नेपाली सांगीतिक क्षेत्रकै सर्वाधिक छिटो करोड भ्युज पाउने गीत बन्दै इतिहास रच्यो ‘गल्बन्दी’ ले

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । गायक तथा सर्जक प्रकाश सपुतको गीत ‘गलबन्दी’ सर्वाधिक छिटो करोड क्लबमा प्रवेश गर्ने गीत बनेको छ । यस अगाडि युट्युव भिवर्सका आधारमा गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ सबैभन्दा छिटो करोड क्लबमा प्रवेश गर्ने गीत थियो । ‘माया लुकी लुकी ३४ दिनमा करोड करोड बढी भ्युज पाएको थियो । ‘गलबन्दी’ले १६ दिनमा नै करोड क्लबमा प्रवेश गरेको छ ।
गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।
गीतसंगीत भ्यूजको आधारमा मात्र हिट हुन्छ भन्ने हुँदैन । तर, यो गीतले भ्यूज मात्र होइन, दर्शक श्रोताको माया पाएको छ । प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ८ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब २५ हजार कमेन्ट गीतमा आएको छ । गीतमा १३ हजार अनलाईक पनि आएको छ ।
युट्युवमा मात्र होइन युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत र भिडियो सम्पूर्ण पक्ष दर्शक स्रोताले निकै रुचाएका छन् । गीत अपलोड भएको दिन यता १६ दिनभइसक्दा पनि ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानिनै रहेको छ । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर र गाउँको झल्को दिने भिडियो गीतको विशेषता हो ।


यसअघि प्रकाशले ल्याएको गीत ‘बोल माया’ लाई धेरैभन्दा धेरै दर्शक स्रोताले मनपराइदिएका थिए । उक्त गीतमा विदेशमा गएको युवकको मृत्युसँगको समवेदना जोडिएको थियो । अहिले ‘गलबन्दी’ बोलको गीतलाई गायक प्रकाश सपुतले प्रिक्वेलका रुपमा निकालेका हुन् । ‘बोल माया’मा स्वर दिएकी गायिका शान्तिश्री परियारले ‘गलबन्दी’मा पनि स्वरमा साथ दिएकी छिन् । शान्तिश्री परियारको स्वरले ‘गलबन्दी’मा प्रकाश सपुतलाई म्याच गरेको छ । लोक दोहोरी ‘गलबन्दी’ आफ्नै युट्युब च्यान ‘प्रकाश सपुत’बाट रिलिज गरिएको थियो ।
अधिकांश कमेन्टहरू ‘गलबन्दी’को पक्षमा छन् । ‘गलबन्दी’का शब्द र लय स्वयं प्रकाश सपुतका हुन् । उनले मीठो लय र शब्दहरू राखेका छन् । मोडलिङमा प्रकाश सपुतलाई अञ्जली अधिकारीले साथ दिएकी छिन् । गीतको निर्देशन स्वयं प्रकाश सपुतले गरेका छन् । गीतका एरेञ्जर कृष्ण बिक ‘भाञ्जा’ हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
गीतमा गाउँको अत्यन्तै परम्परागत स–साना विषयहरूलाई जोडिएको छ । म्युजिक भिडियोमा राखिएका ती दृष्यले गीतलाई जीवन्त बनाएको छ । गायक प्रकाश सपुतले ‘गलबन्दी’पछि यसकै अर्को सिक्वेल निकाल्ने जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु