गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापालाई ‘शान्तिका लागि राजदूत’को उपाधि

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०८२, बुधबार ०५:५२

काठमाडौं । गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापालाई अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘शान्तिको लागि राजदूत’को उपाधि मिलेको छ । उनलाई बिश्वब्यापी शान्ति महासंघ अन्तर्गत युनिभर्सल पीस फेडरेशनले ‘शान्तिका लागि राजदूत’को उपाधिबाट सम्मानित गरेको हो । युनिभर्सल पीस फेडरेशनले सामाजिक रुपमा उदाहरणीय प्रभाव पार्ने व्यक्तिलाई मात्र यो उपाधि दिने गर्दछ । जसले अरुको जीवनका लागि बाँच्ने आदर्श प्रदान गर्दछ, नैतिक मूल्यमान्यता, बलियो पारिवारिक जीवन, अन्तरधार्मिक सहयोग, अन्तर्राष्ट्रिय सद्भाव कायम गर्ने व्यक्तित्वहरुलाई ‘शान्तिका लागि राजदूत’ घोषणा गर्दै आएको छ ।

‘शान्तिका लागि राजदूत’को उपाधि प्राप्त गर्ने गीतकार बसन्त वित्यासी थापा सम्पूर्ण गीतकारहरुको साझा संस्था गीतकार संघ नेपालको कार्यसमिति सदस्य, सचिव, महासचिव, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । विभिन्न सामाजिक कार्यमा क्रियाशिल सङ्घ संस्थामा आवद्ध रहेर गीतकारहरुको नैतिक , सामाजिक , आर्थिक अधिकार स्थापना तथा पहिचानको लागि गीतकार सङ्घ नेपालको कुशल नेतृत्व गर्नुभएकोमा काठमाडौ स्थित पीस एम्बेस्सी भवनमा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थितिमा बिशेष समारोह बीच उहाँलाई ‘शान्तिको लागि राजदूत’ को उपाधिबाट सम्मानित गरिएको हो ।

नेपाली साहित्यको ज्येष्ठ बिधा गीत लेखनमा २०४२र०४३ सालदेखि सक्रिय थापाको ७ वटा गीति एल्बम तथा १ गीत पुस्तक सङ्ग्रह प्रकाशित छन् भने २ वटा गीति एल्बम तथा १ गीत पुस्तक सङ्ग्रह प्रकाशोन्मुख छन् । उहाँको २०० भन्दा बढी गीत सिर्जना छन् भने १०० भन्दा बढी गीतहरु रेकर्ड भैसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु