• २०७६ ले गुमाएका संगीत क्षेत्रका अमर स्रष्टाहरु

    म्यूजिक खबर
    प्रकाशित: २ बैशाख २०७७, मंगलवार

    काठमाडौं । नेपाली संगीत क्षेत्रले प्रत्येक वर्ष अमर स्रष्टाहरुलाई गुमाउँदै आएको छ । सिर्जनामा अब्बल रहेका स्रष्टाहरु गुमाउँदा संगीत क्षेत्रले उनीहरुको अभाव त महसुस गरिरहेकै हुन्छ । तर उनीहरुका सिर्जनाले यो क्षेत्र सदैव उनीहरुको अभावलाई पूर्ति गरिरहेको पनि हुन्छ । गत वर्षजस्तै यो वर्ष पनि संगीत क्षेत्रले होनाहार स्रष्टाहरुलाई गुमाउन पुगेको छ । २०७६ ले गायक, गायिका, संगीतकार, गीतकार र वाद्यवादकहरु गुमाएको छ । म्यूजिक खबरले तयार पारेको रिपोर्टः

    २०७६ बैशाख २ गते वरिष्ठ जनगायक प्रचण्डबहादुर बुढाथोकी मगरको निधन भएको थियो । निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो ।
    जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा परिचित जनगायक बुढाथोकीको पार्थिव शरीरलाई त्रिवेणीघाट नवलपरासीमा अन्त्येष्टि गरिएको थियो ।
    नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा रहेका छन् । कवि, लोक साहित्यकार, व्याकरणकार एवं गीतकारका रुपमा चिनिएका बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पिता हुुन् । नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ । उनका एक दर्जन बढी गीत तथा कविता प्रकाशित छन् ।
    यो देशको हालचाल कस्तो छ, छाति पिटि रोइरहने जस्तो छ, नेपाली बीर हो भने बोक्दैन भाडाको बन्दुक, मरे पनि हजुर गाउने छू, नेल पहिरे पहिरुलानि आमा, यो देशमा नलडी छोड्दिन, कहाँ गयो गैराको साइलो, यो देशमा हुँदैछ रमाइलो लगायतका राष्ट्र र जनताका भाव बोकेका गीतका सर्जक समेत थिए प्रचण्डबहादुर बुढाथोकी ।

    २०७६ बैशाख ९ गते संगीतकार मदन दीपबिमको निधन भएको थियो । सुरिलो रुख सल्लै हो, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रिया लगायतका चर्चित गीतका संगीतकार मदन दिपबिमको अमेरिकामा निधन भएको थियो । मदन दिपबिमका दर्जनौं चर्चित गीतहरु कालजयी बनेर रहेका छन् । मदन दीपबिम राम्रा गीतकार पनि थिए ।
    उनको शब्दमा रहेको ‘भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो, कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो कुन्ती मोक्तानको स्वरमा रहेको गीतले पनि राम्रो लोकप्रियता हासिल गरेको थियो । संगीतकार मदन दिपबिमको संगीतमा रहेको सुरिलो रुख सल्लै हो, उनकै छोरी ममता दीपबिमले गाएकी थिइन् । संगीतकार मदन दीपबिमको परिवारमा आर्थिक स्थितिको उतार चढाव आउन थालेको थियो । जसका कारण छोरीले आर्थिक अवस्था सुधार्नकै लागि गायन पेशा छाडेर अमेरिका लागेकी थिइन् । बुबा संगीतमा लागेर पारिवारिक अवस्था नसुध्रिएको भन्दै गायिका ममताले पेशा नै परिवर्तन गरेको संगीतकर्मीहरु बताउने गर्छन् । पछिल्लो समय संगीतकार तथा गीतकार मदनदिप पनि अमेरिकामा नै रहँदै आएका थिए ।

    २०७६ बैशाख १५ मा लोकप्रिय संगीतकार विजु बज्रको असामयिक निधन भयो । विहान ११ बजेतिर घरबाट बाइकमा बाहिर निस्कन लाग्दा अकस्मात लड्न पुगेका उनको तत्काल उपचारका लागि सिभिल हस्पिटल पु¥याइएको थियो । तर उनले यो धर्ती छाडिसकेका थिए ।
    गुल्मी जिल्लाको मुसिकोट वामी टक्सारमा २०२८ जन्मिएका संगीतकार बिजु बज्र केही समयदेखि मुटु रोगको विरामी थिए । लामो समयसम्म विरामी भएका उनको स्वास्थ्य सुधार आएको थियो । उनी नियमित झैं काममा फर्किएका थिए ।
    विजु बज्र चालिसको दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार हुन् । नेपाली गीतसंगीत प्रेमीहरुलाई एउटा संगीतकार, गीतकार, रेकर्डिष्ट बिजु बज्रले नेपाली मूलधारको गीतहरुमा धेरै संगीत दिएका छन् । उनल गीतकार उत्तम नेपाली, शशिविक्रम शाहदेखि समकालिन गीतकारहरुसँग सहकार्य गरिसकेका थिए । उनले संगीत भरेका गीतहरुमा फत्तेमान राजभण्डारी, योगेश वैद्य, कर्णदास, सुगम पोखरेल, रेश्मा सुनुवारलगायत दर्जनौं गायक गायिकाहरुले स्वर दिइसकेका छन् । उनले मै ठूली भइछु रे, विस्तारै छायो आँखामा अँध्यारोजस्ता गीतहरुमा संगीत भरेका थिए । उनले २०३९ सालमा नै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए । संंगीतकार बज्रकी श्रीमती कोपिला बज्राचार्य पनि गायिका हुन् । उनका जेठा छोरा कोविद बज्र पनि संगीतमै छन् भने अर्का छोरा विक्कु र छोरी रेविका हुन् ।

    २०७६ बैशाख २७ आवाजका दुनियाका बादशाह रेडियोकर्मी सुरज श्रेष्ठको असामयिक निधन भयो । उनको उपचारका क्रममा ऊँ हस्पिटलमा राति २ः१५ बजे निधन भएको थियो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिजबाट पीडित श्रेष्ठ ४५ वर्षका थिए ।
    धरानमा जन्मिएका श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्सबाट पत्रकारिता सुरु गरेका थिए । उनी नयाँ परिवर्तन साप्ताहिकको सम्पादक हुँदै २०५६ सालमा इमेज एफएमको स्टेशन म्यानेजरसमेत भएका थिए ।
    आवाजका बादशाह जादूमय स्वरका धनी सुरज श्रेष्ठ विगत केही वर्षदेखि अस्वस्थ भएर उपचारको क्रममा थिए । एक स्वाभिमानी म्यूजिक भिडियो निर्देशक, सम्पादक समेत रहेका राम्रा गीतकार पनि थिए । उनी श्रेष्ठको आवाजमा नेपालका टेलिभिजन, रेडियोमा बज्ने प्रोमोहरु प्रशारण अहिलेसम्म पनि भइरहेका छन् । इमेज एफएममा लोमा समय क्रियशील रहेका श्रेष्ठ रेडियो कर्ममा लाग्नेहरुका लागि प्रेरणाको स्रोत बनेर रहेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

    २०७६ जेष्ठ ३२ गते चर्चित लोक गायक मीन बहादुर शाहीको ६६ वर्षको उमेरमा गृहजिल्ला कालिकोटमा निधन भयो । ‘सूर्य बुढे डाँडैमा छायाँ बसे सेरी, वालो जोवन सम्झिन्छु म जोवन जाँदा खेरी’ उनलाई चिनाउने देउडा गीत थियो ।
    २०४२ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेका गायक शाही २०४८, २०४९, २०५१ सालमा रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगीताका उत्कृष्ट गायक घोषित भएका थिए ।
    लाउ¥या जोवन, सुर्य डाँडैमा बुडे, संग्लो पानि, आलु गोविको तरकारी रोटी खादैछु, लैजान्छु टिकापुर लगायतका गीत उनका दर्जनौं गीतहरु प्रकाशित छन् ।
    कर्णालीको लोक तथा देउडा गीतलाई जीवन्तता दिन र कला क्षेत्रको विस्तारमा स्वर्गीय शाहीको महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
    २०१० सालमा कालिकोटमा जन्मिएका शाही कलाकारितामा भने २०२५ सालदेखि सक्रिय थिए । लोकभाका संरक्षणका धरोहरसँगै ‘कलाकार बा’ का रुपमा परिचित शाहीका ४ जना छोरा र ४ छोरीको साथै एक श्रीमती छन् ।

    २०७६ भाद्र १९ मा गायक लेखबहादुर पुनको दुर्घटनामा परी निधन भयो । गायक पुन सवार रहेको मोटरसाइकललाई त्रिपुरेश्वरमा सेनाको ट्रकले ठक्कर दिँदा निधन भएको थियो । २६ वर्षीय गायक पुन सवार बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई सुन्धारातर्फ आइरहेको बा १ ग २४५६ नम्बरको नेपाली सेनाको ट्रकले ठक्कर दिँदा दुर्घटना हुन पुगेको थियो । ठक्करबाट गम्भिर घाइते भएका गायक पुनको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको हो ।
    अर्घाखाँचीको मालारानी ९ गोखुंगा सेपानीमा जन्मिएका उनी २५ वर्षको उमेरमा निधन हुन पुगेको थियो । ७ वर्षअघि देखि गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै आएका उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उपत्यका समन्वय समिति बानेश्वर–कोटेश्वर समितिको सहसचिव समेत थिए ।

    २०७६ मंसिर १ गते गीतकार वीरेन्द्र प्रतीक तुम्बापोको ५५ वर्षको उमेरमा निधन भयो । पाँचथरको फिदिम निवासी तुम्बापो कवि, अनुवादक एवं साहित्यकारका रुपमा परिचित थिए ।
    ५५ वर्षीय साहित्यकार तुम्बापोलाई कलेजोको समस्या थियो । मोफसलमा बसेर राम्रो सृजना गर्ने साहित्यकारको रुपमा परिचित तुम्बापो पछिल्लो समयमा राजनीतिमा पनि सक्रिय थिए ।

    २०७६ मंसिर २४ गते नेपाली सांगीतिक क्षेत्रका बरिष्ठ गायक रुद्रमणि गुरुङको निधन भयो । ८४ वर्षका गुरुङको सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको थियो ।
    लामो समयदेखि दार्जिलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति नै लोकप्रिय छ । अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन् ।

     

    २०७६ पुष ६ गते गीतकार सुक गुरुङको निधन भयो । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ जुन गीतले नेपथ्यलाई चिनायो त्यही गीतका सर्जक थिए सुक गुरुङ । त्यसो त अरुण थापाले गाएको एउटा चर्चित गीत छ ‘दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु’ पनि सुक गुरुङकै सिर्जना थियो । यही गीतजस्तै जीवनको उत्तराद्र्धमा आएर रोगसँग लड्दा लड्दै उनको निधन हुन पुग्यो ।
    मृगौलाको रोगले थलिएर आँखाको ज्योति समेत गुमाउन पुगेका सुक गुरुङले राम्रो उपचार समेत पाउन सकेनन् । उच्च रक्तचाप, मधुमेहसँग पनि दिनदिनै लडिरहेका थिए । अन्ततः दोष कसैलाई नदिई आइतबार उनले संसार त्यागेका थिए ।
    २०२२ सालमा चितवनमा जन्मिएका सुकको पोखराको चरक अस्पतालमा निधन भएको थियो । पोखरा २७ डाँडाकोनाकस्थित आफ्नै घरमा बस्दै आएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
    सयौं गीतका सर्जक सुक गुरुङको राजु लामाले गाएको चर्चित गीत ‘भाइटीकामा भेट्न आऊँला’ पनि उत्तिकै लोकप्रिय छ । २०३५ सालदेखि पोखरा रामबजारको भन्ज्याङ झंकार परिवारमा आवद्ध भई कला क्षेत्रमा होमिएका सुकका ‘इशारा भाग १ देखि ३सहित निवेदन, सूचना, विरानो माया गरी ११ सांगीतिक एल्वम बजारमा आएका छन् । उनका गीत, कविता र मुक्तक समेटिएको पुस्तक ‘ए मेरा अन्तरवेदना’ पनि प्रकाशित छ । आँखैमा झलझली, दोबाटोमा आँखाहरू नजुधेका हैन, लगायत दर्जनौं गीत उनले सिर्जना गरेका छन् ।

    २०७६ पुष २९ कर्णप्रिय गायक निशान भट्टराईको सडक दुर्घटनामा परी निधन भयो । ‘पिएर नशा अधरको तिम्रो छैन अझै भरिएको दिल’ जस्ता कर्णप्रिय गीतका गायक सङ्गीतकार निशान भट्टराईले चलाएको कार तीनकुने सडकमा पोलमा ठोक्किएर दुर्घटना भएको थियो । बानथाई रेस्टुरेन्टका संचालक समेत रहेका गायक भट्टराई रेष्टुरेन्टबाट राति घर फर्कने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो तर त्यही उनको निधन भयो ।
    ५३ वर्षिय गायक भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । कामनाले भरिएको उनको पहिलो गीत थियो । जुन दीर्घ सिंह बमको रचनामा रेडियो नेपालमा गाएका थिए । हेर धर्ती उनको लोकप्रिय गीत थियो भने माया गर माया गर उनको अर्को लोकप्रिय गीत हो । जुन सुकमित गुरुङसँग गायक भट्टराईले गाएका थिए ।
    धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् । गायक भट्टराईका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

    २०७६ माघ २ गते गायिका पवित्रा गुरुङको निधन भयो । काठमाडौंको प्रसुति गृहमा बच्चालाई जन्म दिएपछि उनमा रक्तचापको समस्या देखिएको थियो । अस्पतालले आइसीयूमा राखेर उपचार गरे पनि अन्नत उनको निधन हुन पुग्यो ।
    पोखरामा रहँदा बराही एफएममा संचारकर्ममा कार्यरत उनी केही समय अगाडि मात्र काठमाडौं आएका थिए । उनका श्रीमान संगीतकार तेजेन्द्र गुरुङ हुन् । उनको चार वर्षको छोरा रहेका छन् भने छोरीलाई जन्म दिएको दुई दिनमै उनले संसारबाट विदा लिएकी थिइन् । उनको गलबन्दी चैस्यो ङलोल्स्यो पछिल्लो निकै लोकप्रिय गीत हो ।

    २०७६ माघ ११ गितारवादक एवं गायक आकाश गोर्खालीको निधन भयो । पूख्र्यौली थलो झापामा गएको बेलामा ब्रेन ह्याम्रेज भएर बिर्तामोडमा उपचारार्थ रहेका आकाश गोर्खालीको निधन भएको थियो । सांस्कृतिक संस्थानमा लामो समय कार्यरत रहेका आकाश गोर्खाली पछिल्लो समय गितारवादकका रुपमा आफूलाई स्थापित गराएका थिए । उनको आफ्नै शब्द एवं संगीतमा पनि दर्जनौं गीतहरु रेकर्ड भएका छन् । युवा गायक आकाश गोर्खालीको झम झम, धराने सोल्टीनी, हेर तारा, मेरो जीवन लगायतका दर्जनौं गीतहरु रेकर्ड भएका छन् । उनको छोरी र श्रीमती रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु