्ठ, सोनु केसी, नविन श्रेष्ठ, बिमला गिरी, रश्मी भट्ट, पंकजराज जोशीलगायतका कलाकारको अभिनय छ । चलचित्रको निर्देशन सुरेन्द्र तुलाधरले गरेका हुन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु