वीर गोर्खालीको ‘निशानी’ मलेसिया

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७१, आईतवार

क्वलालम्पुर । मलेसियामा नेपाली कथानक चलचित्र निशानीको विशेष शो गरिएको छ । किराँथ याक्थुङ चुम्लुङको आयोजनामा चलचित्र निशानीको शो गरिएको हो । कोतरायस्थित काठमाडौं रेस्टुरेन्टको हलमा एक कार्यक्रमको आयोजना गरी निशानीको शो गरिएको थियो । कृष्ण आङ्देम्बेको सभापतित्वमा भएको उक्त कार्यक्रममा चलचित्रका नायक एवं प्रस्तुतकर्ता प्रेम सुब्बा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशेष अतिथि व्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्र लिम्बू थिए भने अतिथिहरुमा आदिबासी जनजाति महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले, श्रम साप्ताहिकका सुमन बैरागी, किराँथ याक्थुङ चुम्लुङको उपाध्यक्ष विष्णु आङ्ला, चुम्लुङका सहसचिव हरेन्द्र तुम्बहाम्फे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चुम्लुङका सचिव देवेन्द्र चुमजोङले संचालन गरेका थिए ।
कार्यक्रममा बोल्दै चलचित्रका प्रस्तुतकर्ता एवं नायक प्रेम सुब्बाले चलचित्र वीर गोर्खाहरुको गाथा बोकेको चलचित्र भएको बताएका थिए । चलचित्र एउटा लोक कलासंस्कृतिसँगै जोडिएर मायाप्रेममा पनि आधारित रहेको छ, तर यथार्थमा भने गोर्खाहरुको पहिचानमा आधारित रहेको छ, सुब्बाले भने । औपचारिक कार्यक्रमपछि चलचित्र निशानीको प्रदर्शन गरिएको थियो । निशानीको शोमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । वीर गोर्खालीको कथामा बनेको चलचित्र निशानी हेरिसकेपछि आफ्नो पूर्खाको सम्झना गरिएको गोर्खाहरुको कथालाई निशानीमा पाएको बताएका थिए । निशानी वीर गोर्खाको बहादुरी बोकेको चलचित्र हो । निशानीमा प्रशान्त तामाङ, विष्णु चेम्जोङ, प्रेम सुब्बा, जयनन्द लामा, अनु गुरुङ लगायतको अभिनय रहेको छ । चलचित्रमा विनोद सेरेङको लेखन निर्देशन रहेको छ । चलचित्रलाई सरोज भण्डारी, ललिता सेरेङ धौभडेलले निर्माण गरेका हुन् भने सहनिर्माताका रुपमा किशोर दुङमाली राई रहेका छन् ।

nishani prem subba nishani2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु