यी हुन् आमा बनेका १० चर्चित नेपाली हिरोइन, सन्तानको नाम सहित !

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७४, आईतवार

काठमाडाैं । सिनेमा अझ त्यस्तो संसार हो, जहाँ काम गर्नका लागि सदैव फिट देखिनुपर्छ । अझ हिरोइनका लागि भने यो मापदण्ड अनिवार्यजस्तै हो । आमा बनेपछि महिलाहरुमा ठूलो शारिरीक परिवर्तन देखिने भएकाले उनीहरुले आफूलाई मेन्टेन गर्दै फिल्ममा ‘कमब्याक’ गर्नु अझ चुनौतीपूर्ण हुने गर्छ ।

तर, संसारमा केही हिरोइनहरुका यस्ता पनि छन् । जसको फिल्मी करिअर आमा बन्नुअघि र आमा बनिसकेपछि पनि कुनै परिवर्तन आएको पाइदैंन् । यस्तै हिरोइमा गनिन्छन्,—एन्जेलिना जोली । तर, नेपालमा भने हिरोइन आमा बनेपछि फिल्ममा ‘कमब्याक’ गरेका उदाहरण कम छन् । अझ गरिहाले पनि ती कमब्याक सुखद् हुन सकेका छैनन् । धेरैजसो नेपाली हिरोइनहरु आमा बनेलगतै फिल्मबाट गायब भएका छन् । कतिपय हिरोइनहरु आमा बनेपछि पनि निरन्तर नेपाली फिल्ममा सक्रिय त भएका छन् तर उनीहरुमध्ये धेरै कमले मात्र सुखद् नतिजा हात पारेका छन् । नेपाली सिने जगतमा लामो समय चर्चा बटुलेका धेरै हिरोइनहरु आमा बनेका छन् ।

तीमध्ये आमा बनेका नेपाली हिरोइन –

१. करिष्मा मानन्धर: सन्तानः कविता

सन् १९८८ मा ‘सन्तान’ फिल्मको ‘कान्ता’ नामकी युवतीको भूमिकामा १४ वर्षमै अभिनय यात्रा सुरु गरेकी हुन्—सदाबहार सुन्दरी नायिका करिष्मा मानन्धरले । त्यसपछि लगातार उनी नेपाली फिल्ममा सक्रिय छिन् । १९९२ मा ‘कस्तुरी’मा काम गर्दैगर्दा करिष्मा केसीको विनोद मानन्धरसँग प्रेम अंकुरायो । जुन प्रेमपछि विवाहमा बदलियो । करिष्मा आमा बनेकै झण्डै १९ वर्ष भइसकेको छ । उनकी छोरी कविता अमेरिकामा पढिरहेकी छिन् ।

‘दंगा फसाद’, ‘मायालु’, ‘ट्रक ड्राइभर’, ‘भाउजु’, ‘एक नम्बरको पाखे’, ‘बाबुसाहेब’, ‘साथी’, ‘बसन्ती’, ‘ढुकढुकी’जस्ता सिनेमा अभिनय गरेकी छन् । करिष्मा अमेरिका बसेर फर्केपछि नेपाली फिल्ममा कमब्याक त गरिन् । तर, सफल भइनन् । त्यसैले उनले अहिले निर्माणमा हात हालेकी छिन् । उनको केही समय पहिले रिलिज भएको सिनेमा ‘फागु’ ब्यापारिक रुपमा खासै सफल हुन सकेन । तर, ४२ वर्षीया करिष्माको अहिले नेपाली फिल्म नगरीमा उतिकै चर्चा हुने गरेको छ । यतिमात्र होइन्, पछिल्लो समय करिष्मा फिल्मभन्दा पनि नयाँ शक्ति नेपालमार्फत राजनीतिमा सक्रिय रहेका कारण चर्चामा छिन् ।

२. विपना थापा : सन्तानः कुशाग्र

कुनै समय नेपाली सिने नगरीमा खुबै रुचाइएकी नायिका थिइन्, विपना थापा । ‘जन्मभूमी’, ‘आगो’, ‘मितिनी’जस्ता हिट फिल्मकी यी नायिका विवाहपछि भने गुनमान छिन् ।
सन् २००८ मा भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह बन्धनमा बाँधिएकी विपनाले त्यसपछि पनि नेपाली फिल्म खेल्ने आशा धेरैले गरेका थिए । किनभने, उनको पति पनि नेपाली फिल्म निर्माणमा गर्थे । तर, विपना विहेलगतै श्रीमानको घर भारत गइन । विवाहको केही वर्षमै आमा बनेपछि भने विपनाको फिल्ममा कमब्याकको सम्भावना एकदमै फितलो बन्यो । गत वर्ष भूकम्पको राहत सामाग्री बोकेर नेपालमा माइती आएकी विपनाको अहिले नेपालको आवतजावत पनि निकै पातलो छ ।

३७ वर्षीया विपना नायिका त हुन नै उनी पेशाले फेसन डिजाइनर समेत हुन् । २०५३ सालमा ‘जन्मभूमी’ फिल्म खेलेपछि नेपाली रजतपटमा विपनाको चर्चा निरन्तर चलिरह्यो । त्यसपछि उनले ‘सहिद गेट’, ‘ख्यालख्यालैमा’, ‘मामा भान्जा’, ‘बरमाला’, ‘बेइमानी’, ‘राम बलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता चलचित्रमा पनि आफ्नो अभिनयको जादू देखाएकी थिइन ।

हाल उनी भारतको मथुरामा बसिरहेकी छिन् । अहिले उनका छोरा कुशाग्र स्कुल जाने उमेरका भइसके । उनले गत वर्ष भूकम्पपछि नेपालमा राहत बाँडन आएका बेला भने आफूलाई अझै पनि नेपाली फिल्ममा फर्किने ठूलो इच्छा भएको बताएकी थिइन । नेपाली फिल्ममा फर्किन कत्तिको मन छ? भनेर सोधिएको प्रश्नमा विपनाले भनेकी छिन्, ‘एकदम धेरै मन छ । मेरो श्रीमान पनि नेपाली फिल्मको निर्माता हुनुहुन्छ । त्यही फिल्म बनाउने क्रममा भेट भएको हो । उहाँ पनि नेपाली फिल्ममा ‘कमब्याक’ भएको हेर्न रुचाउनुहुन्छ । तर, समय परिस्थितीले साथ दिएको छैन ।’

३. झरना थापा : सन्तानः सुहाना

सन् १९८१ मा जन्मिएकी झरना थापा नेपाली चलचित्र क्षेत्रकी अर्की सुन्दरी र चर्चित नायिका हुन् । प्युठान स्थायी घर भएकी झरना बिहेपछि चर्चा बटुलेकी सम्भवतः एकमात्र नायिका हुन् । ‘दाइजो’ चलचित्रमा काम गर्दागर्दै उनले सुनिलकुमार थापासँग सन् १९९८ मा प्रेम विवाह गरेकी थिइन । यी नायिकाले विवाहको अर्को वर्ष नै सुहानालाई जन्म दिइन । सुहाना अहिले १८ वर्षकी भइन । सन् २००२ मा ‘ए मेरो हजुर’जस्तो हिट फिल्म दिएकी झरना आमा बनेर पनि कमब्याक गर्न सफल नायिकामा गनिन्छिन् ।

आमा बनेको लगतै उनले ‘धर्मसंकट’ फिल्मबाट कमब्याक गरिन् । त्यसपछि उनले ‘गोर्खाली’ ‘जीवनसाथी’, ‘अञ्जली’, ‘भाइटीका’, ‘पूर्णिमा’, ‘सिउँदोको सिन्दुर’, ‘सुख दुःख’, ‘हामी तीन भाइ’, ‘मुग्लान’, ‘कहाँ छौं कहाँ’, ‘कालापानी’, ‘तकदिर’, ‘म तिमी बिना मरिहाल्छु’जस्ता फिल्महरुमा अभिनय गरिसकेकी छिन् । झरना अब फिल्ममा आफै अभिनय गर्ने सम्भावना कम देखिन्छ । किनभने, उनको हिट बनेको फिल्म ‘ए मेरो हजुर’को सिक्वेलमा उनले अर्कै हिरोइनलाई अनुबन्ध गरेकी छिन् । बरु, झरना त्यो फिल्ममा निर्देशकका रुपमा देखिदैंछिन् । उनी निर्देशक बन्न लागेको सिनेमा ‘ए मेरो हजुर २’ होम प्रोडक्सन चलचित्र हो ।

४. सञ्चिता लुइँटेल : सन्तानः अर्थव र सानभी

कुनै समय आफ्नो सुन्दरताकै कारण चर्चाको शिखरमा थिइन—नायिका सञ्चिता लुइटेल । उनको फिल्म र अभिनय दुवैले राम्रै चर्चा र तारिफ बटुलेको थियो । सन् १९९९ मा ‘अप्सरा’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सञ्चिताले ‘आर्शिवाद’, ‘मुनामदन’, ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘दासढुंगा’, ‘पर्खि राख है’, ‘कालापानी’, ‘इन्द्रेणी’, ‘कोही मेरो’, ‘दाग’, ‘बन्दी’लगायतका सिनेमामा अभिनय गरेकी छिन् ।

सन् २०१० मा सञ्चिताले सन् २००२ मा ‘पिजडा’बाट डेब्यु गरेका नायक निखिल उप्रेतीसँग विवाह गरिन् । त्यसअघिको पहिलो विवाह भने असफल भएको थियो । निखिलसँग विवाह गरेको एकवर्षपछि सन् २०११ को साउनमा उनले पहिलो सन्तानका रुपमा छोरा जन्माइन । त्यस लगतै उनी अर्को सन्तानकी आमा बनिन् । आफ्ना सन्तानहरु हुर्काउन केही खर्चेपछि उनी पुनः नेपाली सिनेमामा कमब्याकको तयारीमा छिन् । महत्वकांक्षी प्रोजेक्ट मानिएको निर्देशक योगेश घिमिरेको ‘राधा’बाट सञ्चिताको कमब्याक सशक्त हुने अपेक्षा गरिएको छ ।

५. मेलिना मानन्धर: सन्तानः मेलिस्का ढकाल

कुनै समयकी चर्चित नायिका हुन्—मेलिना मानन्धर । सन् १९९३ मा ‘मिलन’ फिल्मबाट नेपाली रजटपटमा उदाएकी यी नायिकाले त्यसपछि दर्जनौं फिल्ममा अभिनय गरिन् । ८ वर्षअघि जापानबाट फर्किएका मुकेश ढकालसँग प्रेम विवाह गरेकी हुन्, उनले । विहेपछि उनले पति मुकेशसँगै ‘हलचल’ फिल्ममा काम गरिन् । ‘सीमाना’, ‘अपराध’ ‘जाली रुमाल’, ‘बन्धन’, ‘दाइजो’ ‘रानीखोला’, ‘प्रियसी’, ‘माटो बोल्छ’, ‘मामाघर’ ‘अर्पण’ ‘छोराबुहारी’ ‘संगम’ ‘ज्वालामुखी’जस्ता फिल्ममा काम गरेकी मेलिनाको रुप, नृत्य र अभिनयको खुबै तारिफ हुन्थ्यो ।

मेलिना ‘करुणा’ नामक टेलिश्रृखलाबाट पनि चर्चा बटुल्न सफल नायिका हुन् । ३९ वर्षीया यी नायिकाले आफै निर्माता बनेर ‘ज्वालामुखी’ सिनेमा निर्माण गरेकी थिइन ।मेलिनाले विवाहको अर्को वर्ष २८ कात्तिक २०६७ मा पहिलो सन्तानका रुपमा छोरी मेलिस्कालाई जन्म दिएकी हुन् । आमा बनेको डेढ वर्षपछि उनले एक नेवारी फिल्ममार्फत कमब्याकको प्रयास गरेपनि त्यसपछि सिनेमामा देखिएकी छैनन् ।

६. अरुणिमा लम्साल : सन्तानः अक्षता

कुनै समयकी सम्भावना बोकेकी नायिका रुपमा अरुणिमालाई लिइन्थ्यो । अहिलेका कतिपय हिरोइनको तुलनामा उनको उनको चर्चा पनि चुलिएकै हो । ‘अजम्बरी’ फिल्मबाट रजतपटमा भित्रिएकी यी नायिकालाई मुख्य भूमिका देखिएको सिनेमा भने ‘धडकन’ हो । एकताका ‘गहना’ टेलिश्रृखलाबाट चर्चामा कमाएकी अरुणिमाले ‘अभिमन्यु’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘अग्नीज्वाला’, ‘भरोसा’, ‘वुवाआमा’, ‘के यो माया हो’ लगायतका झण्डै दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिन् ।

२०६२ सालमा बैंकर अमित अर्यालसँग प्रेम विवाह गरिन् अरुणिमाले । अरुणिमाले त्यसको केही वर्षमै छोरी जन्माइन् । अक्षता अर्याल उनकी छोरीको नाम हो । आमा बनिसकेपछि पनि ‘पिपल’ र ‘उर्वसी’बाट उनले नेपाली फिल्ममा कमब्याकको प्रयास त गरिन् । तर, उनको कमब्याक सुखद् हुन सकेन । सन् २०१२ मा ६ महिने छोरीलाई काखी च्यापेर अमेरिका उडेकी अरुणिमा अहिले अमेरिकामै रमाइरहेकी छिन् । कुनै समय गर्भवती हुँदा पनि फिल्म खेलु खेलु लाग्छ भनेर अन्तर्वार्ता दिएकी अरुणिलाई अहिले फिल्मभन्दा पनि अमेरिका प्यारो देखिएको छ ।

७. ऋचा घिमिरे : सन्तानः मिजास र महर्षि र एक छोरी

एकताकाकी चल्ती नायिका हुन् —ऋचा घिमिरे । काठमाडौंमा जन्मिएकी घिमिरे मोडलिङ, टेलिभिजन र म्युजिक भिडियो हुँदैं नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी हुन् । विं सं. २०६७ सालमा निर्देशक शंकर घिमिरेसँग ऋचा विवाह बन्धनमा बाँधिइन । त्यसपछि उनले सन् २०१२ मा पहिलो सन्तानलाई जन्म दिइन् ।

३३ वर्षीया यी नायिकाले अहिले तीन वटा सन्तान छन् । अमेरिकाको बाल्टिमोरमा बस्दैं आएकी ऋचा तेस्रो सन्तानको रुपमा ९ असारमा छोरी जन्माएकी हुन् । यसअघि उनी दुई सन्तान मिजास र महर्षिकी आमा बनिसकेकी छिन् । विवाहलगतै ‘तुलसी’ सिनेमा निर्माण गरेर निर्माता समेत बनेकी काली सुन्दरी भनेर चिनिने ऋचाको नेपाली फिल्ममा कमब्याक पनि कथा नै बन्ने देखिन्छ । उनले ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘देशदेखि परदेश’लगायतका फिल्ममा अभिनय गरेर चर्चा बटुलेकी थिइन ।

८. झरना ब्रजाचार्य : सन्तान : इशान

पछिल्लो समयमा आमा बनेकी अर्की नायिका हुन्—झरना ब्रजाचार्य । उनले २८ चैत २०७२ मलेसियामा छोरा जन्माएकी हुन् । सन् २०१५ को मार्चमा भारतीय मूलका अमेरिकन ब्यवसायी राहुल अग्रवालसँग झरनाले लगनगाँठो कसेकी थिइन । उनी त्यसअघि नेपाली फिल्ममा सक्रिय रहेकी थिइन । सन् १९९७ की नेपाल सुन्दरी झरना नेपाली फिल्म दुनियाँमा सर्वाधिक आकर्षक नायिका मानिन्छिन् । उनले कुनै समय ‘म्युजिक भिडियो क्वीन’को छवि समेत बनाएकी थिइन । सन् १९९७ मा ‘हतियार’ सिनेमाबाट फिल्म क्षेत्रमा झरनाले डेब्यु गरेकी थिइन । उनले ‘लभ इन नेपाल’, ‘परेनी माया जालैमा’, ‘सिउदोको सिन्दुर’, ‘बादल पारी’, ‘कोही मेरो’लगायतका सिनेमामा अभिनय गरेकी छन । सन् १९८१ मा जन्मेकी झरनाले सिद्धार्थ बनस्थलीकी पढेकी हुन । सोसोलोजीमा डिग्री गरेकी झरनालाई वौद्धिक नायिका मानिन्छिन । ध्यान र पढ्न लेखनमा पनि उतिकै रुची भएकी नायिका हुन्, उनी । पहिलो सन्तान नै हुर्काइरहेकाले झरना पनि फिल्ममा कमब्याक हुने हुन वा होइनन् अहिल्यै भन्न सकिने अवस्था छैन ।

९. माल्भिका सुब्बा : सन्तानः जाइर रिओ

सन् २००२ की नेपाल सुन्दरी हुन्—माल्भिका सुब्बा । आमसञ्चारकी स्नाकोत्तर माल्भिकाको परिचय यतिमा मात्र सिमित छैन् । उनी अभिनेत्री, मोडल, सञ्चारकर्मीका साथै उद्यमी पनि हुन् । २०३८ सालमा जन्मिएकी सुब्बाले ‘गड लाइभ इन द हिमालयज, गुड बाई काठमाडूलगायतका फिल्ममा अभिनय गरेकी छिन् । माल्भिका अभिनयमा मात्र रमाइनन्, उनले फिल्म निर्माणमा पनि हात हालिन । केही समयअघि मात्र उनले निर्माण गरेको सिनेमा ‘हाउ फन्नी’ रिलिज भएको थियो ।

सञ्चारकर्मीका रुपमा कल कान्तिपुरलगायतका केही टेलिभिजन कार्यक्रममा समेत काम गरेकी माल्भिकाले लाइस्टाइल र फेशनसँग सम्बन्धित एक म्यागेजिनको प्रधान सम्पादकको जिम्मेवारी पनि सम्हालिन । उनले आफ्नै लगानीमा राजधानीमा एक लुगा पसल पनि सञ्चालनमा ल्याएकी छिन् । माल्भिकाले वि.सं. २०६९ सालको बैशाखमा रियाज श्रेष्ठसँग प्रेम विवाह गरिन् । त्यसको ४ वर्षपछि गत २ बैशाख २०७३ मा उनले पहिलो सन्तानका रुपमा छोरा जाइर रिओ सुब्बालाई जन्म दिएकी हुन् । आमा बनिसकेपछि माल्भिकाले सिनेमामा पुनरागमन गर्छिन कि गर्दिनन् त्यो भने निश्चित भइसकेको छैन् । किनभने, अहिले उनी सन्तान हुर्काउनमा ब्यस्त छिन् ।

१०. सुष्मिता बम्जन: सन्तानः अनमोल

सुष्मिता बम्जन कुनै समयकी नेपालकी गनिएकी हिरोइनमा हुन् । दार्जिलिङमा जन्मिएकी यी नायिकाको चर्चा त्यतिबेला चुलियो जब उनी भुवन केसीकी दोस्रो पत्नी बनिन् । ‘नेपालीबाबु’, ‘त तँ साह्रै बिग्रिस नि बद्री’, ‘सुपर स्टार’, ‘तिमी बिना मरिहाल्छु नि’जस्ता सिनेमामा देखिएकी यी नायिका भुवन केसीसँग विवाह पछि सुष्मिता केसीका नामले चिनिन् थालिन् । भुवन र सुष्मिताका अहिले छोरा छन्—अनमोल केसी । आपसी विवादपछि अहिले सुष्मिता र भुवन अलग—अलग बस्दैं आएका छन् । यो जोडीका छोरा अनमोल केसी भने अहिले सर्वाधिक चर्चामा रहेका युवा स्टार नायक हुन् ।

आमा बनेपछि सुष्मिताले फिल्ममा कमब्याक त गरिन् तर उनको कमब्याक पनि जबरजस्त हुन सकेन । अहिले उनी आफ्ना छोरा अनमोलको नाममा अनमोल क्रियसन नामक फिल्म निर्माण कम्पनी दर्ता गरेर फिल्म निर्माणमा सक्रिय बनेकी छिन् । उनले यही ब्यानरमा ‘म त तिम्रै हो’ भन्ने सिनेमा निर्माण गरिसकेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु