यमलाई ‘बेस्टसेलर राइटर अवार्ड’

म्यूजिक खबर
प्रकाशित: ४ पुष २०७०, बिहीबार

काठमाडौं । युवा लेखक तथा सञ्चारकर्मी यम चौलागाईं ‘बेस्टसेलर राइटर अवार्ड–०७०’द्वारा सम्मानित भएका छन् । यमको आमसञ्चारसम्बन्धी ‘उद्घोषणकला तथा पत्रकारिता’ नामक कृतिले बिक्रीमा नयाँ रेकर्ड राखेको भन्दै प्रकाशक जयकाली प्रकाशनले सोमबार राजधानीमा एक समारोहबीच सम्मान गरेको हो । सम्मानित चौलागाईंलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, खेलकुद तथा उड्डयनमन्त्री रामकुमार श्रेष्ठले दोसल्ला र ताम्रपत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले अझै पनि नेपालमा लेखकहरू आर्थिक रूपमा सम्पन्न हुन नसकेको बताए । ‘एक किसिमले लेखलाई यहाँ स्वतन्त्र भएर लेख्ने परिस्थिति छैन,’ मन्त्री श्रेष्ठले भने, ‘आर्थिक रूपमा त धरै पछाडि नै छन् ।’ उनले पछिल्लो समय पुस्तक पढ्ने संस्कृति बढ्दै गएकामा खुसी व्यक्त गर्दै सम्मानित चौलागाईंलाई बधाई दिए । मन्त्री श्रेष्ठले भने, ‘पुस्तक पढ्ने संस्कृतिको विकाससँगै लेखकमा पनि उत्साह थपिँदै गएको छ । यो लेखक चौलागार्इंको कृति ‘उद्घोषणकला र पत्रकारिता’ को बेस्टसेलर रेकर्डले पनि उदाहरण दिएको छ ।’
प्राध्यापन र लेखन तथा पत्रकारिता क्षेत्रलाई सँगै अँगाल्दै आएका लेखक चौलागार्इंका ‘उद्घोषणकला र पत्रकारिता’, ‘चलचित्रका सारथि’, ‘आमसञ्चार र नेतृत्व विकास’, ‘नेपालका प्रधानमन्त्री’ लगायत पुस्तक प्रकाशित छन् । सम्मानित भएपछि लेखक चौलागार्इंले लेखन क्षेत्रमा आफूलाई अझ चुनौती थपिएको बताए । जयकाली प्रकाशनका अध्यक्ष एकप्रसाद सापकोटाको प्रमुख सभापतित्वमा आयोजित कार्यक्रममा लेखक नयनराज पाण्डे, चलचित्रकर्मी मोहन निरौला, कवि शशि लुमुम्बुलगायतले लेखक चौलागाईंका बारेमा चर्चा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु