एआईको दुरुपयोग रोक्न संगीत रोयल्टी समाजको एक्सनः उजुरी दिन आह्वान

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार २१:३१

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपाल (MRCSN)ले कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको दुरुपयोग गरी अनुमति बिना गीत–संगीत तोडमरोड गर्नेहरू विरुद्ध कडा कदम चाल्ने भएको छ। समाजले एक सार्वजनिक सूचना जारी गर्दै सर्जकहरूको सहमति बिना एआई मार्फत स्वर र धुन परिवर्तन गरी डिजिटल प्लेटफर्ममा गीत राख्नेहरू विरुद्ध उजुरी दिन आह्वान गरेको छ। साउन ६ गते समाजको आधिकारिक पेज मार्फत सार्वजनिक गरिएको सुचना सार्वजनिक गर्दै समाज एक्सनमा उत्रिएको हो ।

हालैका दिनमा पुराना तथा चर्चित गीतहरूलाई एआई माध्यमबाट बिगारेर युट्युब लगायतका सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति बढेको छ। यसले गर्दा मौलिक सिर्जना बजारमा आउनु अगावै अनधिकृत च्यानलहरूले सामग्री अपलोड गरिदिँदा वास्तविक सर्जकहरूले नै उल्टै ‘कपिराइट स्ट्राइक’ (प्रतिलिपि अधिकार उल्लंघन) को समस्या भोग्नुपरिरहेको समाजले जनाएको छ।

समाजले आफ्ना सिर्जना दुरुपयोग भएका सम्पूर्ण गीतकार, संगीतकार र उत्पादकहरूलाई त्यस्ता अनधिकृत एआई च्यानलहरूको लिङ्क (URL) र आवश्यक कानुनी प्रमाण सहित समाजको कार्यालय वा नेपाल प्रहरीको साइबर ब्युरोमा तुरुन्त उजुरी दर्ता गराउन अपिल गरेको छ। डिजिटल बजारमा स्रष्टाको बौद्धिक सम्पत्ति सुरक्षित गर्न र कानुनी कारबाही अगाडि बढाउन यो कदम चालिएको समाजले स्पष्ट पारेको छ।

एआई चोरी र प्रतिलिपि अधिकारको अनधिकृत प्रयोगबाट बच्नका लागि समाजले सम्पूर्ण स्रष्टाहरूलाई आफ्ना सिर्जनाहरूको क्याटलग (मेटाडाटा र डिजिटल फिंगरप्रिन्ट) दर्ता तथा अद्यावधिक गर्न अनिवार्य गरेको छ। सर्जकहरूले समाजको आधिकारिक अनलाइन पोर्टल मार्फत घरबाटै आफ्ना नयाँ तथा पुराना गीतहरूको विवरण दर्ता गराउन सक्नेछन्।

समयमै क्याटलग दर्ता गर्दा अन्तर्राष्ट्रिय प्रणाली मार्फत गीतको डिजिटल स्वामित्व सुरक्षित हुने र भविष्यमा एआई दुरुपयोग भएमा कानुनी रूपमा रोयल्टी दाबी गर्न तथा सामग्री हटाउन (Take Down) सजिलो हुने समाजको भनाइ छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु