
काठमाडौँ । रुकुम पश्चिमको राडीबजारमा आयोजित सांगीतिक मेला सकिएसँगै चर्चित गायिका एलिना चौहान र मेला आयोजक डिल्ली परियारबीचको विवाद सार्वजनिक रूपमा चुलिएको छ। कार्यक्रमको व्यवस्थापन, पारिश्रमिक र फिर्ता हुने हवाई टिकटको विषयलाई लिएर दुवै पक्षले एकअर्का विरुद्ध गम्भी र आरोप लगाएका छन्।
गायिका चौहानले सामाजिक सञ्जाल फेसबुकमा आयोजक परियारको तस्बिर पोस्ट गर्दै ‘रुकुमको ठग’ भनी टिप्पणी गरेपछि यो वि वाद बाहिर आएको हो।
एलिनाको आरोप: ‘१० घण्टाको यात्रापछि सुर्खेतमा अलपत्र पारियो’
गायिका एलिना चौहानका अनुसार राडीबजारको कार्यक्रम सकिएपछि आफू रातभर १० घण्टाको कठिन सडक यात्रा गरेर सुर्खेत आइपुग्दा आयोजक परियार सम्पर्कविहीन भएका थिए। आयोजकले नेपालगन्जबाट काठमाडौँका लागि बुद्ध एयरको टिकट होल्ड मात्र गरिदिएको तर निश्चित गरिदिएन’, एलिनाले भनिन्, ‘सुर्खेत आइपुगेर कयौँ पटक फोन गर्दा पनि आयोजकले फोन उठाएनन्। टिकट निश्चित नहुँदा र आयोजक हराउँदा म मानसिक तनावमा परेँ।’ सोही गैरजिम्मेवारीपनका कारण काठमाडौँमा तय भएका आफ्ना ४ वटा गीत रेकर्डिङ कार्यक्रम रद्द गर्नुपरेको र व्यावसायिक क्षति ब्यहोर्नुपरेको दाबी उनको छ। आफूलाई मात्र नभई अन्य कलाकारहरूलाई पनि आयोजकले सास्ती दिएको उनको आरोप छ।
आयोजकको प्रतिवादः ‘८० हजार नगद बुझाएको प्रमाण छ, मा फी नमागे कानुनी उपचार’
अर्कोतर्फ, मेला आयोजक डिल्ली परियारले गायिका चौहानको आरोपलाई पूर्ण रूपमा खण्डन गरेका छन्। उनले कार्यक्रम सकिएलगत्तै होटल सन्धिमाको कोठा नम्बर १०२ मा गएर आफैँले एलिनालाई ८० हजार रुपैयाँ नगद बुझाएको दाबी गरेका छन्। ‘काठमाडौँ-सुर्खेत हवाई टिकट र सुर्खेतदेखि राडीबजारसम्मको गाडी भाडासहित सबै भुक्तानीका प्रमाणहरू मसँग सुरक्षित छन्,’ परियारले भने। विगत ३ वर्षदेखि आफूले एलिनालाई विभिन्न महोत्सवहरूमा सम्मानजनक पारिश्रमिक दिएर बोलाउँदै आएको स्मरण गराउँदै उनले थपे, ‘व्यक्तिगत असमझदारीलाई लिएर ‘रुकुमको ठग’ भन्दै सिङ्गो जिल्लाको अपमान गर्ने अधिकार कसैलाई छैन।’ उनले गायिका चौहानले सार्वजनिक रूपमा माफी नमागे कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन्।
विवादका कारण अहिले सामाजिक सञ्जालमा कलाकारको व्यावसायिकता र आयोजकको जिम्मेवारीलाई लिएर चौतर्फी बहस सुरु भएको छ।