
काठमाडौं । विश्व पर्यटन दिवस २०२६ को अवसर पारेर उद्योग, पर्यटन श्रम तथा यातायात मन्त्रालय प्रदेश पर्यटन कार्यालय काठमाडौंले एकदिने चित्रकला तथा फोटो प्रदर्शनी, अन्तक्र्रिया तथा साइकल यात्राको आयोजना गरेको छ ।
आइतबार धुम्बराहीस्थित स्मार्ट दरबार होटलमा गरिएको प्रदर्शनी तथा अन्तक्र्रियात्मक कार्यक्रमको उद्घाटन गर्दै वागमती प्रदेशका उद्योग, पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले पर्यटनको आधार कला र संस्कृति रहेको बताए । उनले पर्यटन व्यवसायी र संस्कृतिकर्मीको समन्वय हुन जरुरी रहेको बताउँदै स्थानीय कला र संस्कृतिको जर्गेनामा राज्यसँगै सबै पक्षले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘काठमाडौं उपत्यकाको पर्यटनको प्रवर्धन र विकास गर्न स्थानीय कला र संस्कृतिलाई सँगसँगै लिएर जानु पर्दछ । यसो गर्न सकियो भने त्यो दिगो र पर्यटनमुखी हुन्छ ।’ चित्रकला तथा फोटो प्रदर्शनीमा १५ कलाकारका २० भन्दा बढी कलाकृति राखिएको थियो ।
एक्सपोलर नेपाल नेटवर्क काठमाडौंको सहकार्यमा गरिएको प्रदर्शनीमा कलाकार देवेन्द्र थुम्केली, एससी सुमन, केशव राज खनाल, प्रदिप अधिकारी, प्रकाश मिजार, सञ्जय प्रधान, रामनारायण महतो, बिके नरबहादुर, आवरण पौडेल, शोभा ढकाल, सिकेन्दर चौधरी (सिके), देवांशी काफ्ले, नारायण ढुङ्गाना लगायतको सहभागिता रहेको थियो । कलाकारले नेपाल तथा वागमती प्रदेशका सभ्यता, सम्पदा, संस्कृति, प्रकृति, जनजीवन तथा पर्यावरणका विषयमा कलाकृति बनाएका थिए ।
उद्योग, पर्यटन श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले कला र संस्कृतिको प्रवर्धन र विकासमा मन्त्रालय लागिरहेको बताए । उनले पर्यटन कला र संस्कृतिसँग जोडिएको बताउँदै नेपालको विविधतालाई पर्यटनमार्फत अगाडि बढाउने गरी काम गरेको सुनाए । सो कार्यक्रममा उद्योग, पर्यटन श्रम तथा यातायात मन्त्रालयका सचिव जीवलाल भुसाल र अर्का अनिता निरौला, संस्कृतिविद् डा.सुदर्शनराज तिवारी, संस्कृतिविद् डा. अर्जुनमणि दिक्षित, संस्कृतिविद् सुर्यलाल प्रजापति, नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमला, नेपाल एसोसिएसन अफ ¥याफटिङका पूर्वअध्यक्ष शिव अधिकारी, होटल संघ वागमती प्रदेशका अध्यक्ष रामसुन्दर बके, जलवायुविज्ञ ङमिन्द्र दाहालले मन्तव्य व्यक्त गरेका थिए ।
उद्योग, पर्यटन श्रम तथा यातायात मन्त्रालयअन्तर्गत प्रदेश पर्यटन कार्यालय काठमाडौंका कार्यालय प्रमुख पवन कुमार पोखरेलले पर्यटनको दिगो विकासका लागि काम भइरहेको बताउँदै प्रकृति, संस्कृति तथा कलालाई सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले विश्व पर्यटन दिवसको अवसर पारेर गरिएको कार्यक्रमले कला र संस्कृतिको प्रवर्धनमा टेवा पुग्ने विश्वास आफूहरुले लिएको बताए । कार्यक्रमको सहजीकरण प्रदेश पर्यटन कार्यालय काठमाडौंका वरिष्ठ शाखा अधिकृत अम्बिक घिमिरेले गरेका थिए ।
प्रदर्शनीमा सहभागी कलाकार प्रकाश मिजारले विश्व पर्यटन दिवस २०२६ को अवसरमा गरिएको प्रदर्शनीले कला र पर्यटनबिचको सम्बन्धलाई उजागर गरेको तथा महत्वपूर्ण बिषय समावेश हुनु सरहानीय भएको बताए ।
उनले भने, ‘अहिलेको बिषम परिस्थितिले भएका सीमित केही उद्योग पनि नराम्रोसित प्रभावित भएको तथा पर्यटन उद्योगको अवस्था झन् गम्भीर अवस्थामा छ । पर्यटन दिवसको अवसरमा थोरै भए पनि सकारात्मक पहल प्रदेश सरकारले लिनु राम्रो पक्ष हो ।’
प्रदर्शनीमा सहकाभी कलाकार तथा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले समाजमा पर्यटनप्रति जागरुकता बढाउन कला प्रदर्शनी निकै सफल रहेको जिकिर गरे । उनले कला र संस्कृतिमार्फत नेपालको मौलिक पहिचानलाई विश्वमा चिनाउन सरकारले कलाका गतिविधि बढाउनुपर्नेमा जोड दिए ।
आइतबार बिहान पाटन दरबारक्षेत्रदेखि धुम्बाराहीसम्म साइकल यात्रा गरिएको थियो । वल्र्ड साइकलिस्ट क्लब नेपालको सहकार्यमा गरिएको साइकल यात्रामा डेढ सय बढीको सहभागिता रहेको थियो ।