
काठमाडौं । नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न क्षेत्रका स्रष्टा तथा विशिष्ट व्यक्तित्वहरू सम्मानित भएका छन् ।
मिलाप मासिकको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा बडादशैँ, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदान–प्रदानसँगै ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ सहित विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
कला क्षेत्रका विशिष्ट व्यक्तित्व त्रि–देवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिएको थियो । लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह र स्वर माधुरी अञ्जना गुरुङले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको उक्त पुरस्कार दाहाललाई अर्पण गरिएको हो ।
समारोहमा मिलाप मासिकको आवरणमा समेटिएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा, देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कुँवर, मनोज परियार र सन्दीप भुजेल रहनुभएको थियो ।
त्यसैगरी कला, साहित्य, पत्रकारिता तथा सामाजिक सेवामा योगदान पुर्याउने डा. मोहनलाल घिसिङ, सीतारम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू, राधाकुमारी दाहाल, योगराज पाण्डे ‘रञ्जन’, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको थियो ।
प्रमुख अतिथि वसुन्धरा भुसालले नेपाली कला क्षेत्रको विकास र संरक्षणमा स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको योगदानको सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विभिन्न विधाका प्रतिभालाई एकै ठाउँमा जोड्दै आपसी सद्भाव र सहकार्यलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पुरस्कृत व्यक्तित्व दाहालले पुरस्कार प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी तथा पुरस्कारका सल्लाहकार एवं कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरूले मिलाप मासिकले नेपाली कला, साहित्य र संगीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टाको सम्मानमा गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने निर्देशक माधवराज खरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बालकलाकार काब्य अधिकारीले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथिलगायत विशिष्ट व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै सभापति एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्रष्टा तथा साधकहरूको योगदानको सम्मान नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको महत्त्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले १७ वर्षदेखि निरन्तर प्रकाशित मिलापले विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्दै एउटै मञ्चमा जोड्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।