जब लोक दोहोरीमा दुई पुस्ताले गला मिसाए : ‘फूल जस्तै पँयालै’ भयो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार २०:०९

काठमाडौं । नेपाली संगीत क्षेत्रकै प्रतिष्ठित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन – ७’ की चर्चित प्रतियोगी तथा प्रतिभाशाली गायिका रन्जिता विश्वकर्माले नयाँ गीत सार्वजनिक गरेकी छिन् । नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रका पछिल्लो समयका सबैभन्दा व्यस्त एवं प्रख्यात गायक खेम सेन्चुरीसँग सहकार्य गर्दै ‘फूल जस्तै पँयालै’ बोलको गीत ल्याएकी हुन् । गीतमा भ्वाइसकै कोच एवं चर्चित गायक खेम सेन्चुरीको संयुक्त स्वर रहेको छ भने शब्द विक्रमबाबु विश्वकर्माका हुन्। नेपाली मौलिक संगीतमा एकपछि अर्को ब्लकबस्टर गीत पस्किँदै आएका सेन्चुरीले यसपटक नवप्रतिभा रन्जितालाई सांगीतिक साथ दिएका हुन्। एचबीएन किस्मतको एरेन्ज रहेको गीतमा संगीत असिम चन्द्र विश्वकर्माले दिएका हुन्। गीतमा खेम र रन्जिताको स्वरको तालमेल र मौलिक दोहोरी निकै सुमधुर सुनिन्छ।

गायिका रन्जिताका लागि खेम सेन्चुरीसँगको यो सहकार्य करिअरकै एउटा ठूलो र महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने आंकलन गरिएको छ ।

प्रकाश सपुत र अञ्जली अधिकारीको दमदार अभिनययस सहकार्यलाई भिजुअल रूपमा अझ विशेष र ओजपूर्ण बनाउन नेपाली कलाक्षेत्रका दुई शीर्ष स्टारहरू प्रकाश सपुत र अञ्जली अधिकारीले म्युजिक भिडियोमा मुख्य भूमिका निर्वाह गरेका छन्। भिडिओमा प्रकाश र अञ्जलीसँगै एकिन्द्र सारा शंकरको समेत अभिनय देख्न सकिन्छ। भिडिओको निर्देशन तथा कोरियोग्राफीसमेत एकिन्द्र सारा शंकरले गरेका हुन्। छायांकन नवराज उप्रेतीको छ भने सम्पादन असिम चन्द्र विश्वकर्माको छ।

गीतको औपचारिक विमोचन लोकसञ्चारकर्मी नेपालको उपत्यका समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा गरिएको थियो। कार्यक्रममा खेम सेन्चुरी, रञ्जिता विश्वकर्मा, शिव हमालल, लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा समितिकी अध्यक्ष अनु अर्पणले अध्ययक्षता गरेकी थिइन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतमले प्रमुख आतिथ्यता गरेका थिए । गौतमले कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संगीतकर्मीहरूले उदयमान गायिका रन्जिताको स्वर र मेहनतको प्रशंसा गर्दै यो सहकार्यले व्यक्तिगत रुपमा मात्र नभई नेपाली लोक संगीत उद्योगलाई नै थप उर्जा दिने विश्वास व्यक्त गरे। कार्यक्रमलाई आयोजक संस्थाका सचिव सञ्जय पोखरेलले सञ्चालन गरेका थिए ।

रन्जिताको सुमधुर आवाज र स्थापित स्टारहरूको अभिनयका कारण यो गीतले सार्वजनिक भएसँगै टिकटक, युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा निकै राम्रो ‘हाइप’ बटुल्न सफल भएको छ।

भिडियोलाई गायिका रञ्जिता विश्वकर्माको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु