संगीतमा लागेर बाँच्न सकिन्छ

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७०, शुक्रबार

—अविद, गायक÷संगीतकार
आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
नयाँ एल्बमहरुको तयारीमा जुटिरहेको छु, जसमा मेरो संगीत सहित नाम चलेका गायक गायिकाहरुको स्वर रहेको छ । मेरो एकल संगीत रहेको एल्बम ‘भाग्य’ को अन्तिम चरणमा कार्य भइरहेको छ, जसमा सुरेन्द्र महर्जनको एकल रचना रहेको छ । त्यस्तै नेपाल लगायत विभिन्न देशमा बसोबास गर्दै आउनु भएका गीतकारहरुको कलेक्सन एल्बमहरुको काम पनि भइरहेको छ ।
तपाईंले संगीत दिएको एल्बमहरु कति भए ?
मेरो एकल संगीतको कुरा गर्दा उपासना, भाग्यलाई नै लिनुपर्छ भने कलेक्सन संगीतका हिसाबले भूमिका, तिम्रो एक्लो, आधा सास फेरिरहेँ लगायत तीन दर्जनभन्दा बढीमा संगीत दिइसकेको छु ।
संगीतका अलावा गायनमा पनि सक्रिय हुनुहुन्छ ? कति गीत गाउनुभयो ?
गायनकै हिसाबमा भन्नुपर्दा म उपासना एल्बमलाई नै लिन्छु, जसमा आठवटा गीतहरु रहेका छन् । एउटा संगीतकार भएपछि गायनमा पक्कै लगाव हुन्छ, किनकि संगीतकारले नै गायकगायिकालाई सिकाउने हो त्यसैले संगीतकारले पनि धेरथोर गाउन सक्छ नै । तर पेशाका हिसाबले हेर्ने हो भने गायक, रचनाकारभन्दा पनि संगीतकार नै भन्न रुचाउँछु ।
पछिल्लो समयमा गीतसंगीतको बजार छैन भन्छन् तपाईंको धारणा ?
साँच्चै भन्नुपर्दा अहिले गीत संगीतको बजार खस्किएको छ । पहिला संगीत बिक्री भएर यति रोयल्टी पाइयो, यति कमाइयो भन्नेहरु आजभोलि मैले यो एल्बम गरेँ यति घाटा भयो भन्ने नै बढी भेटिन्छ । तर संगीत बिक्री नभए पनि यसमा लागेका गायक, गायिका, संगीतकार, रचनाकार, एरेन्जर, बाद्यबादक र रेकर्डिङ स्टुडियोहरुले भने काम पाइरहेकै छन् लगानीकर्ता मात्र डुबेको अवस्था हो अहिले ।
संगीत बिक्री किन नभएको होला त ?
अहिले प्रविधि द्रुत गतिमा परिवर्तन भइरहेको छ । प्रविधिको विकाससँगै हामी परिवर्तन हुन नसक्दा त्यसको सदुपयोग गर्ने क्रममा दुरुपयोग हुन गएको हो । हामी पाइरेसी बढ्यो, गीतसंगीत बिक्री भएन भन्छौ तर हामी स्रष्टाहरु नै पाइरेसीको सुरुवात गर्छौं अनि अडियोभिडियो कसरी बिक्री हुन्छ ? गीत रेकर्डकै क्रमदेखि सबैको मोबाइलमा हुन्छ अनि थोरै बिक्री हुने भए पनि त्यो पनि पसलबाट पेनड्राइभ र मेमोरी कार्डमा बेचिने गर्छन् ।
आजभोलि बजारमा सबै उस्तै उस्तै संगीत भएका गीतहरु सुनिन्छ नि ? त्यो भएर बिक्री नभएको हो कि ?
वास्तवमा भन्नुपर्दा लोकगीतबाट आधुनिकमा प्रवेश गरेका संगीतकर्मीहरुको संगीत प्रायः उस्तै उस्तै हुने गरेकोले गर्दा स्रोताहरुमा पनि यो गीत त सुनिसकेको हो जस्तो लागेर बिक्री नभएको हुनुपर्छ । संगीत गर्दा गहिराइमा भन्दा पनि सतही संगीत गरेर सस्तो लोकप्रियतातर्फ आकर्षित भएका कारण पनि संगीत बिक्री नभएको हो । वास्तवमा भन्नुपर्दा जुन गीतसंगीतले स्रोताको मन छुन्छ त्यसलाई कुनै पनि हालतमा उसले किनेर सुन्न सक्छ त्यो वातावरणको सिर्जना संगीतकर्मीले गर्नुपर्छ ।
संगीतमै लागेर बाँच्न सकिन्छ त ?
संगीतमा लागेर बाँच्न सकिन्छ । बजारमा बिक्री नभए पनि लगानीकर्ताहरु त आइरहेकै छन्, अनि गीतकार, संगीतकार, गायक, गायिका, एरेन्जर, बाद्यबादक र रेकर्डिङ स्टुडियोहरुले बिना पारिश्रमिक त पक्कै काम गर्दैनन् होला । त्यसमा पनि नाम चलेका गायकगायिकाहरुले महंगो पारिश्रमिक लिने गरेका छन् । हप्तामा तीन चारवटा एल्बम सार्वजनिक भइरहेका हुन्छन् । यदि संगीतमा लागेर बाँच्न नै नसकिने हो भने किन यसरी एल्बमहरु आइरहेका छन् त ? होला पहिलाको तुलनामा गीत बेचेर घर, गाडी बनेको छैन तर संगीत गरेर बाँच्नेहरु भने धेरै नै छन् ।
अन्त्यमा ?
संगीतको बजार विस्तार भएको छ, प्रविधिको विकाससँगै सजिलो पनि भएको छ । हामीले अरुलाई दोष दिनुभन्दा पनि आफू राम्रो सिर्जना गर्नेतर्फ सचेत रहनु पर्छ र विद्यमान समस्याको समाधानका लागि सम्पूर्ण संगीतकर्मी एकजुट भएर अघि बढ्नु पर्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु