
काठमाडौं । नेपाली सुगम संगीतकी चर्चित गायिका एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली र दिपिका बयम्बुको स्वरमा सजिएको नयाँ तीज गीत ‘नौरती फुली’ ले डिजिटल प्लेटफर्ममा निकै बलियो प्रभाव जमाएको छ। दुई हप्ता पूरा हुँदा यस गीतले २८ लाख भन्दा बढी भ्युज प्रात्त गरेको छ । एलिना चौहानको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई यो वर्षकै सर्वाधिक हिट गीत बन्ने आंकलन गरिएको छ ।
यो गीतमा नेपाली समाजको परम्परागत तीजको भाका र आधुनिक गायन शैलीको सुन्दर मिश्रण पाइन्छ। ‘आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला कि न होला रु’ भन्दै चेलीको भावना समेटिएको यस गीतको शब्द र संगीत निकै बलियो छ। उदय राज पौडेलको संगीत संयोजनले गीतलाई थप सुमधुर बनाएको छ।
भिडियो र डान्सिङ नम्बरका हिसाबले ‘नौरती फुली’ अहिले बजारमा नम्बर एक रोजाइ बनिरहेको छ। मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको यस भिडियोमा स्मारिका ढकाल, जुना सुन्दास, सञ्चिता बोलखे, र रीना थापा जस्ता चर्चित कलाकारहरूले आकर्षक सामूहिक नृत्य प्रस्तुत गरेका छन्।
गीतका डान्स स्टेपहरू सजिला र रमाइला भएकाले टिकटक, इन्स्टाग्राम रिल्स र फेसबुकमा यसको ‘डान्स कभर’ बनाउने लहर चलेको छ। युट्युबमा धेरै च्यानल र प्रयोगकर्ताहरूले यस गीतको ‘डान्स ट्युटोरियल’ (नृत्य सिक्ने र सिकाउने भिडियो) समेत बनाएर पोस्ट गरिरहेका छन्।
तीजका विकृतिजन्य गीतहरूको भिडियो आइरहेका बेला ‘नौरती फुली’ ले भने मौलिकता जोगाएको भन्दै संगीत समीक्षक र दर्शकहरूले प्रशंसा गरेका छन्। चार जना प्रख्यात गायिकाहरूको सहकार्यले पनि गीतलाई थप ओजिलो बनाएको स्रोताहरूको भनाइ छ। तीजको मुख्य सिजन सुरु हुँदै गर्दा सार्वजनिक यस गीतको लोकप्रियता आगामी दिनमा अझै बढ्ने अनुमान गरिएको छ।