
काठमाडौं । लोकप्रिय अभिनेत्री सरिता लामिछानेले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै अमेरिकामा भव्य देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन्। उनीद्वारा सञ्चालित एभरेस्ट कला केन्द्र, युएसएको आयोजनामा अमेरिकाको ओहायो राज्यस्थित रेनल्सबर्गको वेलकम इभेन्ट सेन्टरमा दीपावली, देउसी–भैलो तथा छठ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी–भैलो प्रस्तुत गरेका थिए। नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो। नेपाली समुदायका अभिभावक, बालबालिका तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा चर्चित गायक तथा कलाकार बाबु बोगटीले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रम एनआरएनए एनसीसी अमेरिकाअन्तर्गत ओहायो च्याप्टरका अध्यक्ष विजय बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रमा करिब २५ वर्ष बिताएकी अभिनेत्री लामिछाने पछिल्लो समय अमेरिकामा नेपाली कला, भाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा सक्रिय छिन्। नेपालबाट अमेरिका पुगेपछि पनि कलाकारितासँगको सम्बन्धलाई निरन्तरता दिने र नेपाली समुदायका बालबालिकालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले उनले एभरेस्ट कला केन्द्र स्थापना गरेकी हुन्।
लामिछानेले सन् २०२५ जुनमा अमेरिकाको ओहायो राज्यस्थित रेनल्सबर्गमा स्थापना गरेको एभरेस्ट कला केन्द्र ‘नेपाली कला र संस्कृतिको उत्थान, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको छ। हाल केन्द्रमा सयभन्दा बढी नेपाली समुदायका बालबालिका नृत्य तथा सांस्कृतिक प्रशिक्षणमा सहभागी छन्। विशेष कुरा, केन्द्रमा प्रशिक्षण लिइरहेका सबै विद्यार्थी बालिका छन्। नेपाली मौलिक नृत्यप्रति उनीहरूको बढ्दो आकर्षण केन्द्रको विशेष पहिचान बनेको छ।
विदेशमा बसाइँ सर्दैमा कलाकारिताप्रतिको लगाव र सिर्जनात्मक सपना समाप्त नहुने लामिछानेको अनुभव छ। नयाँ देश र परिवेशमा पुगेपछि पनि आफूभित्रको कलाकारलाई जीवित राख्ने, नेपाली समुदायका बालबालिकालाई मौलिक कला र संस्कृतिसँग परिचित गराउने तथा आफ्नो सिर्जनशीलतालाई निरन्तरता दिने चाहनाले कला केन्द्र स्थापनाको प्रेरणा दिएको उनी बताउँछिन्। उनका लागि एभरेस्ट कला केन्द्र नृत्य सिकाउने संस्था मात्र नभई कलाकारिताप्रतिको लगाव र सांस्कृतिक जिम्मेवारीलाई निरन्तरता दिने माध्यमसमेत बनेको छ।
नेपालमा चलचित्र तथा टेलिभिजन अभिनयमार्फत छुट्टै पहिचान बनाउन सफल लामिछानेले कलाकारिताका क्रममा आर्जन गरेको अनुभव अहिले बालबालिकाको प्रशिक्षणमा उपयोग गरिरहेकी छन्। नेपाली गीत–सङ्गीत, मौलिक नृत्य र विभिन्न सांस्कृतिक अवसरमा हुने प्रस्तुतिमार्फत नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र समुदायको पहिचानसँग जोड्ने उनको प्रयास छ।
कला केन्द्रमा नृत्य प्रशिक्षणसँगै अनुशासन, समयपालन, जिम्मेवारी, आपसी सम्मान र मञ्चमा प्रस्तुत हुने आत्मविश्वासलाई पनि उत्तिकै महत्त्व दिइन्छ। केन्द्रका आफ्नै नियम रहेको र विद्यार्थीहरूले उत्साहपूर्वक पालना गर्दै सिकिरहेको लामिछाने बताउँछिन्। दर्शकसामु कसरी प्रवेश गर्ने, आफ्नो प्रस्तुति कसरी आत्मविश्वासका साथ दिने र समूहमा मिलेर कसरी काम गर्ने भन्नेजस्ता व्यावहारिक सीपलाई पनि प्रशिक्षणको अभिन्न हिस्सा बनाइएको छ।
उनको उद्देश्य नृत्य जान्ने विद्यार्थी तयार गर्नुमा मात्र सीमित छैन। एभरेस्ट कला केन्द्रबाट प्रशिक्षण लिएका बालबालिकाले राम्रो संस्कार, अनुशासन, आत्मविश्वास र नेपाली सांस्कृतिक पहिचानप्रति गर्व गर्ने वातावरण निर्माण गर्नु उनको मुख्य ध्येय हो। बालबालिकाको कलात्मक सीपसँगै व्यवहार र व्यक्तित्वमा समेत सकारात्मक परिवर्तन आएको अभिभावकले महसुस गर्न सकून् भन्ने उनको अपेक्षा छ।
यसैबीच, लामिछानेले निकट भविष्यमै केन्द्रमा नेपाली भाषाको कक्षा सञ्चालन गर्ने योजना बनाएकी छन्। विदेशमा हुर्किरहेका नेपाली समुदायका बालबालिकालाई रमाइलो तरिकाले नेपाली भाषा सिकाउने उद्देश्यले ‘फन एन्ड लर्न’ अर्थात् रमाउँदै सिक्ने पद्धति अपनाउने उनको सोच छ। भाषा बुझ्ने र बोल्ने क्षमता विकास भएपछि अभिनय, संवाद, अभिव्यक्ति तथा मञ्च प्रस्तुतिसम्बन्धी प्रशिक्षणसमेत विस्तार गर्ने योजना उनले बनाएकी छन्।
आफूले नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रमा हासिल गरेको अभिनय अनुभव बालबालिकासँग बाँड्ने चाहना पनि लामिछानेको छ। यसबाट विद्यार्थीहरूको बोल्ने क्षमता, प्रस्तुति कौशल र आत्मविश्वास अभिवृद्धि हुने उनको विश्वास छ। यद्यपि नेपाली भाषा तथा अभिनयका कक्षा हाल प्रस्तावित योजनाकै चरणमा छन्।
छोटो समयमै सयभन्दा बढी बालिकालाई सांस्कृतिक प्रशिक्षणमा जोड्न सफल एभरेस्ट कला केन्द्रले अमेरिकामा हुर्किरहेको नेपाली नयाँ पुस्तामा मौलिक कला र संस्कृतिप्रतिको रुचि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ। तिहार तथा छठजस्ता पर्वलाई सामूहिक रूपमा मनाउने, बालबालिकालाई मञ्चमा प्रस्तुत हुने अवसर दिने र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गतिविधिले नेपाली समुदायबीच आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाएको छ।
अभिनेत्री सरिता लामिछानेका लागि एभरेस्ट कला केन्द्रको यात्रा कलाकारिताको निरन्तरता मात्र होइन, विदेशमा हुर्कंदै गरेको नयाँ पुस्तासम्म नेपाली भाषा, संस्कार, कला र सांस्कृतिक पहिचान पुर्याउने अभियान पनि हो। उनको परिकल्पनामा यो केन्द्र भविष्यमा नृत्य, नेपाली भाषा, अभिनय र व्यक्तित्व विकासलाई एकीकृत गर्ने सिर्जनात्मक सिकाइस्थलका रूपमा स्थापित हुनेछ।