१०८ जनाको स्वर रहेको श्लोक ‘बुद्धम् शरणम् गच्छामी’ लाई उपप्रधानमन्त्रीले गरे लोकार्पण

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०८१, मंगलवार

काठमाडौं । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क भएको श्लोक (मन्त्रोचारण) सार्वजनिक भएको छ । ‘त्रिशरण गमनम्’ एल्बममा समेटिएको यस श्लोकमा ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी…’ समेटिएको छ । यतिधेरै कलाकारको स्वरमा रेकर्ड भएको बुद्धम् शरणम् गच्छामी… श्लोक (मन्त्रोचारण) यो नै पहिलो हो ।
गौतम बुद्धप्रति समर्पित यस श्लोक एल्बमलाई उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले लोकार्पण गरेका हुन् । राजधानीमा मंगलबार आयोजित बिमोचन समारोहमा बोल्दै उप्रधानमन्त्री यादबले हामीले सिक्दै भोग्दै र पढ्दै जानेको समाजबाद गौतम बुद्धले पहिला नै प्रतिपादन गरिसकेको बताए । गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने सन्देश विश्वभर फैलाउनको लागि तयार पारिएको यो श्लोकले विश्व शान्तिलाई मजबुत बताउने विश्वास उपप्रधानमन्त्री यादवले व्यक्त गरे ।

यो एल्बमलाई बुद्धशान्त पार्क निर्माण समितिले तयार पारेको हो । यो श्लोक एल्बमको सँगीत जुलग डँगोलले गरेका हुन् । जसमा अग्रज गायक गायिकाहरु ज्ञानु राणा, संगीता राना, जुजुकाजी रंजित, अमरराज शर्मा, रमना श्रेष्ठ, यमन श्रेष्ठ, प्रवेशमान शाक्य, लोचन भट्टराई, संगीता शाक्य, बिजयनारायण मानन्धर, दिवाकर खड्का, निशा देशार, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, सरिता भारती लगायत १०८ जना गायक गायिकाको स्वरमा ४३ मिनट लामो बुद्धम् शरणम् गच्छामी श्लोक रहेको छ ।

यो श्लोकलाई १०८ पटक नै गायर तयार गरिएको पनि संगीतकार जुगलले जानकारी गराए,‘हरेक कलाकारले एक एक पटक यो श्लोक गाउनुका साथै सामुहिक रुपमा पनि गाउनु भएको छ । यसरी १०८ जनाको स्वरमा तयार पारिएको यो मन्त्रोचारण माधुर्य बनेको छ ।’

सो कार्यक्रममा बोल्दै भिक्षु धर्ममूर्ति भन्तेले यसरी बुद्धम् शरणम् गच्छामी जस्तो पवित्र श्लोकलाई १०८ जनाको स्वरमा रेकर्ड गरेर एल्बमको रुपमा ल्याउनु ऐतिहाँसिक कार्य भएको बताए ।

बौद्धमार्गीहरुले १०८ पटक मालामा मन्त्र जप्ने भएकाले सोही आधारमा १०८ जना कलाकारहरुको स्वरमा यो श्लोक रेकर्ड गरिएको प्रस्तुतकर्ता बुद्धशान्त पार्क निर्माण समितिका अध्यक्ष शान्तबहादुर शाक्यले बताएका छन् । हाल अडियोको रुपमा सार्वजनिक गरिएको यो एल्बमको श्लोकलाई भिडियोको रुपमा चाँडैनै तयार गरेर ल्याउने पनि अध्यक्ष शान्तबहादुर शाक्यले जानकारी गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु