संगीतज्ञ गुरुङ मेदान्त अस्पतालमा भर्ना

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७२, मंगलवार

राष्ट्रिय गानका संगीतकार एवं संगीतज्ञ अम्बर गुरुङलाई भारतको मेदान्त अस्पतालमा उपचारार्थ सोमबार भर्ना गरिएको छ । पाचनप्रणाली तथा नशासम्बन्धी गम्भीर समस्याका देखिएपछि गुरुङलाई भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचारार्थ सोमबार भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ ।

झण्डै ३ महिनादेखि ठोस खानेकुरा खान तथा पचाउन समस्या देखिएपछि गुरुङलाई काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारार्थ राखिएको थियो । गुरुङको समस्या झन् जटिल बन्दै गएको देखेपछि ग्रान्डीकै सिफारिसमा मेदान्त अस्पताल पु¥याइएको हो । संगीतज्ञ गुरुङका साथमा छोरा राजु तथा छोरी अल्का मेदान्तमा रहेका छन् ।

ambar gurung
मेदान्तको अन्कोलोजी र डाइजेष्टिभ युनिटअन्तर्गतका डा.अशोक बैध तथा डा.रनधिर सुद गुरुङको उपचारमा संलग्न रहेका छन् । ७७ बर्षिय गुरुङको पेट–सटी, इन्डोस्कोपी लगायतका जाँच परीक्षण पूरा गरेपछि मात्रै थप उपचार गरिने उनका छोरा राजुले बताएका छन् । गुरुङ नेपाली आधुनिक संगीतका वरिष्ठ संगीतकार हुन् भने गणतन्त्र नेपालको राष्ट्रगानका संगीतकारसमेत हुन् । यसअघि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत भएका गुरुङ लामो समयदेखि पार्किङ्सन रोगबाट समेत ग्रसित थिए । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने भनिए पनि पछिल्लो समय स्वास्थ्य उपचारमा पारिवारिक स्रोतबाट खर्च बेहोरिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु