मैले धेरै गीतहरुको हत्या गरेको छु ः रिजाल

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०७०, शुक्रबार

२०७० भाद्र २८, म्यूजिक खबर
वरिष्ठ गीतकार कालिप्रसाद रिजालले राजधानीमा आयोजित एक विमोचन कार्यक्रममा बोल्दै ‘मैले धेरै गीतहरुको हत्या गरेको छु’ भनेका छन् । उनले आफूले लेखेका गीतहरुले आफ्नै मनलाई छुन नसकेदेखि ती गीतहरुलाई च्यातेर फाल्ने गरेको बताउँदै त्यस्ता धेरै गीतहरुलाई आफूले हत्या गरेको बताए । उक्त कार्यक्रममा उनले पछिल्लो समयका गीतहरुले आफूलाई छुन नसकेको बताउँदै आधुनिक गीत अहिले संगीत उद्योगबाट हराइरहेको बताए । गायिका अन्जना गुरुङको दोस्रो एकल गीतिसंग्रह ‘मिठास’ कार्यक्रमको विमोचन गर्दै प्रमुख अतिथिका रिजालले उक्त कुरा भनेका हुन् । रिजालले पछिल्लो समय गीत लेखेर बाँच्न नसक्ने अवस्था भएको उल्लेख गरे । उक्त अवसरमा गीतकार रिजालले गायिका अन्जनाको स्वरको माधुर्यता मन परेकै कारण आफूले उक्त गीत दिएको बताएका थिए । उनले गायिका अन्जनामा जादु भएको बताउँदै कुनै पनि गीत हिट हुन स्वर, शब्द र संगीतको त्रिवेणी सबल बन्नुपर्ने बताएका थिए । गायिका अन्जना आफैंमा शब्द, संगीतलाई राम्रोसँग ध्यान दिने गायिका भएको रिजालले बताएका थिए । उनको गायन यात्रा सफल बन्न’मा उनको स्वरले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
त्यस्तै सभापतिको आसनबाट गायिका अन्जना गुरुङका गुरु चन्दनकुमार श्रेष्ठले गायिका अन्जनाले आफूले सोचेजस्तो गीत अझै गाउन नसकेको बताउँदै एल्बम समग्रमा राम्रो भएको बताएका थिए । श्रेष्ठले गायिका अन्जना गुरुङ निकै राम्रो गीत गाउन सक्ने गायिकाको रुपमा पाएको बताउँदै गायिकाले हतारमा एल्बम निकालेको हो की भन्ने महसुस आफूलाई भएको बताएका थिए । श्रेष्ठले पछिल्लो समय आधुनिक गीतहरु बजारमा नआएको बताउँदै वास्तविक गीतसंगीतको सिर्जना हुन संगीत त्रिवेणी हुनुपर्छ भने ।
त्यस्तै संगीतकार बीबी अनुरागीले गायिका अन्जना गुरुङ कोरस गायनलाई न्यायपूर्ण रुपमा गाउन सक्ने भएका कारण गीतका सम्पूर्ण शब्द संगीतलाई न्यायपूर्ण हिसाबमा गाउन सक्ने बताएका थिए । उनले अन्जनाको स्वरमा मिठास भएकाले मिठास एल्बमले पनि सफलता पाउने बताएका थिए । कार्यक्रममा संगीतकार बीबी अनुरागीले एल्बम मिठासको समिक्षा गरेका थिए भने गायक कन्हैया सिंहले उत्पादक कम्पनीको तर्फबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागीले आयोजकको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए भने संगीतकारको तर्फबाट आशिष अबिरलले संगीतका बारेमा प्रष्ट पारेका थिए । त्यस्तै गायिका अन्जना गुरुङले आफूले सकेसम्मको मेहनत गरेको र निरन्तरतामा गीत गाउन नछाड्ने बताएकी थिइन् ।
कार्यक्रममा गीतकार÷संगीतकार राजकुमार बगर,  गीतकार शंकर अधिकारी घायल, संगीतकार विकास चौधरी, निर्देशक समन अधिकारी, गायिका आभा मुकारुङ लगायतका संगीतकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी हेम सुवेदीले संचालन गरेका थिए ।

anjana3

 

anjana

 

anjana2

 

anjana1

 

 

 

mithas

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु