
काठमाडौं । नेपालका ‘लौहपुरुष’ तथा सर्वोच्च नेता गणेशमान सिंहको जीवन, त्याग र ऐतिहासिक योगदानमा आधारित नाटक **‘वीर गणेशमान’**को काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन सुरु भएको छ। शनिबार साँझ विशेष समारोहबीच नाटकको प्रिमियर शो आयोजना गरिएको हो।
प्रिमियर शोमा गणेशमान सिंहका छोरा तथा नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको विशेष उपस्थिति थियो। नाटक अवलोकनपछि बोल्दै सिंहले नेपालमा प्रजातन्त्र कसरी स्थापित भयो र त्यसका लागि गणेशमान सिंहले पुर्याएको योगदानबारे बुझ्न आजको युवा पुस्ताले ‘वीर गणेशमान’ हेर्नुपर्ने बताए।
राजनीतिक परिवर्तन सहजै प्राप्त भएको भन्ने बुझाइ युवा पुस्तामा हुन नहुने उल्लेख गर्दै उनले प्रजातन्त्र स्थापनाका लागि अग्रज पुस्ताले गरेको संघर्ष, त्याग र बलिदानको वास्तविक इतिहास बुझ्न नाटक महत्वपूर्ण रहेको बताए। उनले नयाँ पुस्तालाई नेपालको लोकतान्त्रिक इतिहासको मूल्य र योगदान बुझ्न नाटक हेर्न आग्रह गरे।
प्रिमियर शोमा कलाकर्मी, राजनीतिक विश्लेषक, साहित्यकार, पत्रकारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
गणेशमान सिंह फाउण्डेसनको आयोजना तथा सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकले १०३ वर्ष लामो निरंकुश जहानियाँ राणा शासनविरुद्ध नेपाली जनतालाई अधिकार दिलाउन गणेशमान सिंहले गरेको संघर्ष, साहस र त्यागलाई मञ्चमा जीवन्त रूपमा प्रस्तुत गरेको छ।
राणा शासकबाट सर्वस्वहरणसहित जन्मकैदको सजाय पाएपछि गणेशमान सिंह भद्रगोल जेलको पर्खाल नाघेर भाग्न सफल भएको साहसिक घटनालाई नाटकमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। त्यस्तै, २०४६ सालको जनआन्दोलन सफल भएपछि आफूलाई प्रस्ताव गरिएको प्रधानमन्त्री पदसमेत त्याग गर्दै उनले देखाएको उच्च राजनीतिक निष्ठा र त्यागलाई पनि नाटकको महत्वपूर्ण विषय बनाइएको छ।
वरिष्ठ रङ्गकर्मी अशेष मल्लको परिकल्पना, नाट्यरूपान्तरण तथा निर्देशन रहेको नाटकमा गणेशमान सिंहको भूमिकामा अभिनेता अभयराज बरालले अभिनय गरेका छन्। निर्देशक मल्लका अनुसार आफ्नो पाँच दशक लामो नाट्य यात्रामा बिम्ब र प्रतीकको शैलीमा बढी काम गर्दै आए पनि यसपटक पहिलोपटक यथार्थपरक प्रस्तुतिको प्रयोग गरिएको हो।
करिब दुई घण्टा लामो नाटकले गणेशमान सिंहको जीवनीलाई मात्र प्रस्तुत नगरी नेपाली इतिहासको महत्वपूर्ण राजनीतिक संघर्ष तथा एक निष्ठावान् योद्धाले ‘लौहपुरुष’को पहिचान बनाउने क्रममा भोगेका मानसिक र शारीरिक संघर्षलाई समेत कलात्मक रूपमा प्रस्तुत गरेको छ। नाटकको स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतीले गरेकी छन्।
नेपाली जनताको अधिकार र स्वाभिमान स्थापनाका लागि गरिएको संघर्ष र बलिदानको जीवन्त दस्तावेजका रूपमा प्रस्तुत गरिएको ‘वीर गणेशमान’ आगामी २०८३ असोज १४ गतेसम्म मञ्चन हुनेछ।
सर्वनाम थिएटरमा बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे नाटक मञ्चन हुनेछ। दर्शकको सुविधालाई ध्यानमा राख्दै शनिबार दिउँसो १ः०० बजे अतिरिक्त शो समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।