सिनेयात्रीको सांगीतिक साँझ

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७१, मंगलवार

काठमाडौं । आइतबार साँझ सिमसिम पानी परिरहँदा जमलस्थित राष्ट्रिय नाचघर भने सांगीतिक कार्यक्रमको माहोल तात्दैथियो । दर्शकको भीड जम्मा हुँदागर्दा स्टेज तताइरहेका थिए एक दर्जन मोडल । एउटै स्टेजमा सांगीतिक कार्यक्रम तथा फेसन सोको रौनकले दर्शक हौसिएर भन्दैथिए, ‘वान्स मोर ।’ यो अवसर मासिक सिनेपत्रिका ‘सिनेयात्री’ जुराएको हो । पत्रिकाको १४औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘सिनेयात्री स्टार–२०७१’ मा देशका ख्यातीप्राप्त कलाकारले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे ।
दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा मौनधारण गरेर सुरु गरिएको कार्यक्रममा गायक तथा संगीतकार युवराज गुरुङले ‘नेपाल हाम्रो प्यारो नेपाल’ राष्ट्रिय गीतमार्फत दर्शकलाई राष्ट्रभावमा डुबाए । गायक गुरुङको गीतको भावमा डुबेका दर्शक स्टेजमा मोडल पार्वती राई झुल्किएपछि भने माहोल परिर्वतन भयो । चलचित्र ‘मायाज बार’ को ‘सरसर माया सरसर’ गीतमा पार्वतीको आकर्षक नृत्यले दर्शकको ध्यान खिचेको थियो ।
हास्य अभिनेत्री बसुन्धरा भुषालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चर्चित गायक÷गायिकाले आफ्नो गीत मार्फत दर्शकलाई झुमाएका थिए । लोकगायिका ज्योती राईले ‘पिरतीमा दम छ’ भन्दै दर्शकलाई तताएकी दिइन् । गायिका सहिमा श्रेष्ठले ‘माया प्रेम’ र आफ्नो नयाँ तिजको गीत प्रस्तुत गरेकी थिइन् । सहिमाको तिज गीत प्रस्तुतीले नजिकिँदो तिजको रौनकता दिएको थियो । त्यस्तै, गायिका सिमा केसीले ‘ओठले बोल्न नसके पनि’ भन्दै दर्शकलाई आफूतिर आकर्षित गरेकी थिइन् । कार्यक्रममा विभिन्न कला केन्द्रका कलाकारले नृत्यमार्फत मनोरञ्जन दिएका थिए ।
कार्यक्रमको अर्को रहमाइलो पक्ष फेसन सो थियो । पुरुष तथा महिला मोडलले ¥याम्प नाप्दै गर्दा दर्शकदीर्घा फेशनमय बन्यो । जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको फेसन सोमा मोडलहरुले ¥याम्प नापेका थिए । मोडलहरुले पहिरिएको पहिरन डिजाइन पूनम गौतमले गरेकी हुन् । उनको डिजाइनमा महिला तथा पुरुष मोडलको ‘¥याम्प सो’ निकै आकर्षक देखिएको थियो । सिनेयात्री मासिकका प्रधान सम्पादक आर.डी. ‘शृंखला’ ले हरेक बर्ष यो यसै समयमा कार्यक्रमको गर्दै आएको बताए । ‘यो सिनेयात्रीको नियमित कार्यक्रम हो’ उनले भने, ‘सिनेयात्री प्रतिभा सम्मान कोषको सहयोगार्थ कार्यक्रम गरिएको हो ।’ सिनेयात्रीले सांगीतिक कार्यक्रमलगायत विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।

IMG_6775 IMG_6918

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु