
काठमाडौं । नेपाली पप र सुगम सङ्गीतको इतिहास पल्टाउने हो भने एउटा यस्तो स्वर्णिम कालखण्ड आउँछ, जहाँ रेडियो र टेलिभिजनमा एउटै स्वर गुञ्जिरहन्थ्यो— ‘मलाई आवाज देऊ, म तिम्रो बन्न सकूँ’ । वि.सं. २०६० को दशकमा यो गीतले नेपाली सङ्गीत बजारमा एक किसिमको तरङ्ग नै पैदा गरेको थियो। यो जादुमयी आवाजकी धनी थिइन्— आजकी स्थापित लोकप्रिय गायिका प्राश्ना शाक्य।
सुमधुर स्वर र शालीन व्यक्तित्वका कारण श्रोताको मुटुमा बस्न सफल प्राश्ना नेपाली सङ्गीत आकाशकी एक अब्बल र सदाबहार बनेकी छिन् । सस्तो लोकप्रियता र विवादभन्दा टाढा रहेर निरन्तर सङ्गीत साधनामा लागिरहने प्राश्नाको साङ्गीतिक यात्रा निकै प्रेरणादायी र रोचक छ।
सङ्गीत र संस्कृतिको शहर धरानमा जन्मिएकी प्राश्नाको बाल्यकाल खेलकुद र खेलमैदानमा बित्दै थियो। परिवारले उनलाई खेलाडी बनाउन चाहे पनि उनको मन भने लुकीछिपी रेडियोका धुन र गुनगुनाहटमै झुम्थ्यो।
केवल १३ वर्षको उमेरमा धरानको ‘छिमेकी साँझ’ नामक साङ्गीतिक कार्यक्रममा स्टेज चढेर जब उनले गीत गाइन्, तब धरानले एउटा नयाँ ताराको उदय भएको सङ्केत पायो।
बाल्यवस्थामा वरिष्ठ गायिका अरुणा लामा र तारादेवीका गीतहरू अघाउँदिन थिन् उनी । पछि दिग्गज सङ्गीतकार दिव्य खालिङसँग सङ्गीतको औपचारिक शिक्षा लिइन् जसले उनको गायकीलाई अझ तिखार्ने काम गर्यो।
सन् १९९९० मा उनको पहिलो एल्बम ‘हाई१ हेल्लो’ सार्वजनिक भयो। तर, उनलाई देशव्यापी रूपमा चिनाउने काम भने रेडियो नेपाल र नेपाल टेलिभिजनका मञ्चहरूले गरे। सन् २००० मा रेडियो नेपालको ‘अखिल नेपाल आधुनिक गीत प्रतियोगिता’ मा उत्कृष्ट स्थान हासिल गरिन् । त्यसपछि नेपाल टेलिभिजनको चर्चित कार्यक्रम ‘तिम्रो सुर मेरो गीत’ मा प्रथम भएपछि उनको चर्चा चुलियो।
सन् २००३ मा सार्वजनिक भएको उनको दोस्रो एल्बम ‘आवाज’ ले उनलाई सफलताको शिखरमा पुर्यायो। यसै एल्बमको ‘मलाई आवाज देऊ’ बोलको गीतले उनलाई प्रतिष्ठित ‘हिट्स एफएम म्युजिक अवार्ड’ मा ‘बेस्ट फिमेल पप पर्फर्मेन्स’ को उपाधि दिलायो।
त्यसपछि उनले पप मात्र होइन, आधुनिक र चलचित्रका पाश्र्व गायनमा समेत आफ्नो बलियो पकड बनाइन्। उनले इमेज अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड जस्ता प्रतिष्ठित अवार्डहरु पनि चुमिसकेकी छिन् ।
प्राश्ना शाक्यको स्वरको विशेषता के हो भने उनी जुनसुकै विधाको गीतमा पनि उत्तिकै फिट हुन्छिन्। उनले कर्तव्य, सन्तान, मेरी आमा, फेरि अर्को साइनो, बगर र सासू बुहारी लगायतका कयौँ चलचित्रमा पार्श्व गायिकाको रूपमा हिट गीतहरू दिएकी छिन्।
गायकीका अलावा उनी एक कुशल सञ्चारकर्मी पनि हुन्। उनले लामो समय रेडियो इमेज (एफएम) मा साङ्गीतिक कार्यक्रमहरू सञ्चालन गरेर स्रोताहरूको मन जितिन्।
मलाई आवाज देऊ उनको करियरकै सबैभन्दा ब्लकबस्टर गीत हो भने गाउँले जीवन, बादल वर्षा बिजुली, प्रियतम, लगायतका उनका करिअरका थुप्रै गीतहरु सदाबहार र चर्चित बनेका छन् ।
जीवनका कतिपय उतारचढाव र केही समयको अन्तरालपछि प्राश्ना शाक्य फेरि सङ्गीतको मूलधारमा सक्रिय छिन्। देश तथा विदेशका कयौँ मञ्चहरूमा आज पनि उनको प्रस्तुति देख्दा लाग्छ— प्राश्नाका लागि ‘सङ्गीत नै जीवन हो र जीवन नै सङ्गीत हो’।
चमकधमक र सस्तो प्रचारबाजीको पछि नलागी आफ्नो कलालाई मात्र बिकाउन चाहने प्राश्ना शाक्य नयाँ पुस्ताका कलाकारहरूका लागि एक सच्चा मार्गदर्शक हुन्।