लण्डनमा सुनिता दंग

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७०, बिहीबार

काठमाडौं । नेपाली नारीको विशेष पर्व तिजको अवसरमा आयोजित नेपाली सांगीतिक कार्यक्रममा सहभागी हुन लण्डन पुगेकी गायिका सुनिता दुलाल दंग परेकी छन् । कार्यक्रममा गीत गाउन सुरु गर्नासाथ आफू महिलाहरुको ठूलो भिडले घेरिएकी उनले बताइन् । ‘लण्डनमा पनि मेरो थुप्रै फ्यान रहेछन्’ सुनिताले आफ्नो खुसी अनलाइनबाटै सेयर गर्दै भनिन्, ‘लण्डनमा बस्दै आएका नेपाली दिदीबहिनी र आमाहरुसँग तिजको रमझम गर्न पाउँदा एक्दमै खुसी लागेको छ ।’ तिजको एल्बम ‘आयो हरितालिका’ रिजिल गर्नेवित्तिकै सुनिता लण्डन उडेकी हुन् ।
तमु धी ओमेन्स फोरम लण्डन शाखाको निम्तो पाएर त्यहाँ पुगेकी सुनिता केही दिनयता निकै व्यस्त भएकी छन् । विशेषगरी तिज गीतमार्फत चर्चामा रहेकी सुनिताले भनिन्, ‘यहाँ आएदेखि नै कार्यक्रम र भेटघाटमा व्यस्त छु ।’ सपना इन्टरटेन्मेन्टको ब्यवस्थापनमा लण्डनमा आयोजित कार्यक्रममा सुनितासँग लण्डनबासी नेपालीहरु कम्मर मर्काइ मकाई नाँचेको थिए । कार्यक्रमको पहिलो दिन चन्द्रसूर्य अंकित नेपाली झण्डा प्रिन्टेड निलो सारीमा झुल्किएकी सुनिताले आफ्ना नयाँ तथा पुराना गरी दर्जन गीत गाएको सुनाइन् । ‘यसपालिको तिज पनि रमाइलो भइरहेको छ’ केही वर्षयता विदेशमै तिज मनाउँदै आएकी सुनिताले भनिन्, ‘लण्डनमा पनि नेपाली माहोल नै पाएँ ।’ लण्डनको कार्यक्रम सकेपछि उनी अमेरिका जाँदैछिन् । सुनिता यसपालिको तिजको दिन अमेरिकाको न्युयोर्कमा हुनेछिन् । सुनिताले भनिन्, ‘केही दिनमै यहाँबाट अमेरिका जान्छु । मेरो एक महिना घुमफिरमै बित्ने भएको छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु