शिवलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

म्यूजिक खबर
प्रकाशित: २८ श्रावण २०७३, शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७३’ बाट गायक शिव परियारलाई सम्मान गरिएको छ । शास्त्रीय गजल गायन एवं आधुनिक गीत संगीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएवापत गायक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकूद मन्त्रालयले कलातर्फबाट गायक शिव परियारलाई उक्त सम्मान प्रदान गरेको हो भने उनको अलावा धुर्मस सुन्तली फाउन्डेसनका तर्फबाट सिताराम कट्टेल ‘धुर्मुश’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई समाजसेवाबाट राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै युवा प्रतिभा सम्मान प्रदान गरिएको थियो । त्यस्तै खेलकूद, कृषि, प्राविधिक क्षेत्रका विविध व्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

shiva-pariyar

गायक शिव परियार पूर्वीय क्लासिकल म्यूजिकमा विगत १६ वर्षदेखि ग्वालियर घराना अन्तर्गतका गुरु चन्दन कुमार श्रेष्ठ र चण्डी प्रसाद काफ्लेसँग शास्त्रीय गायनको शिक्षा लिएका गायक हुन् । त्यस्तै गुरु रविनलाल श्रेष्ठसँग ४ वर्षे तबला वादनको शिक्षा हासिल गरेका परियारले गुरु राजकुमार मालाकारसँग पूर्वीय संगीत अन्तर्गत एक वर्षे गीतारको शिक्षा लिइसकेका छन् । हालसम्म गायक परियारले मोक्ष, स्वयम्, कादम्बिनी, क्या दामी भो, फाटेको मन, पागल, कथाले मागेपछि, वान्ली यू मेरो साथी, टाढाको साथी, शिवबुक गरी दश वटा म्यूजिकल एल्बमसमेत बजारमा ल्याइसकेका छन् । अहिले ११ औं एल्बमको तयारीमा रहेका शिव परियारले ५ वटा एल्बममा भने आफैंले संगीत दिएका छन् । रेडियो नेपालको आधुनिक गीत गायन प्रतियोगिता २०५९ मा प्रथम भएका गायक परियार रेडियो नेपालका ‘क’ श्रेणीका गायकसमेत हुन् । गायक परियारले हालसम्म नारायण गोपाल युवा संगीत पुरस्कार, सेतुराम गजल पुरस्कार जस्ता पुरस्कारहरु हात पारिसकेका छन् भने इमेज म्यूजिक अवार्ड, कालिका म्यूजिक अवार्ड, अन्नपूर्ण म्यूजिक अवार्ड, म्यूजिक खबर म्यूजिक अवार्डबाट उत्कृष्ट गायकको अवार्ड चुमिसकेका छन् । त्यस्तै चलचित्र पाश्र्व गायनतर्फ म्यूजिक खबर म्यूजिक अवार्ड, डिजिटल फिल्मी अवार्ड, विन्ध्यवासिनी म्यूजिक अवार्ड, बक्स अफिस फिल्म अवार्ड जस्ता दर्जनौं अवार्ड हात पारिसकेका छन् ।

dhurmus-suntali-

अहिले राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका गायक परियारका अलिकति नजर तिम्रो, पागल बनायौ प्रिय, कहाँ थियौ तिमी, नभेटी नभेटी, धेरै चोटी मरेँ म त, फेवातालमा साइली, क्या दामी भो, पिलायो साथीले, गालैको कोठी, रुपौलीजस्ता चर्चित गीतहरुबाट उनको सांगीतिक उचाइले शिखर चुमिसकेको छ । आधुनिक गीत, गजल, पप हुँदै हाल कन्सर्टलाई लक्षित गर्दै गाइएका गीतहरुले मुलुक र मुलुक बाहिरका विभिन्न देशहरुमा सांगीतिक प्रस्तुति दिइसकेका छन् । सुगम संगीतको क्षेत्रमा चर्चित गायक एवं संगीतकारका रुपमा शिखर चुम्न सफल गायक परियारलाई नेपाल सरकारको तर्फबाट यस वर्षको युवा संगीत सम्मान प्रदान गरिएपछि झन् जिम्मेवारी थपिएको गायक परियारले बताए ।

rastrapati-samman-425x310

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु