
काठमाडौं । स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यले भौतिक शरीर छाडेको पनि तीन दशक भन्दा बढी भइसक्यो । तर उहाँको सिर्जनशीलताले भने जुगौं जुगसम्म उहाँलाई अमर बनाएको छ । राष्ट्रलाई संगीतको युगमा चिनाएको छ । स–साना बालबालिकादेखि वृद्ध मानिसहरूसम्मले स्वरसम्राट नारायण गोपाललाई राम्रोसँग चिन्दछन् । उनको नाम सुन्ने बित्तिकै श्रद्धाले शीर झुक्छ, संगीतको सगरमाथा अगाडी उभिन्छ ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत राष्ट्रिय नाचघरमा सांस्कृतिक संस्थानको ५३ वार्षिकोत्सब कार्यक्रममा स्वरसम्राट नारायण गोपाल देखिए । कार्यक्रममा दिनेश काफ्ले (हाउडे दाई) र खड्ग बहादुर पुन मगर स्टेजमा देखिए । माहौल परिवर्तन भयो । सांस्कृतिक संस्थानको महाप्रबन्धक समेत भएका नारायण गोपालको सम्मान स्वरूप कलाकार काफ्लेले संस्थानभित्रको विकृति विसंगतिलाई तिखो व्यङ्ग्य प्रस्तुत गरेका थिए । संस्थानको गतिविधिलाई संस्थानकै कार्यक्रममा पूर्व महाप्रबन्धकको गेटअफमा आएर औंल्याउने शासक गर्नुले दिनेश काफ्लेको चौतर्फी चर्चा भएको छ । पछिल्लो समय नेपाली गीत संगीतमा देखिएका विकृति विसंगति, संस्थानले वर्षौंदेखि बोकिरहेको करोडौं ऋण, राजनीतिक नेतृत्वको स्वार्थपुर्ण आचारण माथि कडा प्रहार भएको कारण काफ्ले र मगरको उक्त प्रस्तुतिको व्यापक चर्चा हुनु स्वभाविक छ ।
अहिलेसम्म नारायण गोपालको क्यारिकेचर गर्ने आँट कसैले गरेका थिएनन् । उनीसँगको संगत गरेका धेरै छन् तर क्यारिकेचरका हिसाबले प्रस्तुत हुन आँट गर्ने थिएनन् । गरिहाले पनि विवादित हुने डर वा उहाँको आत्मसम्मानमा ठेस पुग्ने हो कि भन्ने चिन्ता लिएको पाइन्छ । तर यसपटक संस्थानकै वार्षिकोत्सबमा कलाकार दिनेश काफ्लेले गरेको साहसको चौतर्फि प्रसंसा भइरहेको छ ।
नारायण गोपालको जस्तो दुरुस्त चस्मा, खरानी कलरको कोट, टाउकोमा ढाकाटोपी, हातमा हर्मोनियममा देखिएका कलाकार काफ्लेको पछाडि फ्लेक्समा फर्किए स्वरसम्राट लेखेको थियो । उस्तै स्वर उस्तै गेटअपमा मानिसहरू झुक्किरहेका थिए । उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्री देवेन्द्र कुमार काफ्ले, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ टीका पुन, मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशक डा.नारायण प्रसाद रेग्मी, पर्यटन शाखा प्रमुख इन्दु घिमिरे, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, मन्त्रालयका उपसचिवहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू लगायत अतिथिज्यूहरूको उपस्थिति रहेको थियो ।