जुनु रिजालले ल्याइन् सुनिरहुँ लाग्ने कर्णप्रिय गीत : ‘सानु बोल्नै छोडेउ’

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार २३:००

काठमाडौं । थुप्रै कालजयी गीतकी भर्सटायल गायिका जुनु रिजालले नयाँ गीत रिलिज गरेकी छिन् । रिजालले ‘सानु बोल्नै छोडेउ’ गीत रिलिज गरेकी हुन् ।

रमेश रसाइलीको रचना रहेको गीतमा अनायासै रिसाएर बोल्न छाडेको प्रेमीलाई प्रेमीकाले सम्बोधन गरिएको छ । पवन रानाभाटको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा शब्दको भाव अनुसारकै सङ्गीत छ। गायिका जुनु रिजालको कर्णप्रिय स्वरले गीतलाई प्राण भरेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ समेत पवन रानाभाटले नै गरेका हुन् ।

गीतको भिडियो पनि निकै सरल छ। कुनै तामझाम छैन भिडियोमा। सामान्य स्टुडियो भर्सनमा भिडियो निर्माण गरिएको छ। भिडियोमा गायिका जुनु स्वयं फिचर्ड छिन्।

रामकुमार केसीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

रामचन्द्र काफ्लेको युट्युब च्यानलमार्फत हिजो (बिहिबार) सार्वजनिक भएको गीतलाई हेरेका दर्शक श्रोताले जुनुको स्वरको प्रंशसा गरिएका कमेन्टहरु प्राप्त छन् ।

जुनु रिजाल आधुनिक र पप, लोक, पाश्र्व गायन जस्तो संगीतका सबै जनरामा फिट सुनिने गायिका हुन् । उनका थुप्रै गीतहरू लोकप्रिय र कालजयी बनेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु